कीवर्डहरू -

आधुनिक सिलाई मेसिनका आविष्कारक सिङ्गर, जसले नवप्रवर्तनमार्फत लाखौंको जीवनमा परिवर्तन ल्याए

आधुनिक सिलाई मेसिनका आविष्कारक सिङ्गर, जसले नवप्रवर्तनमार्फत लाखौंको जीवनमा परिवर्तन ल्याए

आइज्याक मेरिट सिङ्गरको एउटा आविष्कारले आज धेरैको जीवनलाई रूपान्तरण गरिदिएको छ । धेरैलाई आत्मनिर्भर बनाएको छ । धेरैको जीविकोपार्जन माध्यम बनेको छ । त्यो आविकार हो, आधुनिक सिलाइ मेसिन । 

सन् १८११ मा अमेरिकामा आइज्याक मेरिट सिङ्गरले १२ वर्षको उमेरमा घर छोडेका थिए । १० वर्षको उमेरमा आमा गुमाएपछि बाबाले दोस्रो विवाह गरे । त्यसपछि सिंगरले १२ वर्षको उमेरमा घर छाडेका थिए । 

उनको रूची अभिनयमा थियो । तर भोको पेट पाल्न अभिनयले पुग्दैन्थ्यो । काम गर्नु पर्थ्यो । त्यसका लागि सानो उमेरमै मेकानिक शपमा हेल्परको काम गर्न थाले । तर अभियनमा उनको रूची ज्यादै थियो । आफ्नो रूचीलाई पूरा गर्न कामको साथसाथै थिएटर यात्रालाई पनि सँगै लिएर अगाडि बढे । १० वर्षसम्म थिएटर गर्दै आएका उनी थिएटर समूह बन्द भएपछि पूर्णकालिक मेकानिक बन्ने निर्णय लिएका थिए । 

मेकानिकको रूपमा काम गर्दै गर्दा सिंगर मानिसहरूलाई सहयोग गर्ने उपकरण बनाउने प्रयासका लागि परचित भइसकेका थिए । तर जब आधुनिक सिलाई मेसिन बनाए, तब उनको नाम विश्वभर गुञ्जियो । एडवर्ड क्लार्कसँग मिलेर उनले यसलाई औपचारिक रूपमा सार्वजनिक गरेका थिए । आज संसारले उनको सिलाई मेसिनलाई सिङ्गर ब्रान्डका रूपमा चिन्छ । 

कसरी बन्यो आधुनिक सिलाई मेसिन ?

त्यसो त आइज्याक मेरिट सिङ्गरको सिलाइ मेसिन पहिलो आविष्कार भने होइन । त्यस अघि पनि उनले विभिन्न किसिमका आविष्कारहरू गरिसकेका थिए । 

सन् १८३९ मा सिङ्गरले पहिलो पटक चट्टानमा प्वाल पार्ने मेसिन बनाएका थिए भने त्यसपछि काठ र धातु काट्ने मेसिन बनाएका थिए । यी मेसिनहरूलाई पनि धेरैले मन पराएका थिए । 

कुरा, सन् १८५१ को हो । सिंगरलाई मर्मतका लागि एउटा सिलाई मेसिन आयो । उनले त्यो मेसिन मर्मत गरे । तर मर्मतका लागि आएको सिलाइ मेसिनमा केही कमी कमजोरी थिए । त्यसलाई समाधान गर्दै त्यो भन्दा राम्रो मेसिन बनाउने अठोट लिए । 

अठोट लिएको मात्र ११ दिनभित्र उनले सिङ्गर नामक आधुनिक सिलाई मेसिन बनाए । मेसिन बनाएपछि कम्पनी स्थापना गरे, जुन अमेरिका पहिलो मल्टिनेशनल कम्पनीको रूपमा चिनिन्छ ।  

सिंगरको पहिलो कारखाना न्यूयोर्कमा स्थापना गरिएको थियो । हातले चलाउने यो मेसिन त्यो समय १० डलरमा पाइन्थ्यो । केही वर्षभित्रै यो मेसिन संसारभरि छायो । सिङ्गरलाई पेटेन्ट पनि प्राप्त भयो । त्यसपछि हालसम्म कम्पनीले आफ्ना मेसिनहरूमा सुधार गरिरहेको छ । हातले, खुट्टाले चलाउने मेसिन हुँदै अहिले बिजुलीले चल्ने र धेरै सुविधाहरू भएको मेसिन बनेका छन् ।

आज महिलाहरूको सशक्तीकरणको बलियो माध्यमको रूपमा सिंगरको सिलाइ मेसिनले महत्त्वपूर्ण भूमिका खेलेको छ । आज बजारमा धेरै ब्रान्डका सिलाई मेसिनहरू उपलब्ध भएपनि आधुनिकताको रुप दिने श्रेय सिङ्गरलाई नै जान्छ ।  

संसारको पहिलो सिलाई मेसिन 

संसारको सिलाई मेसिनको पहिलो आविष्कारकका रूपमा ए वाइसेन्थाललाई चिनिन्छ । सन् १७५५ मा उनले पहिलो पटक सिलाई मेसिन बनाएका थिए । त्यसपछि सन् १७९० मा थोमस सेन्टले यस मेसिनलाई सुधार गरेका थिए । पछि, एलायस होवेले सिलाई मेसिनबाट लक स्टिचको पेटेन्ट सन् १८४६ मा लिएका थिए  । तर यो मेसिन अमेरिका चलेन । त्यसपछि उनका भाइले बेलायतमा गएर यसलाई २५० पाउण्डमा बेचेका थिए ।