काठमाडौं । नबिल बैंक लिमिटेडले डिजिटल बैंकिङलाई थप सहज र आधुनिक बनाउने उद्देश्यसहित ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । अब ग्राहकले बैंकको एनबैंक एपमार्फतै भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन र प्राप्त गर्न सक्नेछन् ।
बैंकले बिहीबारदेखि सञ्चालनमा ल्याएको यो सेवामार्फत ग्राहकले परम्परागत क्रेडिट कार्ड लिन आवश्यक पर्ने कागजी प्रक्रिया र झन्झटबिना नै डिजिटल माध्यमबाट कर्जा सुविधा उपयोग गर्न सक्नेछन् ।
भर्चुअल क्रेडिट कार्डका लागि योग्य ग्राहकले एनबैंक एपको होमपेजमा रहेको ‘अप्लाइ नाउ’ विकल्पमार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले आफ्नै तथ्यांकमा आधारित विश्लेषण प्रणालीमार्फत योग्य ग्राहक पहिचान गरी पूर्वस्वीकृति प्रदान गरिसकेको छ । त्यसैले योग्य ग्राहकले एपमा स्वतः ‘अप्लाइ नाउ’ विकल्प देख्नेछन् ।
फोनपे क्यूआरबाटै भुक्तानी
नबिलको भर्चुअल क्रेडिट कार्डमार्फत फोनपे मर्चेन्ट क्यूआर स्वीकार गर्ने विभिन्न व्यापारिक प्रतिष्ठानमा क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सकिनेछ । यससँगै ग्राहकले मोबाइल बैंकिङ एपबाटै कार्ड प्राप्त गरी दैनिक डिजिटल कारोबार गर्न सक्नेछन् ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले भर्चुअल क्रेडिट कार्डको सुरुवातले बैंकको डिजिटल रूपान्तरणलाई थप गति दिने विश्वास व्यक्त गरेका छन् ।
‘ग्राहकको सहजता नै हाम्रो प्राथमिकता हो । डिजिटल युगको आवश्यकता अनुरूप ग्राहकलाई सकेसम्म बैंक शाखामै पुग्न नपरी बैंकिङ सेवा उपलब्ध गराउने दिशामा हामी निरन्तर काम गरिरहेका छौं,’ उनले भने, ‘नबिल भर्चुअल क्रेडिट कार्ड सोही प्रयासको एक महत्वपूर्ण हिस्सा हो ।’
बैंकका अनुसार यो सेवा ग्राहकलाई छिटो, सुरक्षित र झन्झटरहित रूपमा डिजिटल कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले ल्याइएको हो । यसले ग्राहकको बदलिँदो आवश्यकता र डिजिटल भुक्तानीप्रतिको बढ्दो माग सम्बोधन गर्ने अपेक्षा बैंकले गरेको छ ।
नबिल बैंकले देशभर २६२ शाखा र ३१६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकका अनुसार २८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको नबिलले डिजिटल बैंकिङ सेवा विस्तारलाई समेत प्राथमिकतामा राखेको छ ।
आईसीटी समाचार