काठमाडौं । राष्ट्रिय युवा परिषद्ले प्रदेशस्तरीय स्टार्टअप व्यवसाय प्रतियोगिताका लागि आवेदन दिन थप समय दिएको छ । परिषद्ले सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन हुन लागेको प्रतियोगितामा सहभागी हुन इच्छुक युवालाई आवेदन दिन समयावधि थप गरिएको जनाएको हो ।
परिषद्का अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका युवाहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । आवेदन दिन इच्छुक युवाले परिषद्को आधिकारिक वेबसाइटमार्फत अनलाइन फारम भर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि तोकिएको समयसीमा अनुसार आवेदन दिन नसकेकाहरूको मागलाई ध्यानमा राख्दै आवेदन अवधि थप गरिएको परिषद्ले जनाएको छ । अब इच्छुक युवाले आगामी जेठ ४ गते राति १२ बजेसम्म आवेदन दिन सक्नेछन् ।
१६ वर्ष पूरा भई ४० वर्ष ननाघेका युवा व्यवसायीहरूले परिषद्को अनलाइन पोर्टलमार्फत आवेदन दिन सक्नेछन् । यसअघि नै आवेदन दिइसकेका युवा उद्यमीहरूको हकमा भने ती आवेदनहरूलाई यथावत् नै राखिएको छ ।
प्रदर्शनी सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णालीको वीरेन्द्रनगर, लुम्बिनीको बुटवल, बागमतीको हेटौंडा, मधेश प्रदेशको वीरगन्ज र कोशी प्रदेशको विराटनगरमा आयोजना हुनेछ ।
प्रत्येक प्रदेशबाट १५/१५ ओटा सूचना प्रविधि तथा स्टार्टअप व्यवसायहरू छनोट गरी प्रदर्शनीमा सहभागी गराइने परिषद्को योजना छ । छनोट हुने व्यवसायीहरूलाई स्टल व्यवस्थापनका लागि प्रति स्टल १० हजार रुपैयाँ प्रोत्साहन रकम समेत उपलब्ध गराइने जनाइएको छ ।
प्रदर्शनीमा उत्कृष्ट हुने व्यवसायहरूलाई नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ । जसअनुसार प्रथम हुनेलाई ४० हजार, द्वितीयलाई ३० हजार र तृतीय हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै, दुई स्टार्टअपलाई १०/१० हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार दिइने परिषद्ले जनाएको छ ।
युवा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रमले नवीन सोच भएका युवालाई व्यवसायिक अवधारणा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने परिषद्को विश्वास छ । परिषद्ले आवेदन प्रक्रियामा कुनै समस्या आए सम्बन्धित सम्पर्क व्यक्तिसँग समन्वय गर्न समेत अनुरोध गरेको छ ।

आईसीटी समाचार