कीवर्डहरू -

नेविअप्रको २३ औँ वार्षिकोत्सव : शिक्षा सुधारदेखि एआईसम्म व्यापक छलफल

नेविअप्रको २३ औँ वार्षिकोत्सव : शिक्षा सुधारदेखि एआईसम्म व्यापक छलफल

काठमाडौं । नेपाल विकास अनुसन्धान प्रतिष्ठान (नेविअप्र) ले आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजना गरेको कार्यक्रमले एआई, डिजिटल रूपान्तरण, शिक्षा सुधार र मानव पूँजी विकासका विषयमा गहन बहस र नीतिगत सन्देशहरू प्रस्तुत गरेको छ ।

वि.सं. २०६० मा स्थापना भएको नेविअप्र हाल देशको अग्रणी सोच केन्द्र (थिंक ट्यांक) का रूपमा स्थापित संस्था हो, जसले प्रमाणमा आधारित नीति निर्माणमा सहयोग गर्ने उद्देश्यका साथ निरन्तर अध्ययन तथा अनुसन्धान गर्दै आएको छ। संस्थाले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा अन्तर्राष्ट्रियस्तरका प्रवचन, बहस र छलफल कार्यक्रम आयोजना गर्दै आएको छ ।

यस वर्षको २३ औँ वार्षिकोत्सव २०८३ जेठ ५ गते ललितपुरस्थित होटल द प्लाजामा सम्पन्न भएको थियो । कार्यक्रम तीन सत्रमा सञ्चालन गरिएको थियो- उद्घाटन, विशेष प्रवचन र दुईवटा प्यानल छलफल ।

उद्घाटन सत्र: एआई युगमा सहकार्य र लगानीको आवश्यकता
कार्यक्रमको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले पानसमा बत्ती बालेर गरेका थिए । उनले एआई र डिजिटल रूपान्तरणको युगमा समावेशी तथा दिगो आर्थिक विकासका लागि मानव पूँजी, उत्पादकत्व, नवप्रवर्तन र संस्थागत सुदृढीकरणमा जोड दिए ।

युवालाई भविष्यका परिवर्तनका संवाहकका रूपमा चित्रण गर्दै उनले शिक्षा सुधार, प्रविधिमैत्री रूपान्तरण र बहुपक्षीय सहकार्य आवश्यक रहेको बताए । साथै, आयोगले यस्ता छलफलबाट आएका निष्कर्षलाई नीतिगत सुझावका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेविअप्रकी कार्यकारी निर्देशक डा. शिखा थापा मगरले स्वागत मन्तव्य दिँदै संस्थाले समावेशी नीति निर्माणका लागि प्रमाणमा आधारित अनुसन्धान गर्दै आएको र युवाको सम्भावनालाई डिजिटल युगअनुकूल विकासमा रूपान्तरण गर्न प्रयासरत रहेको बताइन् ।

विशिष्ट अतिथि तथा एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (AIT) का उपाध्यक्ष प्रा. डा. बिन्दुनाथ लोहानीले नेपालको उच्च शिक्षा प्रणालीलाई समयसापेक्ष, सीपमूलक, अनुसन्धानमुखी र स्वायत्त बनाउनुपर्नेमा जोड दिए । “सीपविनाको डिग्री कमजोर हुन्छ, तर मूल्यविनाको सीप जोखिमपूर्ण हुन्छ,” उनले भने ।

पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले जलविद्युत्, पर्यटन र भूराजनीतिक अवस्थाजस्ता नेपालको तुलनात्मक लाभलाई रणनीतिक रूपमा उपयोग गर्नुपर्ने उल्लेख गर्दै एआईका अवसरसँगै आय असमानता बढ्न सक्ने जोखिमप्रति सचेत रहन आग्रह गरे ।

कार्यक्रमका अध्यक्ष डा. जयकुमार गुरुङले समापन मन्तव्यमा शिक्षा सुधार, ज्ञान आदानप्रदान र क्षेत्रीय सहकार्य नेपालको विकासका लागि महत्वपूर्ण रहेको उल्लेख गरे ।

विशेष प्रवचन: शिक्षा प्रणालीमा आमूल परिवर्तनको खाँचो
प्राविधिक सत्रअन्तर्गत दक्षिण एशियाली विश्वविद्यालयका अध्यक्ष प्रा. डा. के. के. अग्रवालले “डिजिटल युगमा शिक्षा दर्शन र सिकाइ विधिको बदलिँदो परिदृश्य” विषयमा विशेष प्रवचन प्रस्तुत गरे ।

उनले वर्तमान शिक्षा प्रणाली अझै परीक्षा केन्द्रित र घोकन्ते रहेको उल्लेख गर्दै डिजिटल प्रविधि र जेनेरेटिभ एआईले सिर्जनात्मकता र विश्लेषण क्षमतामा विस्तार ल्याएको बताए । तर विश्वविद्यालयहरू अझै पुरानो संरचना- क्रेडिट प्रणाली र कागजी प्रमाणपत्र मै सीमित रहेको उनको भनाइ थियो ।

उनले भविष्यको शिक्षा प्रणालीमा डिग्रीभन्दा सीप, समस्या समाधान क्षमता, नैतिकता, सहानुभूति र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । दक्षिण एशियाली विश्वविद्यालयहरूले नयाँ प्रविधि मात्र थप्ने होइन, अप्रासंगिक संरचना हटाएर एआई युगअनुकूल शिक्षा प्रणाली विकास गर्नुपर्ने उनले बताए ।

पहिलो प्यानल: उच्च शिक्षा सुधारमा संरचनागत चुनौती
“नेपालमा उच्च शिक्षामा सुधार गर्नु पर्ने रणनीतिक कार्यक्रम” विषयक पहिलो प्यानल छलफलमा सहभागीहरूले नेपालको सम्बन्धन (affiliation) प्रणाली र आङ्गिक क्याम्पस संरचनाले शैक्षिक गुणस्तर र नवप्रवर्तनलाई सुदृढ गर्न नसकेको निष्कर्ष निकाले ।

प्यानलमा प्रा. डा. अर्जुन कार्की, प्रा. भूषण श्रेष्ठ र प्रा. सिद्धार्थ कुमार जबडे सहभागी थिए भने अध्यक्षता राष्ट्रिय योजना आयोगकी सदस्य रेशु अर्याल ढुंगानाले गरेकी थिइन् । सहजीकरण प्रा. डा. राजेन्द्रध्वज जोशीले गरेका थिए ।

छलफलमा अनुसन्धानमुखी, स्वायत्त र नवप्रवर्तनमा आधारित विश्वविद्यालय विकास गर्नुपर्ने, सुशासन र जवाफदेहितालाई सुदृढ गर्नुपर्ने तथा श्रम बजारसँग शिक्षा प्रणालीको सम्बन्ध मजबुत बनाउनुपर्नेमा जोड दिइयो । समापनमा ढुंगानाले विश्वविद्यालयमा राजनीतिक प्रभाव न्यूनीकरण गर्नुपर्ने धारणा राखिन् ।

दोस्रो प्यानल: एआई युगमा जनशक्ति र रोजगारीको चुनौती
“एआई युगमा जनशक्ति: शिक्षा, रोजगारी र शासन पद्धतीको समायोजन” विषयक दोस्रो प्यानल छलफलमा शिक्षा प्रणाली र श्रम बजारबीचको असन्तुलन, प्राविधिक सीपको अभाव र युवाको विदेश पलायनलाई प्रमुख चुनौतीका रूपमा उठाइएको थियो ।

प्यानलमा डा. ब्रजेश पन्थ, डा. फहमिदा खातुन, डा. सचिको काटाओका, डा. लुब्ना नाज र हेलानी गाल्पाया सहभागी थिए । सहजीकरण डा. शिखा थापा मगरले गरेकी थिइन् भने अध्यक्षता सुरेन्द्रप्रसाद पाण्डेले गरेका थिए ।

छलफलमा डिजिटल साक्षरता, समालोचनात्मक चिन्तन र सीपमूलक शिक्षामा जोड दिनुपर्ने तथा क्षेत्रीय सहकार्य र नीतिगत सुधारमार्फत एआई र स्वचालनका चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सकिने निष्कर्ष निकालियो । पाण्डेले एआईलाई “औद्योगीकरणको चौथो चरण” का रूपमा व्याख्या गरे ।

समग्र निष्कर्ष: नीति, शिक्षा र सहकार्यमा जोड
समग्र छलफल गुणस्तरीय शिक्षा, सुशासन, मानव स्रोत र श्रम बजारबीचको समन्वय, पूर्वीय र पश्चिमा शिक्षा प्रणालीको सन्तुलन, तथा थिंक ट्यांकहरूको भूमिकामा केन्द्रित थियो । साथै विकास साझेदारहरूको प्रभावकारी सहभागिताबारे पनि विचार विमर्श गरिएको थियो ।

कार्यक्रममा पूर्वमन्त्रीहरू पुर्बमन्त्रीहरु सुरेन्द्र पाण्डे, गणेश शाह सहित विश्वविद्यालय नेतृत्व, प्राध्यापकहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, अनुसन्धानकर्ता, आर्थिक लेखक रिसव गौतम र पत्रकारहरु गरी करिब १३० जना प्रत्यक्ष तथा २० जना भर्चुअल सहभागी थिए ।

कार्यक्रमको अन्त्यमा नेविअप्रका संस्थापक सदस्य डा. नवराज खतिवडाले धन्यवाद ज्ञापन गर्दै संस्थाले आगामी दिनमा पनि गुणस्तरीय अनुसन्धानमार्फत शिक्षा र नीति निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।