कीवर्डहरू -

एआई र डिजिटल रूपान्तरणको एजेन्डासहित बुढानीलकण्ठमा ऐतिहासिक सम्मेलन

एआई र डिजिटल रूपान्तरणको एजेन्डासहित बुढानीलकण्ठमा ऐतिहासिक सम्मेलन

काठमाडौं । प्रविधि र सुशासनबीचको दूरी घटाउने उद्देश्यसहित नेपालमा पहिलोपटक नगरस्तरीय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुशासन सम्मेलन आयोजना गरिएको छ । सम्मेलनमा नीति निर्माता, सरकारी अधिकारी, अनुसन्धानकर्ता, प्रविधि विज्ञ, शिक्षाविद् तथा युवा नेतृत्वकर्ताहरूको सहभागिता रहेको थियो ।

बुढानीलकण्ठ नगरपालिका युवा परिषद्को नेतृत्वमा आयोजना गरिएको उक्त सम्मेलनले स्थानीय शासन प्रणालीमा एआई, डिजिटल सुशासन र प्रमाणमा आधारित नीति निर्माणको सम्भावनाबारे महत्वपूर्ण छलफल गरेको छ । उदीयमान प्रविधिको प्रयोगमार्फत स्थानीय तहलाई अझ प्रभावकारी, पारदर्शी, नागरिकमैत्री र भविष्यका चुनौती सामना गर्न सक्षम बनाउने विषयमा सम्मेलन केन्द्रित थियो ।

सम्मेलन बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला तथा कार्यक्रम संयोजक एवम् बुढानीलकण्ठ नगरपालिका युवा परिषद्का कार्यकारी उपाध्यक्ष सिरिश पौडेलको नेतृत्व तथा सहयोगमा सम्पन्न भएको हो ।

सम्मेलनमा राष्ट्रिय योजना आयोग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्थानीय सरकार, शैक्षिक संस्था, प्रविधि क्षेत्रका संस्था तथा युवा नवप्रवर्तकहरू सहभागी भएका थिए । कार्यक्रममा नेपालमा एआई प्रयोगका अवसर, चुनौती र आवश्यक नीतिगत संरचनाबारे छलफल गरिएको थियो ।

राष्ट्रिय योजना आयोगका सदस्य प्रो.डा. सुदन झाले ‘एआई र स्थानीय शासनको भविष्य’ विषयमा प्रस्तुति दिँदै विश्वभर एआईले शहर र स्थानीय शासन प्रणालीमा ल्याइरहेको परिवर्तनबारे चर्चा गरे । उनले नेपालमा जिम्मेवार, नागरिक केन्द्रित र नीतिमा आधारित एआई प्रयोग आवश्यक रहेको बताए ।

त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्तले ‘एआईलाई कसरी नियमन गर्ने ?’ भन्ने विषयमा धारणा राख्दै एआई प्रयोगका लागि स्पष्ट शासन संरचना, संस्थागत तयारी, राष्ट्रिय नीति र चरणबद्ध कार्यान्वयन आवश्यक रहेको बताए ।

एआईका विषयमा राजीव पाण्डेले प्रस्तुति दिँदै सार्वजनिक प्रशासनमा नैतिक, उत्तरदायी र समावेशी एआई प्रणालीको महत्व औंल्याए । उनले डेटा व्यवस्थापन, गोपनीयता संरक्षण, साइबर सुरक्षा, पारदर्शिता र डिजिटल पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने बताए ।

त्यसैगरी, सन्ध्या सिटौलाले ‘सार्वजनिक सेवामा एआई प्रयोग : डिजिटल प्रणालीदेखि बुद्धिमान् शासनसम्म’ विषयमा प्रस्तुति दिँदै एआईमार्फत सार्वजनिक सेवा प्रवाहलाई आधुनिक, छिटो र प्रभावकारी बनाउन सकिने बताइन् ।

सम्मेलनमा एआई नीति तथा नियमन, डिजिटल शासन, स्मार्ट सार्वजनिक प्रशासन, नैतिक र उत्तरदायी एआई प्रणाली, डेटा सुरक्षा, साइबर सुरक्षा, संस्थागत तयारी, प्रमाणमा आधारित नीति निर्माण तथा सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र युवाबीचको सहकार्यका विषयमा छलफल भएको थियो ।

कार्यक्रमको प्रमुख विशेषता यसको युवा नेतृत्व थियो । प्रविधि, शासन र नवप्रवर्तन प्रति रुचि राख्ने युवाहरूको पहलमा आयोजना गरिएको सम्मेलनले डिजिटल रूपान्तरण र सार्वजनिक नीतिका विषयमा युवाको अर्थपूर्ण सहभागिता देखाएको छ ।

वक्ताहरूले स्थानीय सरकार नागरिकसँग सबैभन्दा नजिकको शासन संरचना भएकाले प्रविधिमा आधारित सुधार र एआई प्रयोगका लागि नगरपालिका महत्वपूर्ण केन्द्र बन्न सक्ने धारणा राखे ।

सम्मेलनले नेपालमा एआई र डिजिटल सुशासनप्रतिको बढ्दो चासोलाई प्रतिबिम्बित गरेको आयोजकले जनाएको छ । सहभागीहरूले यस्ता पहलले एआई नीति निर्माण, संस्थागत सहकार्य र व्यवहारिक नवप्रवर्तनलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।

आयोजक समितिका अनुसार यो सम्मेलन एकपटकको कार्यक्रम मात्र नभई नेपालमा स्मार्ट, समावेशी र प्रविधिमैत्री नगरपालिका निर्माण गर्ने दीर्घकालीन अभियानको सुरुवात हो ।