कीवर्डहरू -

‘ग्रीन डिजिटल नेपाल ई-वेस्ट संवाद २०२६’ मा हरित प्रविधिबारे छलफल

‘ग्रीन डिजिटल नेपाल ई-वेस्ट संवाद २०२६’ मा हरित प्रविधिबारे छलफल

काठमाडौं । नेपालमा विद्युतीय तथा इलेक्ट्रोनिक सामाग्रीको बढ्दो प्रयोगसँगै उत्पन्न हुने फोहोर (ई-वेस्ट) व्यवस्थापनका चुनौती, सम्भावना र दिगो समाधानबारे छलफल गर्न काठमाडौंमा ‘ग्रीन डिजिटल नेपाल ई-वेस्ट संवाद २०२६’ अहिले जारी छ ।

आहा नेपालको आयोजनामा तथा Doko Recyclers को सहआयोजनामा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान १० बजेदेखि सुरु भएको संवाद ‘Responsible Technology for a Sustainable Future’ अर्थात् ‘दिगो भविष्यका लागि जिम्मेवार प्रविधि’ भन्ने नारासहित सञ्चालन भइरहेको छ ।

null

कार्यक्रममा ई-वेस्ट व्यवस्थापनसम्बन्धी नीति, नियमन तथा कार्यान्वयन, उद्योग र प्रविधि क्षेत्रको भूमिका, विद्युतीय सवारी साधन तथा ब्याट्री व्यवस्थापन, हरित वित्त र सर्कुलर इकोनोमीलगायतका विषयमा छलफल भइरहेको छ ।

प्रविधिको बढ्दो प्रयोगसँगै मोबाइल फोन, कम्प्युटर, ब्याट्री तथा अन्य विद्युतीय उपकरणको प्रयोग अवधि समाप्त भएपछि तिनको सुरक्षित व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । यस्ता सामाग्रीको अव्यवस्थित विसर्जनले वातावरणमा नकारात्मक असर पार्न सक्ने भएकाले सुरक्षित सङ्कलन, पुन:प्रयोग र पुनर्चक्रणलाई प्रोत्साहन गर्नुपर्नेमा संवादले जोड दिएको छ ।

कार्यक्रममा सरकारी निकाय, निजी क्षेत्र, उद्योगी व्यवसायी, विकास साझेदार, सञ्चारमाध्यम तथा अन्य सरोकारवालाबीच ई-वेस्ट व्यवस्थापनका विद्यमान समस्या र समाधानका उपायबारे विचार आदानप्रदान भइरहेको छ ।

null

नेपालमा विद्युतीय उपकरणको प्रयोग बढ्दै गएको सन्दर्भमा ई-वेस्ट व्यवस्थापनबारे जनचेतना अभिवृद्धि गर्नु, प्रभावकारी नीति निर्माणका लागि साझा धारणा विकास गर्नु र विभिन्न क्षेत्रबीच सहकार्यका सम्भावना पहिचान गर्नु संवादको प्रमुख उद्देश्य रहेको छ ।

आयोजकका अनुसार संवादले जिम्मेवार प्रविधि प्रयोगलाई प्रोत्साहन गर्दै वातावरणमैत्री डिजिटल विकास र हरित अर्थतन्त्र निर्माणका लागि आवश्यक पहललाई अघि बढाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।