काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई), युवा उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३’ आजदेखि काठमाडौंमा सुरु भएको छ ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) को सहकार्यमा आयोजित सम्मेलनमा युवा उद्यमशीलता, वित्तीय पहुँच विस्तार, नवप्रवर्तन तथा प्रविधिको उपयोगमार्फत आर्थिक अवसर सिर्जना गर्ने विषयमा छलफल हुने जनाइएको छ ।
आयोजकका अनुसार सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार संस्था र विभिन्न कूटनीतिक नियोगका उच्चपदस्थ अधिकारीसहित देशभरका करिब ४०० उद्यमी, व्यवसायी तथा सरोकारवालाको सहभागिता रहनेछ ।
सिबिफिनका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले सम्मेलनले वित्तीय पहुँच र समावेशीकरण विस्तार, उद्यमशीलता प्रवर्द्धन, नवप्रवर्तन तथा रोजगारी सिर्जनामा प्रविधिको उपयोगजस्ता विषयलाई प्राथमिकतामा राखेको बताए ।
सम्मेलनले बैंक तथा वित्तीय क्षेत्र र युवा उद्यमीबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै व्यावसायिक सम्बन्ध विस्तार गर्न सहयोग पुर्याउने उनको भनाइ छ । उत्पादनशील क्षेत्रमा सुरक्षित कर्जा लगानी विस्तार गर्न पनि सम्मेलन उपयोगी हुने उपाध्यायले बताए ।
वित्तीय स्रोतको प्रभावकारी परिचालनमार्फत उद्यमशील गतिविधिलाई प्रोत्साहन गर्न सकिने उनको धारणा छ । नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले देशको दिगो आर्थिक विकासका लागि युवालाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औँल्याए ।
युवा उद्यमीलाई प्रोत्साहन गर्न उपयुक्त नीतिगत व्यवस्था, नयाँ उद्यमका लागि प्रारम्भिक पुँजीको उपलब्धता र वित्तीय पहुँच विस्तारमा विशेष ध्यान दिनुपर्ने उनले बताए । बैंक तथा वित्तीय संस्थासँग प्रत्यक्ष सम्बन्ध राख्ने यी विषयमा सिबिफिनसँगको सहकार्यले सम्मेलनको प्रभावकारिता बढाउने विश्वास पनि गैरेले व्यक्त गरे ।
सम्मेलनबाट युवा उद्यमीमैत्री नीति निर्माण, नयाँ उद्यम तथा स्टार्टअपको प्रवर्द्धन, लगानीको वातावरण सुधार र रोजगारीका अवसर विस्तारका लागि आवश्यक सुझाव तथा दिशानिर्देश प्राप्त हुने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार