काठमाडौं । टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ को उपाधि सोफिया तामाङले जितेकी छन् । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब हलमा आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट प्रदर्शन गर्दै उनले विजेताको ताज पहिरिएकी हुन् ।
प्रतियोगिताको अन्तिम चरणमा छनोट भएका ६ प्रतिस्पर्धीबीच सूचना प्रविधि (आईटी) क्षेत्रसँग सम्बन्धित विभिन्न चुनौतीपूर्ण कार्यहरूमा प्रतिस्पर्धा भएको थियो । ती प्रतिस्पर्धामा समग्र उत्कृष्ट प्रदर्शनका आधारमा सोफिया विजेता घोषित भएकी हुन् ।
प्रतियोगितामा प्रार्थना मिश्रा प्रथम उपविजेता तथा विवेक अधिकारी द्वितीय उपविजेता बने । विजेता सोफियाले नगद एक लाख रुपैयाँसहित रोजगारी सुनिश्चित गर्ने अवसर प्राप्त गरिन् भने प्रथम उपविजेता मिश्राले नगद ५० हजार रुपैयाँसहित रोजगारीको अवसर हात पारिन् ।
कार्यक्रमका प्रमुख अतिथि रायन ओ’कोनेलले नेपाली युवाहरूमा सूचना प्रविधि क्षेत्रमा बढ्दो प्रतिभाको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय स्तरको सीप विकासको आवश्यकता औंल्याए । विश्वव्यापी प्रतिस्पर्धामा सफल हुन प्राविधिक दक्षता र व्यावसायिक सीप अपरिहार्य बन्दै गएको उनको भनाइ थियो ।
विशेष अतिथि रञ्जन राजाले साइबर सुरक्षा र डिजिटल सचेतनाको महत्वबारे धारणा राख्दै डिजिटल युगमा सुरक्षित प्रविधि प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।
त्यसैगरी पत्रकार तथा सञ्चारकर्मी सरल गुरुङले डिजिटल युगमा सीप विकास, प्रभावकारी सञ्चार तथा व्यक्तिगत ब्रान्डिङको महत्वबारे चर्चा गर्दै युवाहरूलाई निरन्तर सिकाइ र आत्मविकासमा केन्द्रित हुन आग्रह गरे ।
कार्यक्रमको नेतृत्व विराज भडेलले गरेका थिए । उनले नेपाली विद्यार्थी तथा युवाहरूलाई अन्तर्राष्ट्रिय स्तरको सीप, करियर मार्गदर्शन र रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
ग्राण्ड फिनालेमा विजेता तथा उत्कृष्ट प्रतिस्पर्धीहरूलाई पुरस्कार, प्रमाणपत्र र सम्मान प्रदान गरिएको थियो । कार्यक्रमले नेपाली युवाहरूलाई विश्वस्तरीय सूचना प्रविधि सीप विकास, करियर निर्माण तथा अन्तर्राष्ट्रिय रोजगारीको तयारीतर्फ प्रेरित गर्ने प्रभावकारी मञ्चका रूपमा आफूलाई स्थापित गरेको आयोजकको दाबी छ ।
आईसीटी समाचार