कीवर्डहरू -

एनसेलको शेयर किनेपछि स्पेक्ट्रलाइट यूकेले भन्योः ग्राहकलाई परिस्कृत सेवा दिन प्रतिबद्ध छौं

एनसेलको शेयर किनेपछि स्पेक्ट्रलाइट यूकेले भन्योः ग्राहकलाई परिस्कृत सेवा दिन प्रतिबद्ध छौं

स्पेक्ट्रलाइट यूके लिमिटेडले नेपालमा रहेका करोडौ ग्राहकलाई परिस्कृत सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताएको छ । आजियाटा ग्रुपबाट एनसेलको ८० प्रतिशत शेयर खरिद गर्ने सम्झौता गरेपछि स्पेक्ट्रलाइट यूके लिमिटेडका लगानीकर्ता शतिशलाल आचार्यले एनसेलका ग्राहकलाई परिस्कृत सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताएका हुन् । 

‘एनसेलको सेयर होल्डिङको लागि यो सम्झौताको घोषणा गर्न पाएकोमा स्पेक्ट्रलाइट निकै खुसी छ,’ उनी भन्छन्, ‘दूरसञ्चार क्षेत्रको मेरो वृहद् अनुभवका साथ एनसेल व्यवस्थापनसँगको सहकार्यमा इनोभेसन र लगानीसँगै नेपालमा रहेका करोडौ ग्राहकलाई विभिन्न परिस्कृत सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौं ।’

स्पेक्ट्रलाइट यूकेका लगानीकर्ता सतिशलाल आचार्य हुन् । उनी सिंगापुरमा रहेका नेपाली मुलका व्यवसायी हुन् । शुक्रबार मात्रै आजियाटा ग्रुपको एनसेलमा रहेको ८० प्रतिशत शेयर स्पेक्ट्रलाइट यूकेले खरिद गर्ने सम्झौता गरेको थियो । 

यो पनि पढ्नुहोस

सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभीसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत स्वामित्व लिनेछ । एनसेलको ८० प्रतिशत स्वामित्व रेनोल्डस् होल्डिङ्सँग रहेको छ । 

स्पेक्ट्रलाइट एनसेलका सेवाहरूको दायरा विस्तार गर्दै गुणस्तर अभिवृद्धि गर्न र डिजिटल आविष्कारहरूका साथ एनसेललाई अगाडि बढाउन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । यस्तै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एनसेललाई डेटा र सञ्चार पुर्वाधारको एक नेपाली कम्पनीका रुपमा अघि बढाउन तत्पर रहेको बताएका छन् ।