पेरिसमा जारी पारालिम्पिक्स २०२४ खेलमा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिले सम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडीहरु तथा प्रशिक्षकहरुको सम्मान स्वरुप एनसेलले पलेशालाई रु १० लाख र अन्य सहभागी पारा खेलाडीहरु तथा प्रशिक्षकहरुलाई पनि थप कुल १० लाख रूपैयाँ पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ । एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरुप यो सम्मानको घोषणा गरेको हो ।
एनसेलले गत वर्ष देखि एनपीसीसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ । नेपालको प्रतिनिधित्व गरेर यो पदक जित्न पाउँदा म आफूलाई धन्य महसुस गरिरहेको पलेशाले बताइन् ।
‘म एकदमै हर्षित छु । तेक्वान्दोको यात्रा शुरु गरेको हिजामात्र जस्तो लाग्छ, त्यति बेला पारालिम्पिकको यस्तो उचाईमा पुग्छु र देशकै लागि ऐतिहासिक पहिलो पदक ल्याउनेछु भन्ने सोचेकै थिइन,’ उनी भन्छिन्, ‘मैले सपना देख्ने हिम्मत गरे र केही गर्ने मौका पाएँ र गरेरै पनि देखाएँ । मैले आफूमाथिको विश्वास कहिल्यै गुमाइनँ र त्यो सपनालाई जीवित राख्न अथक संघर्ष गरें । साँच्चै म एकदमै खुसी छु । यो पदक मेरो होइन देशको हो । नेपालको प्रतिनिधित्व गरेर यो पदक जित्न पाउँदा म आफूलाई धन्य महसुस गरिरहेकी छु ।’
यस सफलतामा सहयोग गर्ने परिवार, तेक्वान्दो एसोसिएसनका प्रशिक्षक लगायत एनपीसी नेपाल, स्पोन्सर्स तथा साथीहरुलाई सबैलाई धेरै–धेरै घन्यवाद दिदै उनले जीवनको नयाँ अध्यायको सुरुवातको लागि म उत्सुक रहेको उनको भनाइ छ ।
पलेशा र देशको यो सफलताबाट उत्साहित बनेका एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले पलेशाको जित ऐतिहासिक उपलब्धि राष्ट्रिय गौरव भएको बताए ।
‘यो जित नेपालको र सम्पुर्ण पारा खेलाडीहरूको कडा परिश्रम र उत्कृष्ट प्रदर्शनको नतिजा हो । एनपीसीसँगको सहकार्यमा पलेशा जस्ता च्याम्पियन र हाम्रा राष्ट्रिय पारा खेलाडीहरूको प्रेरणा बनेर हौसला प्रदान गर्दै हामी एक बलियो साथ दिन प्रतिबद्ध छौं,’ उनले भने ।
एनसेलले गत वर्ष देखि आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको अवसरमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो । यस अन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालिम्पिक राष्ट्रिय खेलाडीहरूको समग्र तालिम, विकास तथा प्रशिक्षणको लागि सहयोग गर्दै आएको छ ।