कीवर्डहरू -

एनसेल कर्मचारी ट्रेड युनियनले भन्योः कहिल्यै कर नतिर्ने जस्तो भाष्य बनाइ बदनाम गर्न खोजियो

एनसेल कर्मचारी ट्रेड युनियनले भन्योः कहिल्यै कर नतिर्ने जस्तो भाष्य बनाइ बदनाम गर्न खोजियो

एनसेल आजियाटा लिमिटेडमा करिब ८० प्रतिशत स्वामित्व रहेको रेनोल्ड्स होल्डिङ्ग्सको शेयर खरिद बिक्रि प्रक्रिया सम्बन्धी विषयमा नेपालको व्यवसायिक वातावरणलाईनै हतोत्साही गर्ने कुन्ठित मनसायले ओतप्रोत भई  केहि सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा भएका अनर्गल प्रचारबाजी प्रति एनसेल  कर्मचारी ट्रेड युनियन (NETU) को गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

कुनै पनि कम्पनीको शेयर खरिद बिक्रि हुनु भनेको एक सामान्य प्रक्रिया भएको भन्दै एनसेल एक बहुराष्ट्रिय कम्पनी भएको हुँदा राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास बमोजिम कारोबार हुनु स्वाभाविक भएको ट्रेड युनियनको दावी छ ।

नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्र समेत भएको हुँदा नेपालमा स्थापित बहुराष्ट्रिय कम्पनीका हकमा पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय विधि विधान आकर्षित हुन्छन् र सोको पूर्ण रूपमा परिपालना हुनुपर्छ भन्नेमा ट्रेड युनियन स्पष्ट रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कम्पनीको शेयर होल्डिङ् परिर्वतनलाई अब एनसेल कम्पनी नै नेपालमा छैन जत्तिकै गरि कम्पनीकै व्यवसायिक छविमाथि आँच आउने गरि भएका/गरिएका प्रचारबाजी प्रति सजग रहन एनसेलका सम्पूर्ण ग्राहकहरु, व्यवसायिक साझेदारहरु तथा आम नेपाली जनताहरुलाई ट्रेड युनियनले अनुरोध गरेको छ । 

‘विगतमा पनि यस कम्पनीको शेयर स्वामित्व परिवर्तन भएका छन् र नेपालको कानून बमोजिम तिर्नु बुझाउनु पर्ने कर तथा विभिन्न समयमा सम्मानित अदालतले तोके बमोजिमका कर भुक्तानी गरेको कुरा छर्लङ्ग छ,’ विज्ञप्तीमा भनिएको छ, ‘नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको एनसेलले स्थापना पश्चात् हालसम्म नेपाल सरकारलाई २ खर्ब ८३ अर्ब भन्दा बढि कर तथा शुल्कहरु भुक्तानी गरि सकेको छ ।’

संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै कानुन बमोजिम निर्धारित क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, वातावरण, प्राकृतिक विपदलगायतका क्षेत्रमा उल्लेखनिय योगदान गरेको छ र देशका दूर–दराजसम्म नेटवर्क विस्तार गरि एक करोड साठी लाख भन्दा धेरै जनतालाई दूरसञ्चार सेवा दिएको  तथा प्रत्यक्ष अप्रत्यक्ष गरि २५,००० भन्दा बढी रोजगार सिर्जना गरि ‘हामी तपाईंकै लागि’ भन्ने नारालाई सार्थकता दिदै आएको तथ्यलाई नजरअन्दाज गर्न नमिल्ने युनियनको भनाइ छ ।

देशकै सामाजिक, आर्थिक तथा सञ्चारको क्षेत्रमा अतुलनिय योगदान पुर्याउँदै आएको कम्पनीलाई कहिल्यै कर नतिर्ने जस्तो भाष्य सिर्जना हुनेगरि बदनाम गर्न खोजिनु खेदपूर्ण भएको विज्ञप्तीमा भनिएको छ । 

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘देशको संविधानले सूचनाको हक सुरक्षित गरेकै छ । हरेक सरकारी कार्यालयमा एक सूचना अधिकारि तोकिएकै हुन्छन् । सूचना प्राप्तिको यति सरल विधि हुँदाहुँदै पनि सम्बन्धित निकायमा गएर नबुझी, सस्तो लोकप्रियताको लागि विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत कम्पनीको छवि नै धुमिल्याउने गरि उछितो काड्नु निन्दनीय छ ।’

हालै भएको शेयर खरिद बिक्रिका सम्बन्धमा सरकारले छानबिन समिति गठन गरि सत्यतथ्य छानबिन प्रक्रिया अगाडि बढाई सकेको अवस्थामा पनि सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा अनर्गल प्रचारबाजी हुनु छानबिन प्रतिवेदनलाई नै प्रभावित पार्ने दुराशयबाट प्रेरित भएको ट्रेड युनियनको आरोप छ ।

आगामी वैशाखमा नेपाल सरकारले आयोजना गर्ने भनिएको लगानी सम्मेलनलाई नै असफल बनाउने उदेश्य राखी वैदेशिक लगानीलाई निरुत्साहित गर्ने प्रपञ्चप्रति सचेत हुँदै यसखालका तथ्यहीन भ्रम फैलाउने जो कोहीलाई कारबाहीको कठघरामा उभ्याउन ट्रेड युनियन सरकारसँग माग गरेको छ ।