सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा एनसेल पावर्ड बाई पार्टनरमा सहभागी भएको छ । एनपीएलमा एनसेल ‘पावर्ड बाई’ साझेदारको रूपमा आवद्ध हुने समझदारीपत्रमा गत हप्ता एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र क्यानका सचिव पारस खड्काबीच हस्ताक्षर भएको थियो ।
सहकार्यसँगै यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाहरुको विकासमा योगदान पुऱ्याउने विश्वास लिइएको एनसेलले जनाएको छ । यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको छ ।
क्रिकेट भारतीय उपमहाद्वीपकै सबैभन्दा बढी लोकप्रिय खेलकुद मध्ये एक हो । यो एनपीएलको विशेषता भनेको अन्तर्राष्ट्रिय खेलाडीहरूको पनि सहभागीता हो र अन्तर्राष्ट्रिय खेलकुद टिभी च्यानलमार्फत पनि यसको प्रत्यक्ष प्रसारण हुनेछ ।
एनसेलका प्रबन्ध निर्देशक जाब्बोरले नेपाल प्रिमियर लिगका लागि क्यानसँग ‘पावर्ड बाई एनसेल’ साझेदारी घोषणा गर्न पाउँदा खुसी व्यक्त गर्दै यसले नेपालको क्रिकेट खेलाडीहरूलाई उत्कृष्ट अनुभव र आफ्नो अपार प्रतिभा प्रदर्शन गर्ने मञ्च प्रदान गर्ने बताए ।
यो साझेदारी केवल नेपालमा खेल प्रतिभा प्रवर्द्धन गर्नका लागि मात्र नभई यस्ता प्रतियोगितालाई सफल बनाउने दर्शक र प्रशंसकहरूको लागि पनि हो । यो सहकार्य संसारभर छरिएर रहेका नेपाली दर्शकहरूको खेलप्रतिको माया र समर्थनको भावना स्वीकार अवसर पनि हो, जसले हालैका विश्वव्यापी प्रतियोगिताहरूमा थुप्रै प्रशंसाहरु बटुलेका छन् ।
एनसेलले आफ्ना ग्राहककालागि लाइभ स्क्रिनिङ्मार्फत एनपीएलका खेलहरु आफु जहाँ भएपनि हेर्न सकिने सुविधा प्रदान गर्नेछ । यसका साथै एनसेलले खेल मैदानमा विभिन्न गतिविधिहरु आयोजना गर्दै यो प्रतियोगिताभरी ग्राहकहरुकालागि विभिन्न योजनाहरु पनि ल्याउनेछ ।
मंसिर १५ गते देखि पौष ६ गते सम्म नेपालमा सञ्चालन हुने यो प्रतियोगितामा आठ टिमका १६० खेलाडीहरूले कुल ३२ रोमाञ्चक खेलमा समावेश हुनेछन् । सबै खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछ । आठ टिमहरूले राउन्ड–रोबिन फर्माटमा प्रतिस्पर्धा गर्नेछन्, जसमा प्रमुख शहरहरू विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा, र सुदूरपश्चिमलाई प्रतिनिधित्व गर्ने टिमहरू छन् ।
क्यानका सचिव पारस खड्काले एनपीएललाई विश्वकै प्रतिष्ठित क्रिकेट लिगमध्ये एकको रूपमा स्थापना गर्न पनि चाहेको बताए । एनसेलले आफ्नो स्थापना कालदेखिनै नेपालमा खेलकुदको विकास र प्रतिभा विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ । कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ तथा नेपालका पारा–खेलाडीहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउन सहयोग प्रदान गर्दै आएको छ ।
यस अघि एनसेलले त्रिकोणत्मक टी–२० आई सिरिज २०२४, आईसीसी लिग २, र नेपाल–क्यानडा एकदिवसीय सिरिजलाई पनि सहयोग गरेको थियो । एनसेलले बिर्तामोड गोल्ड कप र झापा गोल्ड कप लगायतका विभिन्न फुटबल प्रतियोगिताहरूलाई पनि सहयोग प्रदान गरेको थियो ।
यसैगरी, खेलकुदको विकासमा आफ्नो प्रतिबद्धता अनुरुप एनसेलले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सहकार्य गरी ए डिभिजन, यू–१६ फुटबल, महिला राष्ट्रिय च्याम्पियनसिप, र महिला राष्ट्रिय टोलीका कार्यक्रमहरूमा सहयोग गरेको थियो । २०१४ मा क्यानको प्राविधिक सहयोगमा, एनसेलले पहिलो पटक घरेलु क्रिकेट प्रतियोगिता—एनसेल नेपाल प्रिमियर लिगको आयोजना पनि गरेको थियो ।
आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सिएसआर) अन्तर्गत, एनसेलले गत वर्षदेखि राष्ट्रिय प्यारालिम्पिक समिति (एनपीसी) नेपालसँग सहकार्य गर्दै राष्ट्रिय पारा खेलाडीहरुलाई सहयोग र समर्थन गर्दै आएको छ । गत भदौमा पारा–ताइक्वान्डो खेलाडी पालेशा गोवर्धनले पेरिस प्यारालिम्पिक्स २०२४ मा ऐतिहासिक जित हासिल गरेपछि, एनसेल फाउन्डेसनले उनलाई रु १० लाख रुपैयाँ पुरस्कार बाट सम्मान गरेको थियो । र अन्य प्यारालिम्पिक टोलीका सदस्यहरूलाई पनि एनसेल फाउन्डेसनले नगद पुरस्कारसहित सम्मान गरेको थियो ।
एनसेल र एनपीसी नेपालको यस साझेदारीमार्फत, एनसेलले राष्ट्रिय पारा खेलाडीहरूको समग्र तालिम, प्रशिक्षण र विकासमा सहयोग जारी राखेको छ । त्यसैगरी, आफ्नो सामाजिक पहल अन्तर्गतनै एनसेलले खेलकुदको विकासलाई समर्थन गर्दै लैनचौर मैदानलाई बहुउद्देश्यीय खेल मैदानको रूपमा पुनःर्निर्माण पनि गरेको छ ।
साथै, एनसेलले वार्षिक रुपमा एनसेल कर्पोरेट गल्फ प्रतियोगिता पनि आयोजना गदै आएको छ । त्यसै मध्येको एक प्रतियोगिता दुई हप्ता अघि सम्पन्न भएका थियो । खेलकुदको महत्वलाई आत्मसाथ गर्दै, एनसेलले यस क्षेत्रको विकास र वृद्धिलाई प्राथमिकतामा राखेको छ ।