काठमाडौं । अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सको विशाल रकेट ‘स्टारसिप’ पहिलोपटक सफलतापूर्वक पृथ्वीको कक्षमा पुगेको छ । चौधौँ परीक्षण उडानका क्रममा स्टारसिपले नयाँ पुस्ताका २६ वटा स्टारलिंक उपग्रहसमेत अन्तरिक्षमा तैनाथ गरेको छ ।
टेक्सासस्थित स्पेसएक्सको प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार सोमबार बिहान स्टारसिप उडाइएको थियो । उडानका क्रममा माथिल्लो चरणमा जडान गरिएका इन्जिनमध्ये एउटामा समस्या देखिए पनि अर्को इन्जिनको सहायताले स्टारसिपलाई पृथ्वीको कक्षमा पुर्याइएको थियो ।
कक्षमा पुगेपछि स्टारसिपबाट २६ वटा नयाँ पुस्ताका स्टारलिंक उपग्रह अलग गरिएका थिए । स्पेसएक्सका अनुसार ती सबै उपग्रहसँग सम्पर्क स्थापित भएको छ । नयाँ पुस्ताका यी उपग्रहले अघिल्लो पुस्ताका उपग्रहको तुलनामा करिब १० गुणासम्म बढी क्षमता प्रदान गर्ने कम्पनीको दाबी छ ।
उडानलाई करिब १० घण्टासम्म सञ्चालन गर्ने योजना भए पनि इन्जिनमा देखिएको समस्याका कारण मिसन छोट्याइएको थियो । करिब तीन घण्टापछि स्टारसिपले पृथ्वीको वायुमण्डलमा पुन: प्रवेश गरी प्रशान्त महासागरमा नियन्त्रित रूपमा अवतरण गरेको थियो ।
यो उडानलाई स्पेसएक्सको पुन: प्रयोग गर्न मिल्ने विशाल अन्तरिक्षयान विकास कार्यक्रमका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । स्टारसिपलाई भविष्यमा चन्द्रमा तथा मंगल ग्रहसम्म मानिस र सामग्री पुर्याउन प्रयोग गर्ने स्पेसएक्सको योजना छ ।
नयाँ पुस्ताका स्टारलिंक उपग्रहलाई कक्षमा पुर्याउन सफल भएपछि विश्वव्यापी इन्टरनेट सेवा विस्तार गर्ने स्पेसएक्सको योजनालाई समेत यस उडानले थप बल दिएको छ ।
आईसीटी समाचार