कीवर्डहरू -

भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिकमको सेवा निःशुल्क

भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिकमको सेवा निःशुल्क

सरकारले भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिकमको सेवा पाँच दिनका लागि निःशुल्क गरेको छ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले पाँच दिनका लागि जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा निःशुल्क भ्वाइस, एसएमएस र उद्धार क्षेत्रमा सूचना आदान प्रदान गर्न आवश्कयताअनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा प्रदान गर्ने निर्णय गरेको हो । 

जसअनुसार यी तीन जिल्लामा रहेका टावरमार्फत प्रवाह हुने जुनसुकै ठाउँबाट जारी भएका टेलिफोनमा पनि निःशुल्क टेलिफोन र एमएमएस गर्न सकिने छ । भूकम्प प्रभावित क्षेत्रमा टेलिकमले पाँच दिनसम्म निःशुल्क सिम पनि उपलब्ध गराउने भएको छ ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले विज्ञप्ति जारी गरी यस विषम परिस्थितिमा नेपाल टेलिकमले आफ्नो कर्तव्यबोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमितरुपमा सुचारु राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

कम्पनीका सेवा सम्बन्धी समन्वयका लागि टेलिकमले स्रोत व्यक्ति पनि तोकेको छ । जसअनुसार प्रकाशचन्द्र सिग्देल (९८५१०२१७४०), जनक डाँगी (९८५११०९९५५) र ओमप्रकाश ढकाल (९८५१३४७८७०)सँग सम्पर्क गर्न पनि टेलिकमले आग्रह गरेको छ ।