कीवर्डहरू -

घट्दो अवस्थामा नेपाल टेलिकमको आम्दानी र मुनाफा

घट्दो अवस्थामा नेपाल टेलिकमको आम्दानी र मुनाफा

नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ मा ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रूपैयाँ कुल आम्दानी गरेको छ । टेलिकमले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार एक वर्षमा ४१ अर्ब ६१ करोड आम्दानी गरेको हो । 

यस वर्षको आम्दानी गत आर्थिक वर्ष २०७९/८० को तुलनामा २ अर्ब ८० करोड ६५ लाख रूपैयाँ कमी भएको छ । गत आर्थिक वर्षमा टेलिकमले ४४ अर्व ४२ करोड ३६ लाख १८ हजार कुम आम्दानी गरेको थियो । 

आर्थिक वर्ष २०८०-८१ मा नेपाल टेलिकमको सञ्चालन आय समेट घटेको छ । आर्थिक २०७९-९० को तुलनामा यस आवमा १ अर्ब ८१ करोड ३ लाख १५ हजार रूपैयाँले कमी भएको हो । 
गत आवमा ३६ अर्व २७ करोड कुल सञ्चालन आय रहेकोमा यस वर्ष ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रहेको छ । 

आयसँगै टेलिकमको खुद मुनाफा समेत ह्रास आएको छ । आर्थिक वर्ष २०७९-८० मा ७ अर्ब ९२ करोड १ लाख ५५ हजार रहेकोमा आर्थिक वर्ष २०८०-८१ मा आउँदा ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजारमा सिमित भएको छ ।

आर्थिक वर्ष २०८०-८१ मा कर अघिको मुनाफा ११ अर्व ३७ करोड ९८ लाख ४ हजार रहेको छ । यो रकम आर्थिक वर्ष २०७९-८० को तुलनामा ४६ करोड २७ लाख ५७ हजारले कमी हो । उक्त वर्षमा टेलिकमको कर अघिको मुनाफा ११ अर्ब ८४ करोड २५ लाख ६२ हजार रूपैयाँ रहेको थियो । 

यस्तै नेपाल टेलिकम प्रति शेयर आम्दानी ३६.७७ रूपैयाँ रहेको छ ।

आय तथा खुद मुनाफा कमी आउनुको कारण 

ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवाको तथा अन्तरआवद्धता आयमा गत आवको तुलनामा करिब १ अर्ब ४३ करोड ८४ लाख ४८ हजारले कमी भएको र ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस र एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव पारेको टेलिकमको भनाइ छ । 

बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढ्दा आम्दानी घटेको टेलिकमको बुझाइ छ । 
सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकूल असर परेको र सेवा सञ्चालनको लागि आवश्यक ब्याण्डविथ बिगत वर्ष भन्दा कम दरमा खरिद गरिएको कारण सेवा सञ्चालन खर्चमा कमी आएको टेलिकमले जानकारी दिएको छ ।

कम्पनीले जीएसएम अनुमति पत्रको तेस्रो नवीकरण शुल्क रु. २० अर्बको भुक्तानीको लागि स्रोत व्यवस्थापन गर्न २०८० पौष देखि लगानी गर्न नसकेको तथा सो सम्बन्धि भुक्तानीको निर्णय २०८१ बैशाखमा भए पश्चात केहि बैंकमा रहेका मुद्दती निक्षेपहरुलाई परिपक्व अवधि भन्दा अगाडी फुकुवा गरि भुक्तानी गरिएको तथा बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब १ अर्ब २९ करोड ७३ लाखले कमी भएको बताइएको छ ।

कम्पनीले योगदानमा आधारित पेन्सन योजना लागू गरेको साथै कम्पनीले पेन्सन, उपदान तथा बिदा बापत Defined Benefit Obligation को लागि राखिएको Defined Benefit Assets मा चालु आवमा रु. ४ अर्ब ८५ करोड रकम छुट्टाई नेपाल लेखामान १९ “Employee Benefit” अनुसार Actuarial Valuation गराई खर्च लेखाङ्कन गरेको छ । 

कम्पनीले जीएसएम अनुमति पत्रको तेस्रो नवीकरण शुल्क रु. २० अर्बको भुक्तानी, नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखाङ्कन तथा Defined Benefit Assets मा रकम छुट्टाईएको लगायतका कारणबाट सिर्जना भएको स्थगन करको प्रभाव पर्न गएको टेलिकमले जनाएको छ ।