कीवर्डहरू -

नेपाली युवाले बनाए ‘नम्बर ब्रेन’, खेल्दा खेल्दै गणित सिकाउने मोबाइल गेम

नेपाली युवाले बनाए ‘नम्बर ब्रेन’, खेल्दा खेल्दै गणित सिकाउने मोबाइल गेम

काठमाडौं । गणित धेरै विद्यार्थीका लागि चुनौतीपूर्ण विषय मानिन्छ । तर यदि गणितलाई रमाइलो खेलसँग जोड्न सकियो भने सिकाइ थप रोचक बन्न सक्छ । यही सोचबाट नेपाली युवा डेभलपर लीलाधर भट्टले ‘नम्बर ब्रेन’ (Number Brain) नामक मोबाइल गेम विकास गरेका छन्, जसले मानसिक गणना र तार्किक सोचलाई मनोरञ्जनात्मक तरिकाले अभ्यास गराउने लक्ष्य राखेको छ ।

इलेक्ट्रोनिक्स तथा सञ्चार इन्जिनियरिङमा स्नातक भट्टले अधिकांश गणितसम्बन्धी एपहरू गृहकार्यजस्तै नीरस र कम अन्तरक्रियात्मक लाग्ने गरेको अनुभवबाट यो गेम बनाउने प्रेरणा पाएको बताउँछन् । उनका अनुसार खेलाडीले सही उत्तर दिएर ‘बस’ पात्रमाथि आक्रमण गर्ने अवधारणाले गणितीय चुनौतीलाई थप रोमाञ्चक बनाएको छ ।

null

‘नम्बर ब्रेन’को विकास सन् २०२६ को फेब्रुअरीमा सुरु भएको थियो । करिब दुई महिनाभन्दा बढी समय लगाएर तयार पारिएको यो गेम अहिले सार्वजनिक रूपमा उपलब्ध छ । डिजाइन, विकास, परीक्षण र प्रकाशनसम्मका सम्पूर्ण काम भट्ट एक्लैले सम्पन्न गरेका हुन् ।

गेम निर्माणका लागि Flutter र Dart प्रविधि प्रयोग गरिएको छ भने Firebase र Cloud Firestore ले ब्याकएन्ड सेवा सञ्चालन गर्छन् । साथै, Google AdMob मार्फत गेमको मुद्रीकरण गरिएको छ ।

भट्टका अनुसार ‘नम्बर ब्रेन’को मुख्य उद्देश्य गणितलाई बोझ नभई चुनौतीपूर्ण र मनोरञ्जनात्मक अनुभवका रूपमा प्रस्तुत गर्नु हो । गेममा समावेश ‘Boss Mode’ले खेलाडीलाई समयको दबाबमा गणितीय समस्या समाधान गर्न प्रेरित गर्छ । ‘Survival Mode’ले शुद्धता र एकाग्रतामा जोड दिन्छ भने ‘Daily Challenge’ले नियमित अभ्यास गर्ने बानी विकास गर्न मद्दत पुर्‍याउँछ ।

null

हालै गेममा ‘Number Detective Mode’ समेत थपिएको छ, जसले तार्किक सोच र समस्या समाधान क्षमताको अभ्यास गराउँछ । भविष्यमा थप ‘बस’ पात्र, नयाँ कठिनाइ स्तर र प्रयोगकर्ताको प्रतिक्रियाका आधारमा नयाँ गेम मोडहरू समावेश गर्ने योजना रहेको भट्टले बताएका छन् ।

हाल गेम मुख्य रूपमा एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध छ । आईओएस संस्करण भने एन्ड्रोइडमा प्रयोगकर्ता आधार थप विस्तार भएपछि सार्वजनिक गर्ने तयारी रहेको उनले बताए ।

‘नम्बर ब्रेन’को लक्षित प्रयोगकर्ता समूह १२ देखि ३० वर्ष उमेरका विद्यार्थी तथा युवा हुन् । यद्यपि मानसिक गणना, तार्किक क्षमता र ध्यान केन्द्रित गर्ने सीप सुधार गर्न चाहने जुनसुकै उमेर समूहका व्यक्तिले पनि यसबाट लाभ लिन सक्ने भट्टको विश्वास छ ।

null

लीलाधर भट्टले ‘टेककोसेली’ (TechKoseli) नामक आफ्नो स्वतन्त्र ब्रान्डमार्फत मोबाइल एप, वेब एप तथा अटोमेसनसम्बन्धी परियोजनाहरू विकास गर्दै आएका छन् । उनका अनुसार ‘नम्बर ब्रेन’ केवल एउटा गेम मात्र होइन, नेपालबाट विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक डिजिटल उत्पादन निर्माण गर्ने प्रयास पनि हो ।

भट्टका अनुसार सार्वजनिक भएको छोटो समयमै नेपाल, भारत, बेलायत र अमेरिकाबाट प्रयोगकर्ताहरूले गेम डाउनलोड गरिरहेका छन् ।

“गणित सिकाइलाई अझ रमाइलो, अन्तरक्रियात्मक र प्रभावकारी बनाउने मेरो लक्ष्य हो,” भट्ट भन्छन्, “नेपालबाट विकसित शैक्षिक प्रविधिका उत्पादनहरूले अन्तर्राष्ट्रिय बजारमा पनि स्थान बनाउन सक्छन् भन्ने विश्वासका साथ काम गरिरहेको छु ।”