काठमाडौं । हावा देखिँदैन । तर हामीले प्रत्येक क्षण लिइरहेको साससँगै त्यसको प्रभाव हाम्रो स्वास्थ्यमा पुगिरहेको हुन्छ । हावामा प्रदूषणको मात्रा कति छ, कुन क्षेत्रमा प्रदूषण बढ्दैछ, त्यसले स्वास्थ्यमा कस्तो जोखिम निम्त्याउन सक्छ र जोखिमबाट बच्न तत्काल के गर्नुपर्छ भन्ने जानकारी भने अझै पनि सहज रूपमा सबैको पहुँचमा छैन । यही चुनौतीलाई प्रविधिको माध्यमबाट समाधान गर्ने उद्देश्यसहित अघि बढिरहेको नेपाली क्लाइमेट-टेक स्टार्टअप हो, वायुदृष्टि ।
सन् २०२४ मा काठमाडौंमा स्थापना भएको वायुदृष्टिले दक्षिण एसियालाई केन्द्रमा राखेर Atmospheric Climate Intelligence Platform निर्माण गरिरहेको छ । यसको उद्देश्य वातावरणीय तथा जलवायु तथ्यांकलाई सामान्य तथ्यांकमा सीमित नराखी नागरिक, संस्था र सरकारका लागि निर्णय लिन उपयोगी हुने ‘Actionable Intelligence’ मा रूपान्तरण गर्नु हो ।
वायुदृष्टिको नेतृत्व CEO तथा Founder शकृया पाण्डेले गरिरहेकी छन् । CFO श्रिषा पाण्डे वित्तीय रणनीति तथा दिगोपनासम्बन्धी पक्षमा केन्द्रित छिन् भने मञ्जिला पाण्डे प्रविधि प्रमुखका रूपमा कार्यरत छिन् । Head of Research बिक्रम थापा भौतिकशास्त्र पृष्ठभूमिका अनुसन्धानकर्ता हुन् । उनी वायु गुणस्तर अनुसन्धान, AI Forecasting, Atmospheric Science तथा वातावरणीय नेतृत्वका क्षेत्रमा काम गर्दै आएका छन् ।
तथ्यांक देखाउने मात्र होइन, निर्णय लिन सहयोग गर्ने
वायुदृष्टिको विशेषता वायु गुणस्तरको तथ्यांक देखाउने प्रणालीमा मात्र सीमित छैन । कम लागतका ग्राउन्ड सेन्सर, स्याटेलाइट डेटा, कृत्रिम बुद्धिमत्तामा आधारित पूर्वानुमान र स्वास्थ्यसम्बन्धी जानकारीलाई एकीकृत गरेर स्थानीय स्तरमा बुझ्न र प्रयोग गर्न सकिने सूचना उपलब्ध गराउने यसको प्रयास छ ।
यसको अर्थ कुनै ठाउँको हावा कति प्रदूषित छ भनेर मात्र देखाउनु होइन । प्रदूषण कहिले बढ्न सक्छ, कुन क्षेत्रमा जोखिम बढी छ, त्यसले स्वास्थ्यमा कस्तो प्रभाव पार्न सक्छ र जोखिम कम गर्न के सावधानी अपनाउनुपर्छ भन्ने जानकारी पनि उपलब्ध गराउनु हो ।
यसका लागि वायुदृष्टिले Ground Sensor Network निर्माण गरिरहेको छ । सहर, विद्यालय, अस्पताल तथा समुदायमा जडान गरिएका कम लागतका सेन्सरबाट वातावरणसम्बन्धी तथ्यांक संकलन गरिन्छ । त्यसलाई स्याटेलाइट डेटा तथा अन्य वातावरणीय सूचनासँग जोडेर प्लेटफर्मले वास्तविक समयको विश्लेषण र पूर्वानुमान तयार गर्छ ।
यसबाट एकातर्फ नागरिकले आफू बसेको क्षेत्रको वायु अवस्था बुझ्न सक्छन् भने अर्कोतर्फ सरकार तथा स्थानीय तहले प्रदूषण नियन्त्रण, वातावरणीय योजना र जलवायु-लचिलोपनका कार्यक्रम निर्माणमा तथ्यांकमा आधारित निर्णय लिन सक्छन् ।
वायु प्रदूषणदेखि स्वास्थ्य जोखिमसम्म
वायुदृष्टिको अर्को महत्वपूर्ण पक्ष Health Risk Guidance हो । वायु प्रदूषणलाई सामान्य अंक, रङ वा ग्राफमा मात्र देखाएर नछाड्ने र त्यसको स्वास्थ्य प्रभावलाई पनि सरल भाषामा बुझाउने यसको प्रयास छ ।
कुन स्तरको प्रदूषणमा बालबालिका, ज्येष्ठ नागरिक वा संवेदनशील समूह बढी जोखिममा पर्न सक्छन् ? बाहिर निस्कँदा कस्तो सावधानी अपनाउने ? प्रदूषण बढेको अवस्थामा दैनिक गतिविधिमा के परिवर्तन गर्ने ? यस्ता प्रश्नको उत्तर दिन सक्ने गरी वातावरणीय तथ्यांकलाई स्वास्थ्यसम्बन्धी जानकारीसँग जोड्ने काम वायुदृष्टिले गरिरहेको छ ।
वायुदृष्टिको दीर्घकालीन लक्ष्य भने वायु प्रदूषणको निगरानीभन्दा फराकिलो छ । वातावरणीय तथा जलवायु तथ्यांकलाई व्यवहारमा प्रयोग गर्न सकिने Climate Intelligence मा रूपान्तरण गर्दै स्वस्थ जीवन र जलवायु-लचिलो समुदाय निर्माणमा योगदान गर्नु यसको उद्देश्य हो ।
यसको दृष्टिकोण दक्षिण एसियाका नागरिक, सहर र संस्थालाई स्वच्छ हावा, स्वस्थ जीवन र जलवायु–लचिलो भविष्यका लागि सही समयमा सही निर्णय लिन सक्षम बनाउनु हो ।
तीन देशका १५० भन्दा बढी सहरमा विस्तार
वायुदृष्टिका अनुसार यसको प्रविधि नेपाल, भारत र पाकिस्तानका १५० भन्दा बढी सहरमा प्रयोगमा आइसकेको छ । यसले वायु प्रदूषण कुनै एउटा सहर वा देशको मात्र समस्या नभई दक्षिण एसियाभर साझा चुनौतीका रूपमा रहेको देखाउँछ ।
प्रविधिसँगै वातावरणीय सचेतना र नेतृत्व विकासलाई पनि वायुदृष्टिले आफ्नो कामको हिस्सा बनाएको छ । यसको VayuSena Environmental Leadership Program मार्फत ६ हजारभन्दा बढी युवालाई वातावरणीय नेतृत्वसम्बन्धी तालिम दिइसकेको कम्पनीको दाबी छ ।
स्वास्थ्य सुरक्षासम्बन्धी जानकारी खोज्ने परिवारहरूबाट प्लेटफर्ममा मासिक ९८ हजारभन्दा बढी भ्रमण हुने गरेको पनि कम्पनीले जनाएको छ । कम लागतमा उपलब्ध प्रविधिले Reference Grade Instruments सँग तुलना गर्दा ९३ प्रतिशत शुद्धता हासिल गरेको वायुदृष्टिको दाबी छ ।
सरकार, विद्यालय र अस्पतालसँग सहकार्य
वायुदृष्टिले वातावरणीय तथ्यांकलाई व्यवहारिक निर्णयमा प्रयोग गर्न विभिन्न सरकारी निकाय, स्थानीय तह तथा संस्थासँग सहकार्य गर्दै आएको जनाएको छ । यसको Government & City Programs अन्तर्गत प्रविधिको ठूलो स्तरमा विस्तार, नीति निर्माणमा तथ्यांक उपलब्ध गराउने तथा स्थानीय जलवायु-लचिलोपन योजना निर्माणमा सहयोग गर्ने लक्ष्य राखिएको छ ।
विद्यालय, अस्पताल र समुदायमा कम लागतका सेन्सर जडान गरेर स्थानीय वातावरणीय अवस्था बुझ्ने अवसर सिर्जना गर्नु यसको अर्को महत्वपूर्ण पहल हो । यसले वातावरणीय तथ्यांकलाई अनुसन्धान वा सरकारी नीतिको विषयमा मात्र सीमित नराखी नागरिकको दैनिक जीवनसँग जोड्ने प्रयास गरेको छ ।
राष्ट्रियदेखि अन्तर्राष्ट्रिय पहिचानसम्म
वायुदृष्टिले प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचानसमेत बनाएको छ । कम्पनीका अनुसार वायुदृष्टि Hult Prize Global Accelerator मा छनोट हुनुका साथै Top 22 Global Startups को सूचीमा परेको छ । Startup World Cup Nepal 2025 मा First Runner-up र Startup World Cup 2025 मा Runner-up बनेको पनि कम्पनीले जनाएको छ ।
नेपालमा आयोजित ICT Award Nepal 2025 मा Jury Mention Winner को पहिचान पाएको वायुदृष्टिले Shark Tank Nepal मा पाँचै जना लगानीकर्ताबाट लगानी प्राप्त गर्ने स्टार्टअपका रूपमा समेत चर्चा पाएको छ ।
त्यस्तै, UN DESA STI Solutions Book 2026 का लागि विश्वभरबाट छनोट गरिएका उत्कृष्ट ६० समाधानमध्ये वायुदृष्टि पनि परेको छ । IIT Madras Pravartak Innovation Program मा Selected Startup, YESIST 12 2026 Innovation Challenge मा Winner तथा WSA National Nominee 2025 का रूपमा समेत पहिचान बनाएको कम्पनीले जनाएको छ । वायुदृष्टि GSEA Nepal 2026 को Finalist समेत हो ।
सेन्सरदेखि एआईसम्मको संयोजन
वायुदृष्टिको प्रविधिको मूल आधार चार तहमा देखिन्छ- सेन्सरले तथ्यांक संकलन गर्छ, एआईले त्यसको विश्लेषण तथा पूर्वानुमान गर्छ, स्वास्थ्यसम्बन्धी प्रणालीले जोखिम बुझाउँछ र प्लेटफर्मले आवश्यक कदमबारे मार्गदर्शन गर्छ । यही संयोजनका कारण आफूलाई सामान्य Air Quality Monitoring System भन्दा फरक बनाउने वायुदृष्टिको दाबी छ ।
दक्षिण एसियाका सहरमा तीव्र सहरीकरण, बढ्दो यातायात, औद्योगिक गतिविधि र जलवायु परिवर्तनका कारण वातावरणीय जोखिम बढ्दै गएको अवस्थामा स्थानीय र वास्तविक समयको तथ्यांकमा आधारित निर्णयको आवश्यकता पनि बढिरहेको छ ।
वायुदृष्टिले यही आवश्यकतालाई आफ्नो कामको केन्द्रमा राखेको छ- हावा कस्तो छ भनेर मात्र बताउने होइन, त्यसबाट जोगिन र वातावरणीय जोखिम घटाउन के गर्न सकिन्छ भनेर पनि देखाउने ।
तथ्यांकलाई जीवनसँग जोड्ने प्रयास
वायुदृष्टिको यात्रा वायु प्रदूषण मापन गर्ने प्रविधिबाट सुरु भएपनि यसको लक्ष्य अहिले दक्षिण एसियाका समुदाय, संस्था र सरकारलाई वातावरणीय तथा जलवायु जोखिमबारे निर्णय लिन सहयोग गर्ने व्यापक Climate Intelligence Infrastructure निर्माण गर्ने दिशामा अघि बढेको छ ।
१५० भन्दा बढी सहरमा प्रविधिको विस्तार, हजारौँ युवालाई वातावरणीय नेतृत्वसँग जोड्ने प्रयास, स्वास्थ्यसम्बन्धी डिजिटल पहुँच र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्राप्त पहिचानले यसको यात्रालाई थप बल दिएको छ ।
अन्तत: वायुदृष्टिको लक्ष्य प्रविधि आफैंलाई उपलब्धि बनाउनु होइन, प्रविधिबाट प्राप्त तथ्यांकलाई मानिसको जीवनसँग जोड्नु हो । नागरिकले आफ्नो वरपरको हावा बुझ्न सकून्, जोखिमबारे समयमै जानकारी पाऊन् र सही समयमा सही निर्णय लिन सकून्- वायुदृष्टिको दीर्घकालीन यात्राको सार यही हो ।
आईसीटी समाचार