कीवर्डहरू -

एआई दुनियाँमा हलचल : ओपनएआईको माइक्रोसफ्टसँगको साझेदारी अन्त्य !

एआई दुनियाँमा हलचल : ओपनएआईको माइक्रोसफ्टसँगको साझेदारी अन्त्य !

काठमाडौं । ओपनएआईले माइक्रोसफ्टसँगको आफ्नो सम्झौता परिवर्तन गरेको छ । अब ओपन एआईले आफ्ना नयाँ एआई प्रविधि अरु कम्पनीहरुलाई पनि दिन सक्छ र विभिन्न क्लाउड सेवामार्फत प्रयोग गर्न  दिन सक्छ । यसअघि यो सुविधा माइक्रोसफ्टमै सीमित थियो,तर अब त्यस्तो हुने छैन ।

ओपनएआई र माइक्रोसफ्टले संयुक्त रूपमा दिएको जानकारी अनुसार, माइक्रोसफ्ट अझै पनि ओपनएआईको मुख्य क्लाउड साझेदार रहनेछ । ओपनएआईका नयाँ प्रविधिहरू पहिले माइक्रोसफ्टको एजुर (Azure)  मा आउनेछन् । तर अब ओपनएआईले अन्य क्लाउड सेवा प्रदायकहरूसँग पनि काम गर्न पाउनेछ ।

ओपनएआईका प्रमुख स्याम अल्टम्यानले भनेका छन्- अब कम्पनीले आफ्ना सेवा र उत्पादनहरू सबै क्लाउड प्लेटफर्ममार्फत उपलब्ध गराउनेछ । नयाँ सहमति अनुसार माइक्रोसफ्टसँग ओपनएआईको मोडेल र उत्पादनहरु प्रयोग गर्ने लाइसेन्स २०३२ सम्म रहनेछ, तर अब त्यो विशेष अधिकार रहने छैन ।

व्यवसायिक पक्षमा माइक्रोसफ्टले अब ओपनएआईलाई आम्दानीको हिस्सा तिर्नु पदैन । तर ओपनएआईले भने २०३० सम्म माइक्रोसफ्टलाई आम्दानिको केहि हिस्सा तिर्नेछ, जसमा निश्चित सीमा तोकीएको छ ।

ओपनएआई र माइक्रोसफ्टले सन् २०१९ देखि मिलेर काम गर्दै आएका छन् । पहिलेको सम्झौतामा ओपनएआईका प्रविधि धेरैजसो माइक्रोसफ्टमै सीमित जस्तो थियो । तर अहिले नयाँ परिवर्तन भएको हो ।

अब ओपनएआई त्यो विशेष सीमितता (एक्सक्लुसिभिटी ) तोड्न सक्छ र आफ्ना प्रविधि अरू ठाउँमा पनि प्रयोग गर्न सक्छ । दुवै कम्पनीले यो परिवर्तनले काम गर्न सजिलो हुने, निश्चितता दिने र एआईको फाइदा धेरै मानिससम्म पुर्‍याउने बताएका छन् ।