कीवर्डहरू -

लोकेसन म्यापिङसँगै प्रडक्ट खरिद, बिक्री गर्न सकिने एप ‘कहाँ’

लोकेसन म्यापिङसँगै प्रडक्ट खरिद, बिक्री गर्न सकिने एप ‘कहाँ’

पछिल्लो समय प्रविधिले हरेक काममा सहज बनाइरहेको छ । कतै नयाँ ठाउँ जानुपर्‍यो भने अहिले हामी मोबाइलमा प्रायले गूगल म्याप खोल्छौं । 

तर गूगल म्यापबाट नेपालका भित्रभित्रको गल्ली गल्लीमा जान कठिन हुन्छ । यसकै समाधान स्वरूप करिब ३ वर्ष अघिदेखि मेसो भिजन टेक्नोलोजीले कहाँ एप निर्माण काम गरिरहेको छ । 

करिब ३ वर्ष अगाडि निर्माण भएको कहाँ एपबाट सहजै नेपालका गल्ली गल्लीमा जान सकिने कम्पनीका सिईओ नारायण बहादुर क्षेत्रीले बताए । ‘३ वर्ष अगाडि नेपालकै म्यापिङ एपको रूपमा कहाँ एप विकास गर्न सुरू गरेका हौं । यसले ठेगानालाई डिजिटाइज गर्छ,’ उनले आइसिटी सामाचारसँग भने, ‘कहाँ एपमा घर, कार्यालय, व्यवसाय, संस्था र सम्पदाहरू सबैको लोकेसन राख्न सकिन्छ ।’

कहाँ एपबाट कुनै ठाउँमा जान र आफ्नो लोकेसन अरूलाई शेयर गर्न सकिन्छ । यस बाहेक विभिन्न संस्थाहरूले आफ्नो स्थान समेत कहाँ एपमा राख्न सक्ने छन् । प्रोफाइलिङमा तस्बिर, सम्पर्क विवरण, म्यासेज र सूचना बोर्ड राख्न सकिने छ ।     

कहाँ एपबाट आफुले चाहेको स्थानमा ठ्याक्कै पुग्न सकिने उनको दावी छ । उनी अगाडि भन्छन्, ‘एपबाट कहाँ जानुपर्ने हो ? त्यसको नजिक के छ ? कहाँबाट पुग्न सकिन्छ ? त्यहाँको लोकेशन सर्बै हेर्न सकिन्छ ।’

कहाँबाट सजिलैसँग धार्मिक तथा सांस्कृतिक सम्पदाको बारेमा पढ्न र सुन्न सकिने सुविधा समेत छ । कहाँ एपमा व्यक्तिगत ठेगाना र आफ्नो व्यवसायलाई सूचीकृत गराउन सकिन्छ । आफ्नो व्यवसाय सूचीकृत गरेपछि यसमा व्यवसायको ठेगाना, तस्बिर, उत्पादनहरूलाई व्यक्ति स्वयंले एपमा राख्न सक्छन् । व्यक्तिगत प्रयोगकर्ताहरूलाई ठेगानाका लागि स्थायी ट्यागहरू दिइन्छ र यो निजी हुने उनले जानकारी दिए ।

एपमा सन्देश आदान प्रदानको सुविधा समेत छ, जसबाट एपमा जोडिएका व्यक्तिहरुसँग कुरा गर्न मिल्छ । यसबाट आफ्नो समुदायमा भएका असामान्य घटनाहरू जस्तै दुर्घटनाको स्थान, चोरी, आगलागी लगायतका, खतरनाक गतिविधिहरू  रिपोर्ट गर्न यस एपलाई प्रयोग गर्न सकिने क्षेत्री बताउँछन् । 

‘कहाँ एपबाट आफू नजिकै रहेको ठाउँमा रहेको वस्तु तथा सेवाको जानकारी समेत पाउन सकिन्छ,’ उनले भने, ‘कहाँ एपले प्रदान गर्ने ट्यागहरूमार्फत नजिकका, पसल, ग्याँस डिपो, बालुवा डिपो, ब्युटीपार्लर लगायतका स्थानहरु खोज्न सजिलैसँग सकिन्छ । यसका साथै यस एपमा होटेल, रिसोर्ट, गेस्टहाउस, विद्यालय, कलेज, र शैक्षिक सेवाजस्ता स्थायी ट्यागहरू राखिएको छ ।’
कहाँ एप नेपाली, अंग्रेजी, चाइनिज लगायतका भाषामा प्रयोग गर्न सकिन्छ । यी बाहेक पनि अन्य भाषामा सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।  

पढ्न नसक्ने व्यक्तिले सुनेर पनि एप प्रयोग गर्न सक्छन् । लेख्न नसक्नेले बोलेर समेत सेवा लिन सक्छन् । त्यहाँबाट एम्बुलेन्स, दमकल, नजिकै रहेको प्रहरीलाई समेत एप मार्फत खबर गर्न सकिन्छ । 

कहाँबाट च्याट गरेर आफुलाई आवश्यक पर्ने सामान घरमा समेत मगाउन सकिने उनी बताउँछन् । कहाँ एपमा डिजिटल प्रडक्ट राख्न सकिने सुविधा समेत हुनेछ, जसबाट सजिलै घरमै सामान मगाउन सकिने छ । 

यसका साथै कहाँले धार्मिक तथा सास्कृतिक सम्पदामा क्युआर कोड पनि राखेको छ, जुन क्युआर स्क्यान गरेर त्यसको बारेमा विस्तृत जानकारी लिन सकिन्छ । कहाँ एप अहिलेसम्म आधिकारिक रूपमा सार्वजनिक भएको छैन् । नयाँ फिचरहरू थप गर्दै छिट्टै कहाँ एपलाई औपचारिक रूपमा सार्वजनिक गर्ने कम्पनीको योजना छ ।