कीवर्डहरू -

पब्जी खेल्नका लागि साथी पाउनु भएन ? अब एआईलाई बनाउन सकिने छ आफ्नो टिममेट

पब्जी खेल्नका लागि साथी पाउनु भएन ? अब एआईलाई बनाउन सकिने छ आफ्नो टिममेट

पब्जी गेम विकासकर्ता क्राफ्टनले आफ्नो कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल को-प्लेएबल क्यारेक्टर (सीपीसी) सार्वजनिक गरेको छ । प्रविधि कम्पनी एनभिडियासँगको सहकार्यमा यो प्रविधि तयार पारिएको हो । 

बुधबार सीईएस २०२५ मा को-प्लेएबल क्यारेक्टरलाई सार्वजनिक गरिएको थियो । क्राफ्टनले पब्जीः ब्याटलग्रागण्ड्सको लागि को-प्लेएबल क्यारेक्टरलाई एनभिडिया एसको नाममा प्रस्तुत गरेको छ । 

यस प्रविधिले गेम पात्रहरूलाई ‘मानव खेलाडीझैं बुझ्ने, योजना बनाउने र कार्य गर्ने’ क्षमतासहितको जनरेटिभ एआई प्रयोग गर्न सक्षम बनाउने बताइएको छ । 

क्राफ्टनको डीप लर्निङ डिभिजनका प्रमुख ली काङ-वुकले कार्यक्रममा सीपीसीलाई गेमिङका लागि उपकरणमा आधारित सानो भाषा मोडेलद्वारा सक्षम गरिएको एक क्रान्तिकारी चरित्र अवधारणा भएको बताएका थिए । 

यससँगै प्लेयरहरूले अब पब्जी एलाईसँग ब्याटल रोयल खेल्न सक्ने छन् । अब तपाईले एआई टिममेटसँग पब्जी खेल्न सक्नुहुनेछ । 

यसले खेल-विशेष शब्दावली प्रयोग गर्दै संवाद गर्ने, वास्तविक-समय रणनीतिक सल्लाह दिने, लुट खोज्न र बाँड्न, सवारी चलाउन, र खेलभित्र उपलब्ध हतियारहरूको ठूलो भण्डार प्रयोग गरी अन्य मानव खेलाडीहरूसँग लड्न सक्ने एनभीडीयाले जनाएको छ ।

तर यो प्रविधि घोषणा भएपनि पब्जीमा कहिलेसम्म आउँछ भन्ने केही खुलाइएको छैन् ।