कीवर्डहरू -

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । 

उनी यसअघि नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको रूपमा काम गरिरहेकी थिइन् । तत्कालीन सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित समितिले प्रबन्ध निर्देशकका लागि संगीता पहाडी अर्याल, अनिल झा र विमल आचार्यको नाम सिफारिस गरेको थियो । 

त्यसपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त प्रस्ताव मन्त्रीपरिषद्मा लगेका थिए । ३ जना मध्येबाट मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । 

नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. अध्ययन गरेकी छन् ।

२०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी उनले २०५१ फाल्गुण १० गते स्थायी नियुक्ति लिएकी थिइन ।