कीवर्डहरू -

तीनजना डाक्टरले सुरू गरेको ‘डक्टर्स अन कल’, जसले दिन्छ घरमै स्वास्थ्य सेवा

तीनजना डाक्टरले सुरू गरेको ‘डक्टर्स अन कल’, जसले दिन्छ घरमै स्वास्थ्य सेवा

५-६ वर्ष अगाडि नेपालमा सूचना प्रविधिको चर्चा खासै हुँदैन्थ्यो । अहिलेको जस्तो इन्टरनेट सुविधा पनि थिएन । प्रविधि बारे साक्षरता पनि कमै थियो । त्यो बेला ‘घरमै स्वास्थ्य सेवा’ असम्भव जस्तै लाग्थ्यो ।

तर निरन्तर मिहिनेत गरे के असम्भव छ र ? हामीलाई असम्भव लाग्ने कुरा पाल्पाका डा. सुयश कार्की, चितवनका डा. सुमन न्यौपाने र सुर्खेतका डा. मोहन भण्डारीले सम्भव बनाए ।

कुरा, सन् २०१७ तिरको हो । कार्की, न्यौपाने र भण्डारी एमबीबीएस अध्ययन पुरा गरेर काठमाडौंको हिमाल अस्पतालमा काम गरिरहेका थिए । विरामीलाई चेकजाँच गर्दै र परामर्श दिदै दिनहरू बित्दै थिए । विरामीको उपचारमा रमाइरहेका थिए । उपचारमा आउने विरामीले घरमै आएर सेवा दिन बारम्बार आग्रह गर्न थाले ।

भर्खर एमबीबीएस सकेर प्रयाक्टिसमा लागेका तीनै जना युवासँग नयाँ जोस, उर्जा र केही फरक गर्ने उत्साह थियो । त्यही जोस, उर्जा र उत्साहसहित सुरू भयो होम हेल्थ केयर कम्पनी ‘डक्टर्स अन कल’ । सुरू त भयो तर अगाडिका यात्रामा चुनौतीका चाङ थिए ।

तीनजना युवा हार नमानी निरन्तर मिहिनेत गरिरहे । त्यसैको प्रतिफल आज डक्टर्स अन कलले ५ वर्षे यात्रा तय गरिसकेको छ । डक्टर्स अन कल नेपालको पहिलो आईएसओ सर्टिफाइड हेल्थ एट होम केयर संस्था हो ।

अस्पताल जान नसकेको विरामीलाई २४ सै घन्टा स्वास्थ्य सुविधा दिने उद्देश्यसहित डक्टर्स अन कल सुरू भएको कम्पनीका सह-संस्थापक तथा सीईओ डा. सुयश कार्कीले बताए ।

‘अस्पतालमा काम गर्दै गर्दा उपचारमा आउने विरामीले घरमा समेत सेवा दिन अनुरोध गर्नुहुन्थ्यो । तर कुनै अर्को संस्थामा आवद्ध भएपछि घरमै सेवा दिन नैतिकताले दिदैथ्यो,’ डा. कार्कीले आइसिटी समाचारसँग भने, ‘विरामीको बारम्बार आग्रह आउन थालेपछि केही गर्नुपर्छ भन्ने लाग्यो । यस्तो खालको संस्थाको आवश्यकता पनि बढ्दै गएको थियो । त्यसपछि डक्टर्स अन कल नेपाल सुरू भएको हो ।’

\"\"

अहिलेको स्थानसम्म सोचेर डक्टर्स अन कल सुरू भएकै थिएन् । जेष्ठ नागरिकलाई लक्षित गरेर सुरू गरिएको डक्टर्स अन कलले हाल बच्चादेखि वृद्धसम्मलाई स्वास्थ्य सेवा दिदै आएको छ ।

कम्पनीले विशेषज्ञ, मानिसक स्वास्थ्य, पोषण सम्बन्धि परामर्श, नर्सिङ, ल्याब, फिजियोथेरापी लगायतका सेवा दिदै आएको छ । यति मात्रै होइन, आवश्यकता अनुसार मेडिकल सामग्री भाडामा दिने र उक्त सामान बिक्री समेत गर्दै आएको छ ।

डक्टर्स अन कलको वेबसाइट, मोबाइल एप र सामाजिक सञ्जालबाट घरमै स्वास्थ्यकर्मी बोलाउन र विज्ञ डाक्टरसँग परामर्श लिन सकिन्छ । परीक्षणका लागि घरमै नमुना लिन बोलाउन सकिन्छ । त्यसपछि विरामीले परीक्षण रिपोर्ट आफ्नो मोबाइलमै पाउन सक्छन् ।

अहिलेसम्मको यात्रामा डक्टर्स अन कलले हजारौं नेपालीको अनुहारमा खुसी ल्याइसकेको छ । उनीहरूलाई नयाँ जीवन दिएको छ । विरामीको उपचार गरेर फर्किदा उनीहरूको मुहारमा झल्किने खुसीले आनन्द महशुस हुने कार्की बताउँछन् ।

तीन जनाबाट सुरू भएको डक्टर्स अन कलको परिवार अहिले ठूलो भइसकेको छ । कम्पनीमा डाइरेक्टरको रूपमा युवा उद्यमी सुवास सापकोटाको प्रवेश भएको छ ।

डक्टर्स अन कलसँग २० बढी अस्पताल, ५ बढी ल्याब आवद्ध छन् । कम्पनीमा १०० भन्दा बढीले रोजगारी पाएका छन, जसमा ९० प्रतिशत बढी नर्स छन् । डक्टर्स अन कललाई ठूलो बनाउन सल्लाहकारहरूको पनि भूमिका महत्वपूर्ण छ ।

सुरू सुरूमा डक्टर्स अन कललाई अस्पतालको प्रतिस्पर्धीको रूपमा हेरिन्थ्यो । विरामी अस्पताल नआउने हुन् की भन्ने अस्पताललाई भ्रम थियो । तर अहिले अवस्था फेरिएको छ । अहिले डक्टर्स अन कललाई प्रतिस्पर्धीको रूपमा नभएर अस्पतालले साझेदारको रूपमा हेर्न थालेका छन् ।

विशेष गरी अस्पताल पश्चात घरमा गर्नुपर्ने केयरको काम डक्टर्स अन कलले गर्ने हुँदा पछिल्लो समय अस्पतालले प्रतिस्पर्धीभन्दा पनि सहयोगीको रूपमा बुझ्न थालेको कार्कीले बताए ।

‘हामी अस्पताल पछि घरमा गर्नुपर्ने सबै केयरको काम गर्छौं । त्यसले संक्रमण कम हुन्छ । थप केही समस्या देखिए अस्पताल पठाउँछौं,’ उनी भन्छन्, ‘मिडियटर भएर काम गरिरहेका छौं । अस्पतालले पनि पछिल्लो समय प्रतिस्पर्धीभन्दा पनि सहयोगीको रूपमा बुझ्न थाल्नु भएको छ ।’

\"\"

डक्टर्स अन कलले आपतकालिन अवस्थामा विरामीलाई चाँडोभन्दा चाँडो अस्पताल जान सुझाव दिदै आएको छ । कोरोना महामारी पछि नेपालमा डिजिटल ‘बुम’ सुरू भएको छ । हरेक क्षेत्रमा प्रविधिको प्रयोग हुन थालेको छ ।

डिजिटल बुमको असर स्वास्थ्य क्षेत्रमा पनि देखिएको छ । महामारी अघि अनलाइनबाटै स्वास्थ्य सेवा दिने प्लेटफर्म खासै थिएनन् । तर कोरोना महामारीपछि बजारमा थुप्रै डक्टर्स अन कल जस्ता प्लेटफर्म देख्न सकिन्छ ।

कोरोना महामारीमा यस्ता प्लेटफर्म निकै उपयोगी समेत भएका थिए । अनलाइनबाटै स्वास्थ्य सेवा दिन प्लेटफर्म आउनु राम्रो भएको कार्की सुनाउँछन् ।

‘अनलाइन स्वास्थ्य सेवा दिने कम्पनी बढ्दै गएका छन् । यो राम्रो कुरा हो,’ उनी भन्छन्,  ‘यसले अननतः विरामीहरूलाई नै फाइदा पुग्छ ।’

अहिले पनि घरमै स्वास्थ्य सेवा लिन पाइन्छ भन्ने कुरा धेरैले विश्वास गर्दैनन् । यस्तो पनि हुन्छ र भन्दै अच्चम मान्छन् । त्यसकारण अनलाइन स्वास्थ्य जनचेतनाको सचेत जरूरी भइसकेको छ । डक्टर्स अन कलले पनि विभिन्न जनचेतनाका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

कम्पनीले अहिलेसम्म हजारौं विरामीलाई सेवा प्रदान गरिसकेको छ । हजारौं व्यक्तिको डेटा कम्पनीसँग छ । विरामीको डेटा सुरक्षित साथ राखिएको उनले जानकारी दिए ।

‘विरामीको डेटा सुरक्षित छ । डक्टर्स अन कल आफैमा आईएसओ सर्टिफाइड होम हेल्थ केयर संस्था हो,’ उनी भन्छन्, ‘आईएसओ सर्टिफाइडले पनि हामी सुरक्षित छौं भन्ने प्रमाणित गरिसकेको छ ।’

हाल काठमाडौं उपत्यकामा मात्रै उपलब्ध रहेको डक्टर्स अन कलको सेवा देशका अन्य शहरमा समेत विस्तार गर्ने योजना कम्पनीको छ । देशभर स्वास्थ्य परामर्श दिन टेलिहेल्थ सेवा सुरू गर्ने योजना छ ।

‘देशका धेरै ठाउँमा विज्ञ डाक्टरको परामर्श सुविधा छैन्, जसले गर्दा कतिपय विरामीहरूको ज्यान गइरहेको छ,’ कार्की भन्छन्, ‘परामर्शको अभावमा कसैको पनि ज्यान नजाओस भन्ने उद्देश्य टेलिहेल्थ सुरू गर्ने योजना बनाएका हौं ।’

डक्टर्स अन कलले केही समय अगाडि नेपाल युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरले आयोजना गर्ने ‘एनवाईईएफ स्टार्टअप अवार्ड’ समेत पाएको थियो ।

निजी संस्थाले स्टार्टअपलाई प्रवर्द्धन गरिरहेको भएपनि सरकारले स्टार्टअप प्रवर्द्धनमा ध्यान नदिएको उनको गुनासो छ । सरकारले स्टार्टअपलाई सहुलियत दिए यसलाई अझै विस्तार गर्न सकिने कार्कीको विश्वास छ ।