कीवर्डहरू -

एआई मानव लोपको कारण बन्न सक्ने एआईका ‘गड फादर’ हिन्टनको चिन्ता

एआई मानव लोपको कारण बन्न सक्ने एआईका ‘गड फादर’ हिन्टनको चिन्ता

आर्टिफिसियल इन्टेलिजेन्सका 'गड फादर' भनेर चिनिने जेफ्री हिन्टनले फेरि एआईको बारेमा आफ्नो चिन्ता व्यक्त गरेका छन् । न्युयोर्क टाइम्ससँगको अन्तर्वातामा हिन्टनले एआई बारे चिन्ता व्यक्त गर्दै सरकारले आधारभूत आय निर्धारण गर्नुपर्ने बताएका हुन् । 

विश्वव्यापी आधारभूत आय निर्धारण गर्नुपर्ने उनको भनाइ छ । यसको मतलब सरकारले आफ्नो स्रोतसाधनको वास्ता नगरी प्रत्येक व्यक्तिलाई निश्चित आधारभूत तलब दिनुपर्नेछ । 

आगामी ५ देखि २० वर्ष भित्रमा मानिसले एआईले सिर्जना गरेको विभिन्न समस्याहरु भोग्नुपर्ने उनको आशंका छ । हिन्टनका अनुसार एआईले मानिसका लागि ‘विलुप्त हुने खतरा’ निम्त्याउन सक्छ किनभने एआई जैविक बुद्धिमत्ताभन्दा धेरै उत्कृष्ट बौद्धिकतामा विकास हुँदै आएको छ । यो निकै चिन्ताजनक रहेको उनको भनाइ छ ।

यसअघि हिन्टनले एआई च्याटबटको खतरा पनि डरलाग्दो रहेको बताएका थिए । उनका अनुसार आगामी दिनमा च्याटबट मानिसभन्दा धेरै बौद्धिक साबित हुनेछ । यति मात्र होइन, यी च्याटबटहरू गलत उद्देश्यका लागि प्रयोग हुने सम्भावना पनि रहेको छ ।

जेफ्री हिन्टनले गत वर्ष गुगल इकाईमा काम गर्दै गर्दा एआईको बारेमा आफ्नो बयानका कारण चर्चामा आएका थिए । हिन्टनले भनेका थिए, ‘एआईबाट उत्पादकता र पैसा बढ्छ, तर यो पैसा धनी मानिसहरूमै जान्छ, जसले गर्दा धनी झन धनी र गरिब भने गरिबनै रहन्छन् । यसका साथसाथै एआईका कारण मानिसहरुको रोजगारी गुम्ने छ र यो समाजका लागि निकै नराम्रो साबित हुनेछ ।’