काठमाडौं । नेपाली विद्युतीय सवारी बजारमा स्वदेशी ब्रान्डको नयाँ उत्पादन थपिने भएको छ । यात्री मोटरसाइकल्सले विकास गरेको नयाँ विद्युतीय स्कुटर ‘यात्री पी-टु’ आगामी ९ भदौदेखि काठमाडौंमा आयोजना हुने नाडा अटो शोमा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
यात्री मोटरसाइकल्सले सामाजिक सञ्जालमा सार्वजनिक गरेको जानकारीअनुसार पी-टुलाई नेपालको सडक अवस्था र भौगोलिक परिवेशलाई ध्यानमा राखेर विकास गरिएको हो । कम्पनीले नेपाली प्रयोगकर्ताको आवश्यकतालाई केन्द्रमा राख्दै स्कुटर तयार पारिएको जनाएको छ ।
पी-टुको विकासमा सिप्रदी ट्रेडिङ र यात्री मोटरसाइकल्सबीचको संयुक्त लगानी रहेको छ । यो परियोजनामा सिप्रदी ट्रेडिङले प्रमुख लगानीकर्ताका रूपमा भूमिका निर्वाह गरिरहेको छ भने उत्पादनको बजार अध्ययनदेखि अनुसन्धान, डिजाइन तथा प्राविधिक विकाससम्मको जिम्मेवारी यात्री मोटरसाइकल्सले सम्हालेको छ ।
विद्युतीय मोटरसाइकलमार्फत नेपाली दुईपांग्रे बजारमा आफ्नो उपस्थिति स्थापित गरिसकेको यात्रीका लागि पी-टु स्कुटर सेग्मेन्टमा प्रवेश गर्ने महत्वपूर्ण उत्पादनका रूपमा हेरिएको छ । अर्कोतर्फ, सिप्रदी ट्रेडिङ नेपालको अटोमोबाइल क्षेत्रमा लामो समयदेखि स्थापित कम्पनी हो ।
स्वदेशी प्रविधि र लगानीमा तयार हुन लागेको पी-टुले नेपालमा बिक्री भइरहेका विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका विद्युतीय स्कुटरसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ । विशेष गरी नेपाली सडक र प्रयोगकर्ताको आवश्यकतालाई लक्षित गरिएको दाबीका कारण यो नयाँ उत्पादनप्रति बजारमा चासो बढेको छ ।
यद्यपि, पी-टुको बजार मूल्य, ब्याट्री क्षमता, मोटर पावर, रेन्ज, चार्जिङ समय तथा अन्य प्राविधिक विशेषता भने कम्पनीले हालसम्म सार्वजनिक गरेको छैन । नाडा अटो शोमा पी-टुको सार्वजनिक प्रदर्शनसँगै यसको मूल्य र विशेषताबारे थप जानकारी स्पष्ट हुनेछ ।
आईसीटी समाचार