कीवर्डहरू -

विद्युतीय गाडीको प्रयोग बढ्दै, ३ महिनामा नेपाल भित्रिए ५ अर्ब बढीका गाडी

विद्युतीय गाडीको प्रयोग बढ्दै, ३ महिनामा नेपाल भित्रिए ५ अर्ब बढीका गाडी

पछिल्लो समय विद्युतीय गाडीको प्रयोग बढेसँगै आयात पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा मात्र २१ सयभन्दा बढी विद्युतीय गाडी (ईभी) नेपाल आयात भएका छन् । 

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोजसम्म २ हजार १३५ विद्युतीय जीप, कार र भ्यान आयात भएका हुन् ।

३ महिनामा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका ईभी नेपाल आयात भएका छन् । चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा ५० किलोवाटसम्मका ९५४, १०० किलोवाटसम्मका १ हजार १६६, २०० किलोवाटसम्मका १२ र त्यसभन्दा माथिका ३ ईभी आयात भएका हुन् । 

५ अर्ब १७ करोड ७१ लाख रुपैयाँ बराबरका आयात भएका यी ईभीबाट सरकारलाई २ अर्ब २४ करोड २१ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ । 

गत वर्षको यसै अवधिमा २ अर्ब रुपैयाँ बराबरका ७०५ ईभी नेपाल आयात भएको थियो । त्यसबाट सरकारले करिब ६२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा नेपाल भित्रिएका इभीको संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो संख्या बढि हो ।