कीवर्डहरू -

आइसिटी अवार्डका जुरी संयोजक सुशील पोखरेल इन्टरनेशनल हाइड्रोपावर एसोसिएसनको उपाध्यक्ष निर्वाचित

आइसिटी अवार्डका जुरी संयोजक सुशील पोखरेल इन्टरनेशनल हाइड्रोपावर एसोसिएसनको उपाध्यक्ष निर्वाचित

बिजबेलका संस्थापक, आइसिटी अवार्डका जुरी तथा युवा जलविद्युत् उद्यमी सुशील पोखरेल सन् २०२३–२५ का लागि इन्टरनेशनल हाइड्रोपावर एसोसिएसन (आइएचए) को उपाध्यक्षमा निर्वाचित भएका छन् । विकासोन्मुख यात्रामा अगाडि बढेको देशका लागि विश्व जलविद्युत् मञ्चमा नेपालको यो गौरवपूर्ण उपलब्धि हो ।

कात्तिक १४ देखि १६ गतेसम्म इन्डोनेसियाको बालीमा आयोजना भएको ‘अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन, २०२३’ को क्रममा पोखरेल उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको थियो । दूरदर्शी नेतृत्व क्षमता, जलविद्युत् तथा स्वच्छ ऊर्जा विकासमा उनको निरन्तरको लगावका कारण पनि उनलाई उपाध्यक्षमा निर्वाचित गरिएको बताइएको थियो । उनले एसिया तथा मध्य एसियाका २८ देशलाई नेतृत्व गर्ने छन् ।

विश्व जलविद्युत् मञ्चमा भएको यो उपस्थितिले दिगो स्वच्छ तथा नवीकरणीय ऊर्जा विकासमा कटिबद्ध भएर लाग्ने उनको अभियानलाई त प्रोत्साहन मिलेको छ नै यससँगै नेपालको गरिमालाई समेत उचाइमा पु¥याएको छ ।

 पोखरेलले लामो समयदेखि हरित ऊर्जा र दिगो जलविद्युत् विकासको नीतिगत तहमा बहस तथा पैरवी गर्दै आएका छन् ।

उपाध्यक्षमा नियुक्त भएसँगै पोखरेलले नेपालको जलविद्युत् क्षेत्रलाई विश्वको लगानीयुक्त गन्तव्य बनाउने अभियानलाई आफूले अझ प्रबलरूपमा अगाडि बढाउने बताए । ‘दिगो जलविद्युत् मापनको मापदण्डका आधारमा नेपालका जलविद्युत् आयोजनाहरू प्रमाणीकरण भएका छन्,’ उनले खुसी व्यक्त गरे, ‘यसले हामीलाई हरित ऊर्जा विकासमार्फत दिगो भविष्यको आधार निर्माण गर्न पर्याप्त अवसरहरू प्रदान गरेको छ ।’

दिगो जलविद्युत विकासमा अविराम खटिइरहेका पोखरेलले सन् २०३५ सम्म १००० मेगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने एउटा अग्रगामी अभियान लिएर हिँडेका छन् । आज उनले बिजबेल कम्पनी मार्फत मध्य तथा दक्षिण एसियामा हरित ऊर्जा मार्फत दिगो भविष्य निर्माण गर्ने अभियानमा आफ्नो गर्विलो पहिचान बनाउँदै अगाडि बढेका छन् ।

३ दिनसम्म भएको सम्मेलनमा विभिन्न देशका ९०० भन्दा बढी नीति निर्माता, बुद्धिजीवी, कुटनीतिज्ञ तथा जलविद्युत् क्षेत्रमा दशकौंदेखि काम गरिरहेका कम्पनीहरूका प्रतिनिधिहरूको सहभागिता थियो । सम्मेलन समापनको दिन जारी ‘बाली घोषणापत्रले स्वच्छ तथा नवीकरणीय ऊर्जामार्फत न्यून कार्बनयुक्त अर्थतन्त्र एवम् एकीकृत जलविद्युत् विकास गर्नुपर्नेमा जोड दिएको छ ।

आइएचएको वर्ष २०२३–२५ को अध्यक्षको नेतृत्व अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री माल्कोल्म टर्नबुलले गर्ने छन् ।