काठमाडौं । बदलिँदो सञ्चार क्षेत्रका लागि विद्यार्थी तथा सञ्चारकर्मीलाई आवश्यक सीप प्रदान गर्ने उद्देश्यले टिकटकले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभाग (CDJMC) सँगको सहकार्यमा पत्रकारिता तथा डिजिटल स्टोरीटेलिङसम्बन्धी दुई दिने मास्टरक्लास आयोजना गरेको छ ।
‘टिकटक मास्टरक्लास अन जर्नालिज्म एन्ड डिजिटल स्टोरीटेलिङ’ नामक कार्यक्रममा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी, प्राध्यापक, पत्रकार, डिजिटल कन्टेन्ट क्रिएटर र सञ्चार क्षेत्रका विज्ञहरूको सहभागिता थियो ।
कार्यक्रममा डिजिटल प्लेटफर्मको प्रभाव, पत्रकारितामा नयाँ प्रविधिको प्रयोग तथा जिम्मेवार सामाग्री निर्माणका विषयमा प्रशिक्षण, छलफल र अनुभव आदानप्रदान गरिएको थियो । मास्टरक्लासमा टिकटक, सञ्चार क्षेत्र र क्रिएटर समुदायका विज्ञहरूले विभिन्न अन्तरक्रियात्मक सत्र सञ्चालन गरेका थिए ।
टिकटकका विज्ञहरूले पत्रकारितासम्बन्धी सामाग्री निर्माण, डिजिटल सुरक्षा र जिम्मेवार स्टोरीटेलिङबारे प्रशिक्षण दिएका थिए । त्यस्तै, पत्रकार तथा डिजिटल स्टोरीटेलरहरूले आफ्नो व्यावहारिक अनुभव साझा गर्दै डिजिटल माध्यममा विश्वसनीय सामाग्री प्रस्तुत गर्ने तरिकाबारे जानकारी दिएका थिए ।
कार्यक्रमले तीव्र गतिमा परिवर्तन भइरहेको सञ्चार क्षेत्रमा तथ्यको विश्वसनीयता कायम राख्दै प्रभावकारी सामाग्री निर्माण गर्न आवश्यक सीप र दृष्टिकोण विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले डिजिटल युगमा सूचना सिर्जना गर्ने र त्यससँग जोडिने मानिसहरूको तरिका परिवर्तन भइरहेकाले पत्रकारिता शिक्षामा पनि समयानुकूल परिवर्तन आवश्यक रहेको बताए ।
उनले यस्ता कार्यक्रमले विद्यार्थीलाई बदलिँदो सञ्चार क्षेत्र बुझ्न र त्यसअनुसार आफूलाई तयार पार्न सहयोग गर्ने उल्लेख गरे । पत्रकारिता विषयका धेरै विद्यार्थी अहिले नै सञ्चार क्षेत्रमा कार्यरत रहेकाले उनीहरूसँग अनुभव र विज्ञता साझा गर्ने पहल गरेकोमा उनले टिकटकलाई धन्यवाद दिए ।
मध्यपूर्व, अफ्रिका, दक्षिण तथा मध्य एसिया र पूर्वी युरोप क्षेत्र हेर्ने टिकटककी सञ्चार प्रमुख रोला अबु हसनले मानिसहरू नयाँ विचार पत्ता लगाउन, आफ्नो वरपरको संसारबारे जानकारी लिन र अर्थपूर्ण कथासँग जोडिन टिकटकमा आउने गरेको बताइन् ।
उनका अनुसार मास्टरक्लासको उद्देश्य इच्छुक तथा कार्यरत पत्रकारलाई सिर्जनात्मक र जिम्मेवार ढंगले आकर्षक डिजिटल सामाग्री निर्माण गर्न आवश्यक सीप प्रदान गर्नु हो । साथै, पत्रकारिताका आधारभूत सिद्धान्त सटीकता, प्रमाणीकरण, जवाफदेहिता र जनहितलाई केन्द्रमा राखेर डिजिटल सामाग्री सिर्जना गर्न सहभागीलाई सक्षम बनाउनु पनि कार्यक्रमको लक्ष्य रहेको उनले बताइन् ।
न्युजरुमदेखि न्युजफिडसम्मको परिवर्तनबारे छलफल
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा आयोजित प्यानल छलफलमा टिकटकका गभर्नमेन्ट रिलेसन्स एन्ड पब्लिक पोलिसी प्रतिनिधि किरण चापागाईं, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागका डा. श्रीराम पौडेल, बाह्रखरीका प्रधानसम्पादक प्रतीक प्रधान र कन्टेन्ट क्रिएटर रोनीष्मा श्रेष्ठ सहभागी थिए ।
छलफलमा परम्परागत न्युजरुमदेखि डिजिटल न्युजफिडसम्म विकसित भइरहेको सञ्चार अभ्यास, पत्रकारितामा करियरका अवसर, सामाग्रीको विश्वसनीयता, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग र नेपालमा पत्रकारिताको बदलिँदो भूमिकालगायतका विषयमा विचार आदानप्रदान गरिएको थियो ।
मास्टरक्लासका विभिन्न सत्रमा न्युजरुम भ्रमण तथा डिजिटल स्टोरीटेलिङ प्लेटफर्मका रूपमा टिकटकको प्रयोगबारे व्यावहारिक जानकारीसमेत दिइएको थियो । पत्रकारितासम्बन्धी सामग्री निर्माण, समुदायमा आधारित कथा प्रस्तुत गर्ने तरिका र पत्रकारका लागि डिजिटल माध्यममा उपलब्ध अवसरबारे पनि छलफल गरिएको थियो ।
यसका अतिरिक्त टिकटकका कम्युनिटी गाइडलाइन्स, गलत सूचना पहिचान तथा नियन्त्रण, एआईबाट सिर्जित सामग्रीको प्रयोग र डिजिटल नागरिकताजस्ता विषयलाई पनि प्रशिक्षणमा प्राथमिकता दिइएको थियो । सहभागीलाई डिजिटल प्लेटफर्ममा सुरक्षित र जिम्मेवार रूपमा सामाग्री निर्माण तथा प्रसारण गर्न आवश्यक अभ्यासबारे जानकारी गराइएको थियो ।
डिजिटल माध्यमको बढ्दो प्रयोगसँगै पत्रकारिता र समाचार उपभोग गर्ने शैली परिवर्तन भइरहेका बेला आयोजित यस मास्टरक्लासले विद्यार्थी, पत्रकार र कन्टेन्ट क्रिएटरलाई नयाँ प्रविधिसँग अभ्यस्त हुँदै पत्रकारिताका आधारभूत मूल्य र मान्यताको पालना गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार