कीवर्डहरू -

यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन

यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन

आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन (विद्यार्थीले तयार पारेका आईडिया) छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कृष्ट १२ राइजिङ स्टार इन्नोभेसनबाट उत्कृष्ट ५ घोषणा गरिएको हो । 

अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन छनोट गरी अहिले सर्वोत्कृष्टका लागि पब्लिक भोटिङ सञ्चालन भइरहेको छ ।
आफुलाई मन परेको उत्कष्ट ५ राइजिङ स्टार इन्नोभेसन मध्येबाट एउटालाई हाम्रो पात्रो भित्र रहेको हाम्रो पे सेक्सनमा गएर भोटिङ गर्न सकिने छ ।

राइजिङ स्टटार इन्नोभेसन आइसिटी अवार्ड उच्च शिक्षा तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि लक्षित अवार्ड हो । कलेजमा पढ्दै गरेका विद्यार्थीले बनाएका परियोजनालाई प्रोत्साहन र प्रवर्द्धन गर्न राइजिङ स्टार इन्नोभेसन अवार्ड प्रदान गरिन्छ ।

यस विधामा विद्यार्थीहरूले बनाएका आईटी प्रोजेक्ट तथा आईडियालाई नोमिनेशनको लागि समावेश गरिएको थियो । यस वर्षको आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ विद्यार्थीका आईडिया यस प्रकार छन् । 

बाली विज्ञान 

सनवे कलेजका विद्यार्थीले तयार पारेको बाली विज्ञान बालीहरूको रोग पत्ता लगाउन सहयोग गर्ने एप हो । एपबाट बोट विरूवाको फोटो खिचेर पठाएपछि त्यसमा लागेको रोग र निदानको उपाय बताउने गर्दछ । यसका लागि यसमा एआई र मेसिन लर्निङ प्रविधि प्रयोग गरिएको छ । 

डाक्टर फिश

काठमाडौं विश्वविद्यालयका विद्यार्थीले बनाएको डाक्टर फिश, अक्वाकल्चरका लागि विकास गरिएको आईओटीमा आधारित एआई मोनिटरिङ सिस्टम हो । माछा पालन गरेको ठाउँको पानीको तापक्रम, अक्सिजन, पिएच स्तर, नाइट्रोजन र टर्बिडिटी दैनिक अनुगमन गर्छ, जसले आहार तालिका बनाउन, माछाको वृद्धि दर अनुमान गर्न र स्वास्थ्य समस्या पत्ता लगाउन सहयोग पुर्याउँछ । डाक्टर फिशले माछा फार्ममा हानिकारक एल्गी ब्लूम र माछाको रोगहरूको प्रभावलाई कम गर्न किसानहरूलाई सक्रिय उपायहरू लिन सघाउँछ । फोटो खिचेर सिस्टममा राखेपछि यसले माछाहरूमा लागेको रोग समेत पत्ता लगाउने सहयोग गर्नेछ ।

हाइपर्स 

ई-कमर्स सोलुसन प्रदान गर्ने प्लेटफर्म हो, हाइपर्स ।  हाइपर्सले एफोर्डेबल, कस्टोमाइजेबल र स्केलेबल ई–कमर्स सेवा प्रदान गर्दै आएको छ । यसले हेडलेस कमर्स अवधारणामा काम गर्छ, जसले फ्रन्टएण्ड र ब्याकएण्डलाई छुट्याउँदै कोर सिस्टममा कुनै पनि परिवर्तन नगरी व्यवसायलाई छिटो र सहज अपडेटको सुविधा दिने गर्दछ ।

स्पिकअप नेपाल 

स्पिकअप नेपाल नेपालको पहिलो अनलाइन पेटिसन प्लेटफर्म हो । नेशनल कलेजका विद्यार्थीले विकास गरेको यस प्लेटफर्मबाट सानादेखि ठूलासम्मका कुनै पनि विषयमा आफ्नो आवाज उठाउन र सम्बन्धि निकाय समक्ष दबाब सिर्जना गर्न सकिन्छ । नागरिकहरूको आवाज प्रवर्द्धन गर्दै देशमा सुशासन र उत्तरदायीत्वलाई प्रोत्साहन गर्नका लागि यसको डिजाइन गरिएको हो । स्पिकअप नेपाल दैनिक रूपमा २ हजार बढीले प्रयोग गरिरहेका छन् । 

राइटअनएआई

कान्तिपुर इन्जिनियरिङ कलेजमा पढ्ने विद्यार्थीले बनाएको एआई कन्टेन्ट जेनेरेट गर्न सकिने प्लेटफर्म हो, राइटअनएआई । बिजनेस, कन्टेन्ट क्रियटर, डिजिटल मार्केटर र विद्यार्थीका लागि डिजाइन गरिएको राइटअनएआईले एकैठाउँबाट टेक्स्ट, इमेज र भ्वाइस कन्टेन्ट बनाउन सहयोग गर्दछ । यसमा एआई राइटर, च्याटबट, स्मार्ट एडिटर, कोड जेनेरेटर, एआई भिजन, फाइल च्याट, एजुकेसनल टुल लगायतका सुविधा रहेका छन् ।