कीवर्डहरू -

एमडीएमएसमा प्रकरणमा दूरसञ्चार प्राधिकरणका दुई पूर्व अध्यक्ष दोषी ठहर, कर्मचारीले पाए सफाइ

एमडीएमएसमा प्रकरणमा दूरसञ्चार प्राधिकरणका दुई पूर्व अध्यक्ष दोषी ठहर, कर्मचारीले पाए सफाइ

विशेष अदालतले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका दुई पूर्व अध्यक्षलाई दोषी ठहर गरेको छ । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा फैसला गर्दै विशेष अदालतले पूर्व अध्यक्षहरु दिगम्बर झा र पुरुषोत्तम खनाललाई दोषी ठहर गरेको हो ।

अदालतका न्यायाधिशहरु टेकनारायण कुँवर, रितेश थापा र विदूर कोइरालाको संयुक्त इजलासले दिगम्बर झा, पुरुषोत्तम खनालसहित एमडीएमएसको ठेक्का पाएका कम्पनी नूमेरा (एम) एसडीएन बर्हाद मलेसिया, नमस्ते ग्लोबल कम्युनिकेसन प्रालि सिंगापुर र ओएसआई कन्सल्टिङ प्रालि इण्डियाको ज्वाइन्ट भेन्चरलाई दोषी ठहर गरेको छ भने अन्य व्यक्तिलाई सफाइ दिएको छ । 

अदालतले प्रतिवादीहरू आनन्दराज खनाल, दिपेश आचार्य, सुरेन्द्रलाल हाडा, मीनप्रसाद अर्याल, अच्युतानन्द मिश्र, रेवतीराम पन्थ, सन्दीप अधिकारी, विनोदचन्द्र श्रेष्ठ, सूर्यप्रसाद लामिछाने, प्रतीक्षा पौडेल, विजयकुमार राय यादव र निराजन कोइरालालाई सफाइ दिएको छ ।

निज प्रतिवादीहरूलाई अदालतले नेपाल दुरसञ्चार प्राधिकरणको पदीय सोपानमा रही आफूभन्दा माथिल्लो जिम्मेवार पदाधिकारीले निर्णय गरी तोकेबमोजिमको पदीय कर्तब्य पूरा गरेको देखिएको, निज प्रतिवादीहरूले व्यक्तिगत हैसियतमा कुनै निर्णय गरेको नदेखिएको, आ-आफूलाई तोकिएको संयन्त्र र समितिमा रही निजहरूले तथ्यको विश्लेषण गरी कानून बमोजिमको टिप्पणी उठाई राय र प्रतिवेदन दिएको सम्म देखिएको, खरिद प्रक्रियामा परामर्शदाता छनौट समेतमा निजहरूको निर्णायक भूमिका रहेको नदेखिएकाले सफाइ दिएको बताएको छ । 

अख्तियारले एमडीएमएस प्रणाली खरिद गर्दा ९१ करोड ९८ लाख ३० हजार ८८२ भ्रष्टाचार भएको दाबी गरे पनि अदालतले भुक्तानी भएको रकमलाई मात्रै बिगो कायम गरी २३ करोड २० लाख ५९ हजार ३१४ मात्रै भ्रष्टाचार भएको ठहर गरेको छ ।

उक्त रकम दोषी ठहर भएका २ व्यक्ति र ३ कम्पनीबाट असुल गर्न पनि आदेश दिएको छ । झा, खनाल, निउमेरा (एम) एसडीएन.Bhd., मलेसिया, नमस्ते ग्लोबल कम प्रालि, सिंगापुर, ओएसआई डिजिटल प्रालि र इन्डिया (जेभी) दातुक मोहम्मद नुर अमिन भन्ने मोहम्मद नुर अमिन बिन मोहम्मद बिन मोहम्मद नुर खानबाट जनही ५ करोड ८० लाख १४ हजार ८२८ रुपैयाँ असुल गर्न अदातले भनेको छ । 

साथै बिगो अनुसारको जरिवानाको फैसला समेत सुनाएको छ । झा र खनाललाई एक वर्ष एक महिना र मोहम्मद नुर अमिन बिन मोहम्मद बिन मोहम्मद नुर खानलाई १ वर्ष कैदको फैसला सुनाएको छ ।