कीवर्डहरू -

नेपालमै विद्युतीय सामग्री उत्पादन गर्दै यार्सा टेक

कम्पनीको नेतृत्वदायी भूमिकामा महिला

नेपालमै विद्युतीय सामग्री उत्पादन गर्दै यार्सा टेक

हामीले वर्षौदेखि सुन्दै आएका छौं, नेपालमा सियो पनि बन्दैन । नेपालमै सम्भावना नै छैन। वर्षौदेखि यही भन्दै विदेशीनीको लर्कौ पनि उत्तिकै छ । तर देशमै सम्भावना देख्ने युवा पुस्ता पनि छन्, जसले स्वदेशमा अवसरै अवसर देख्छन् ।

देशलाई उद्यमशीलताको बाटोमा डोर्‍याइरहेका छन् । नेपालमै सम्भव छ भन्ने आशा नयाँ पुस्तालाई देखाइरहेका छन् । त्यही आशा देखाउने बाटोमा अगाडि बढेको कम्पनी हो, यार्सा टेक । नेपालमै कन्जुमर इलेक्ट्रोनिक्स म्यानुफ्याक्चरिङ (उपभोक्तालाई आवश्यक पर्ने विद्युतीय सामग्री उत्पादन) कम्पनी हो ।

अहिले नेपालमा वर्षेनी अर्बौंको विद्युतीय सामग्री आयात भइरहेको छ । त्यसले एकातिर नेपालको अर्बौं रकम बाहिरिएको छ भने बिक्रीपछिको सेवा पनि राम्रो छैन् । त्यही समस्यालाई समाधान गर्न यार्सा टेक सुरू भएको हो ।

यार्सा टेक नेपालको पहिलो इलेक्ट्रोनिक्स म्यानुफ्याक्चरिङ कम्पनी भएको यार्सा टेककी प्रमुख प्रविधि अधिकृत (सीटीओ) ईडा रिजाल बताउँछिन् ।

‘नेपालमा अहिले वर्षौं अर्बौं रकमको विद्युतीय सामग्री आयात भइरहेको छ,’ उनी भन्छिन्, ‘कन्जुमरका लागि आवश्यक पर्ने विद्युतीय सामग्री उत्पादन गर्न यार्सा टेक स्थापना भएको हो ।’

विद्युती सामग्रीप्रति आकर्षण बढेपनि विक्रीपछि  सेवा भने खासै राम्रो नभएको उनको भनाइ छ । ‘आजभोलि हामीहरू धेरै विद्युतीय सामग्री प्रति आकर्षित हुँदै गएका छौं । तर ती सबै सामानहरू विदेशबाट आउँछन् । विदेशबाट आउने सामानको आफ्टर सेल्स सर्भिस (बिक्री पछिको सेवा) राम्रो छैन ।’ उनी भन्छिन् ।

उनले ठूला मूल्यका सामानमा वारेन्टी र बिक्री पछिको सेवा राम्रो भएपनि साना-साना मूल्यका सामानमा पाउनै कठिन रहेको उनी बताउँछिन्  । बिग्रिएपछि अन्तिम विकल्प भनेको फाल्ने हो । त्यसले विद्युतीय फोहोर बढाइरहेको छ ।

यी सबै कुरा बुझेर यार्सा टेकले नेपालमै कन्जुमर इलेक्ट्रोनिक्स सामग्री उत्पादन गर्ने बाटो रोजेको उनको भनाइ छ ।गत मंसिरमा आधिकारिक रूपमा दर्ता भएको यार्सा टेकको मुख्य कार्यालय पोखरामा छ ।

कम्पनीको म्यानुफ्याक्चरिङ युनिट (उत्पासन गर्ने कारखानी) पनि पोखरामै राखिएको छ । कम्पनीको सम्पर्क कार्यालय काठमाडौंमा छ । सबै कुरा काठमाडौंमा मात्रै भएर हुँदैन काठमाडौं बाहिर पनि हुनुपर्छ भनेर पोखरामा मुख्य कार्यालय राखिएको हो ।

देश संघीयतामा गएपनि धेरै जसो कम्पनी काठमाडौंमै केन्द्रित छन् । तर यार्सा टेकले आफ्नो मुख्य कार्यालय पोखरामा राखेर सम्पर्क कार्यालय काठमाडौंमा राखेको छ । कम्पनीले विकेन्द्रकृतको आभास दिलाउन खोजेको छ ।

यार्सा टेकले अहिले मुख्यगरी २ वटा प्रडक्टमा काम गरिरहेको छ । एउटा ब्याकअप पावर सिस्टम र अर्को स्ट्रिट लाइटका लागि स्वचालित लाइट सेन्सर । पावर ब्याकअप सिस्टमको नाम ‘निजी पावर’ र स्वचालित लाइट सेन्सरको नाम ‘जुनकिरी’ दिइएको छ । आगामी अगस्ट ४ मा निजी पावर र जुनकिरी सार्वजनिक हुने उनले जानकारी दिइन् ।

निजी पावरबाट विद्युत नभएको अवस्थामा वाईफाई राउटरलाई पावर दिन वा मोबाइल चार्ज गर्न सकिने छ । ६ देखि ८ घण्टाको ब्याकअप दिन्छ । अहिले प्रि-अर्डर खुला भएको छ । कतिलाई त प्रडक्ट डेलिभर समेत भइसकेको छ ।

प्रडक्ट उपयोग गर्ने उपभोक्ताले प्रडक्ट राम्रो भएको र विदेशी तथा स्वदेशी प्रडक्टमा केही फरक नभएको प्रतिक्रिया दिएका छन् । प्रयोगकर्ताबाट पाएको उत्साहजनक प्रतिक्रियाले टिम अझै उत्साहित बनेको छ ।

नेपालमा पनि सम्भव छ है भन्ने सन्देश दिने उद्देश्यले यार्सा टेकले काम गरिरहेको रिजालको दावी छ ।  उनी भन्छिन्, ‘सुरूमा कोही न कोही अगि सर्नुपर्‍यो । त्यो प्रयास हामीले गरिरहेका छौं र नेपालमा पनि केही बन्छ है भन्ने सन्देश दिन खोजिरहेका छौं ।’

\"\"

सीटीओ, ईडा रिजाल

नेपालको सफ्टवेयर क्षेत्रमा धेरै ठूलो प्रगती भएपनि हार्डवेयरको क्षेत्रमा भने केही पनि हुन सकेको छैन । यसमा सम्भावना र चुनौती दुबै छन् । इलेक्ट्रानिक्स म्यानुफ्याक्चरिमा सरकारले नीतिगत रूपमा पनि स्पष्ट व्यवस्था नगरेको उनको गुनासो छ ।

सरकारले म्यानुफ्याक्चरिङमा प्रयोग हुने रअ मटिरियलहरूमा कर छुट दिनुपर्ने र उदयीमान प्रविधिहरूलाई सम्बोधन गर्न स्पष्ट नीतिगत व्यवस्था गर्नुपर्ने रिजाल बताउँछिन् ।

विदेशमा बनेको प्रडक्ट कहिले काँही नेपालमा चल्दैन । नेपालमा चलेपनि राम्रोसँग काम गर्दैन । यसको मुख्य कारण भनेको नेपालको आवश्यकतालाई मध्यनजर नगरेर प्रडक्ट बनाउनु हो । त्यसकारण विदेशी प्रडक्ट पटक पटक समस्या देखिइरहेको हुन्छ ।

आफूहरू भने नेपालको अवस्थालाई हेरेर प्रडक्ट बनाउँने उनको भनाइ छ । ‘हामी नेपालको समस्या र आवश्यकता मध्यनजर गरेर प्रडक्ट बनाउँछौं,’ उनी भन्छिन्, 'यसका साथै हाम्रा प्रडक्टमा हामी वारेन्टी दिन्छौं र राम्रो आफ्टर सेल्स सर्भिस दिन्छौं ।’

यार्सा टेकले गुणस्तरीय बिक्री पछिको सेवाका लागि देशका विभिन्न भागमा सेवा केन्द्र पनि राख्ने योजना बनाएको छ ।
विदेशी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न आफु जस्तो स्टार्टअप कम्पनीलाई सहज नभए पनि निरन्तर प्रयास गरिरहने कम्पनीले जनाएको छ ।

नेपालमै प्रडक्ट बनाएर अहिले विदेशिएको रकम १ प्रतिशत मात्रै कम गर्न सकेमा देशलाई फाइदा हुने उनको विश्वास छ । यसका साथै उपभोक्ताले गुणस्तरीय प्रडक्ट र राम्रो सेवा पाउँछन् ।

नेपालमा महिलालाई प्रविधिको मान्छे नमान्ने चलन छ । त्यसमा पनि प्रविधि पढेका र यसैमा काम गर्ने महिलाहरू कम छन् । तर यार्सा टेकमा महिलाहरूलाई विशेष प्राथमिकता दिइएको छ ।

यार्सा टेकमा महिहरूलाई प्राथमिकता दिइएको र आगामी दिनमा पनि दिने उनले जानकारी दिइन् । कम्पनीको नेतृत्वदायी भूमिकामा पनि महिलाहरू नै छन् ।

प्राविधिकहरू पनि महिला छन् ।  कहिले काँही हाकिम साब हुनुहुन्न ? कोही केटा मान्छे हुनुहुन्छ ? टेक्निकल कुरा गर्नका लागि कोही इन्जिनियर हुनुहुन्न ? भन्ने जस्ता प्रश्न उनीहरूको अगाडि आउँछ । तर कम्पनीको साथ र सहयोगले काम गर्न एकदमै सहज भएको रिजालको अनुभव छ । यार्सा टेकले हाल २० जनालाई राजगारी दिएको छ ।