काठमाडौं । माइक्रोसफ्टले पावर टोइजको नयाँ संस्करण ०.१०० सार्वजनिक गरेको छ । पावर टोइजको २० औँ वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरिएको यो अपडेटमा विन्डोज प्रयोगकर्ताका लागि उपयोगी नयाँ सुविधा र विभिन्न सुधारहरू समावेश गरिएको छ ।
नयाँ संस्करणमा “सर्टकट गाइड” नामक सुविधा थपिएको छ । यसले प्रयोग भइरहेको एपअनुसार उपलब्ध किबोर्ड सर्टकटहरूलाई साइडबारमा देखाउने काम गर्छ । यो सुविधाले सक्रिय एप पहिचान गरी त्यससँग सम्बन्धित सर्टकटहरू देखाउँछ र विभिन्न एपहरूलाई समर्थन गर्छ ।
विन्डोज प्रयोगलाई अझ सहज, छिटो र प्रभावकारी बनाउन पावर टोइजलाई उपयोगी टुल्स सेटका रूपमा प्रयोग गरिँदै आएको छ । नयाँ अपडेटसँगै यसको कार्यक्षमता थप सुधार गरिएको माइक्रोसफ्टले जनाएको छ ।
संस्करण ०.१०० मा कमान्ड प्यालेटलाई अझ परिष्कृत बनाइएको छ । त्यस्तै, एक्सटेन्सन ग्यालरी मार्फत समुदायले विकास गरेका एक्सटेन्सनहरू सजिलै हेर्न र सिधै इन्स्टल गर्न सकिने सुविधा थपिएको छ । यस अपडेटमा मल्टी मोनिटर सपोर्ट, सुधारिएको ब्याट्री मोनिटर, डकसम्बन्धी सुधार तथा अन्य साना–ठूला कार्यसम्पादन सुधारहरू समावेश छन् ।
माइक्रोसफ्टका अनुसार नयाँ संस्करणमा स्टार्टअप समय घटाइएको छ र सिस्टम रिस्टार्टपछि मोनिटर पहिचान गर्ने क्षमता अझ भरपर्दो बनाइएको छ । साथै, .NET 10 मा अपग्रेड गरिएपछि समग्र प्रणालीको कार्यसम्पादन अझ सहज भएको र इन्स्टलरको आकार करिब १५ प्रतिशतले घटाइएको कम्पनीले जनाएको छ ।
यसका अतिरिक्त फ्लाआउट मेनु अब Escape कुञ्जी थिचेर बन्द गर्न सकिने भएको छ भने स्लाइडरहरूलाई माउस ह्विल प्रयोग गरेर सजिलै समायोजन गर्न सकिने सुविधा पनि थपिएको छ ।
आईसीटी समाचार