काठमाडौं । बिरामीका आफन्तले आवश्यक रगतको खोजीमा अस्पताल–अस्पताल धाउनुपर्ने झन्झट अब कम हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालनमा ल्याएको नि:शुल्क स्वास्थ्य पोर्टलमा रक्त सञ्चार सेवासम्बन्धी जानकारी समेटिएपछि उपत्यकाभित्र उपलब्ध रगतको विवरण घरमै बसेर हेर्न सकिने व्यवस्था गरिएको हो ।
यस प्रणालीमार्फत सेवाग्राहीले आफूलाई आवश्यक रक्त समूह र त्यससँग सम्बन्धित रक्त घटक कुन अस्पतालमा कति परिमाणमा उपलब्ध छ भन्ने जानकारी तत्काल प्राप्त गर्न सक्नेछन् । यसले आकस्मिक अवस्थामा रगत खोज्न लाग्ने समय र सास्ती दुवै घटाउने विश्वास गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका सूचना प्रविधि निर्देशक सूरज अर्यालका अनुसार हाल पोर्टलमा नेपाल रेडक्रससहित ३१ वटा अस्पतालका रक्त सञ्चार सेवा केन्द्र जोडिएका छन् । ती केन्द्रहरूले आफ्नोमा रहेको रगत तथा अन्य रक्त तत्वको विवरण नियमित रूपमा अद्यावधिक गर्नेछन् ।
त्यसका आधारमा नागरिकले कुन अस्पतालमा आफूलाई आवश्यक रगत उपलब्ध छ भन्ने सहजै थाहा पाउनेछन् । हालका लागि यो सुविधा काठमाडौं उपत्यकामा लागू गरिएको भए पनि आगामी दिनमा देशका अन्य जिल्लामा पनि विस्तार गर्ने मन्त्रालयको योजना रहेको अर्यालले बताए ।
रगतको उपलब्धता हेर्न इच्छुक सेवाग्राहीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटमा रहेको नि:शुल्क स्वास्थ्य पोर्टलमा प्रवेश गरी ‘रक्त सूचना पोर्टल’ खोल्नुपर्ने हुन्छ ।
त्यसपछि आवश्यक रक्त समूह, रक्त घटक (जस्तै होल ब्लड, प्लाज्मा, सेतो रक्तकोष लगायत) र जिल्ला छनोट गरेपछि सम्बन्धित स्थानमा उपलब्ध रगतको मात्रा, पिन्ट संख्या तथा अन्य विवरण स्क्रिनमै देखिनेछ । त्यसपछि सम्बन्धित रक्त सञ्चार सेवा केन्द्रमा सम्पर्क गरी रगत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार नि:शुल्क स्वास्थ्य पोर्टल कार्यान्वयनमा आएसँगै लक्षित वर्गका नागरिकलाई नि:शुल्क उपचार सेवा अझ प्रभावकारी र व्यवस्थित रूपमा उपलब्ध गराउने तयारी भइरहेको छ ।
उनले स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नति सम्बन्धी मापदण्डअनुसार प्रत्येक स्वास्थ्य संस्थाले छुट्याउनु पर्ने १० प्रतिशत नि:शुल्क शय्यामा प्रदान गरिने सेवाको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ‘लक्षित वर्ग नि:शुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३’ स्वीकृत भइसकेको जानकारी दिए । उक्त कार्यविधि मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको उनले बताए ।
आईसीटी समाचार