काठमाडौं । गुगलले आफ्नो एन्ड्रोइड १७ अपरेटिङ सिस्टममा लक स्क्रिन सुरक्षालाई अझ शक्तिशाली बनाउँदै पिन र पासवर्ड अनुमान गरेर गरिने आक्रमणको प्रभाव कम गर्ने तयारी गरेको छ । नयाँ अपडेटले गलत अनलक अटेम्प्टमा कडा सीमा तोक्नुका साथै वास्तविक प्रयोगकर्ताका लागि नयाँ सुरक्षा सुविधा पनि थपेको छ । यसका साथै, फोन लक भएपछि पुनः पहुँच प्राप्त गर्ने प्रक्रिया पनि सहज बनाइएको छ ।
यो सुविधा दैनिक प्रयोगमा कुनै असर नपर्ने गरी समर्थित एन्ड्रोइड डिभाइसहरूमा सुरक्षा स्तर बढाउन डिजाइन गरिएको हो । गुगलले लकआउट सम्बन्धी जानकारी देखाउने तरिका पनि परिवर्तन गरेको छ भने अकाउन्ट रिकभरी विकल्पहरूमा छिटो पहुँचको व्यवस्था गरेको छ ।
नयाँ पिन नियमसँगै कडा बन्यो सुरक्षा
गुगलका एन्ड्रोइड कम्युनिटी इन्गेजमेन्ट म्यानेजर मिशाल रहमानले एक्समा गरेको पोस्टमार्फत एन्ड्रोइड १७ मा गलत पिन वा पासवर्ड हाल्न पाइने सीमा घटाइएको जानकारी दिएका छन् । यसको अर्थ, यदि प्रयोगकर्ताले पटक पटक गलत पासवर्ड हाल्छ भने फोन पहिलेभन्दा धेरै समयका लागि लक हुनेछ ।
अब अपरेटिङ सिस्टमले पहिलो एक मिनेटमा ६ पटक, ६ मिनेटभित्र ७ पटक, २५ मिनेटभित्र ८ पटक, २४ घण्टाभित्र १२ पटक र पाँच वर्षको अवधिमा १९ पटकसम्म मात्र गलत अनुमान गर्न अनुमति दिनेछ । यसअघि एन्ड्रोइडका पुराना संस्करणहरूमा यही अवधिमा क्रमशः १०, २०, ५०, ११० र १,८०० पटकसम्म प्रयास गर्न सकिने व्यवस्था थियो ।
२० पटकपछि थप अनलक प्रयास बन्द
२० पटक गलत पिन वा पासवर्ड प्रविष्ट गरेपछि प्रणालीले थप कुनै पनि अनलक अटेम्प्ट स्वीकार गर्ने छैन । यसले सामान्य पासवर्ड प्रयोग गरेर पटक पटक अनुमान लगाउने गेसिङ अट्याकलाई निकै हदसम्म रोक्ने अपेक्षा गरिएको छ ।
एउटै गलत पिन पटक पटक हाल्दा छुट्टै गणना नहुने
गुगलले गल्तीवश एउटै गलत पिन वा पासवर्ड पटक पटक प्रविष्ट गर्ने प्रयोगकर्ताका लागि डुप्लिकेट गेस डिटेक्सन सुविधा पनि थपेको छ ।
यदि एउटै गलत क्रेडेन्सियल बारम्बार प्रविष्ट गरियो भने त्यसलाई प्रत्येक पटक छुट्टै असफल प्रयासका रूपमा गणना गरिने छैन । यसको सट्टा, प्रणालीले डुप्लिकेट प्रविष्टि पहिचान गरेर किन त्यसलाई गणनामा समावेश नगरिएको हो भन्ने जानकारी स्क्रिनमै देखाउनेछ ।
लकआउट टाइमर पनि अब बुझ्न सजिलो
एन्ड्रोइड १७ ले लकआउट टाइमर देखाउने तरिका पनि परिवर्तन गरेको छ । अब बाँकी समय सेकेन्डमा देखाइने छैन । यसको सट्टा लक स्क्रिनमा मिनेट वा अन्य समय एकाइमा बुझ्न सजिलो सन्देश देखाइनेछ ।
उदाहरणका लागि, १,८०० सेकेन्डको काउन्टडाउन देखाउनुको सट्टा अब ‘३० मिनेटपछि पुनः प्रयास गर्नुहोस्’ भन्ने सन्देश देखिनेछ ।
लक स्क्रिनमै अकाउन्ट रिकभरी सर्टकट
यससँगै गुगलले लक स्क्रिनमा रिकभरी सर्टकट पनि थपेको छ । यस लिङ्कमार्फत प्रयोगकर्ताले आफ्नो फोन अनलक गर्न नसकेको अवस्थामा अर्को डिभाइसबाट सीधै अकाउन्ट रिकभरी रिसोर्समा पहुँच गर्न सक्नेछन् ।
सुरक्षा र प्रयोगकर्ताको सहजतालाई प्राथमिकता
माउन्टेन भ्युस्थित टेक कम्पनी गुगलले मे महिनामा आयोजित द एन्ड्रोइड शो: आई/ओ एडिसन का क्रममा यी उन्नत लक स्क्रिन प्रोटेक्सन फिचरहरूको पहिलो पटक घोषणा गरेको थियो ।
यी सुविधा एन्ड्रोइड १६ क्युपिआर२ बाट सुरु भएका सुरक्षा सुधारहरूमा आधारित छन् र समर्थित डिभाइसहरूमा एन्ड्रोइड १७ मा पनि निरन्तर उपलब्ध रहनेछन् ।
यो अद्यावधिक पोलिसीको मुख्य उद्देश्य पिन र पासवर्ड गेसिङ अट्याकलाई अझ कठिन बनाउनु हो । साथै, वास्तविक प्रयोगकर्ताले गल्तीवश लकआउटमा परेमा पुनः पहुँच प्राप्त गर्न सहज बनाउने लक्ष्य पनि राखिएको छ ।
आईसीटी समाचार