कीवर्डहरू -

युट्युब, टिकटक, स्पोटिफाईमा बज्ने नेपाली गीतले पनि अब रोयल्टी पाउने, सम्झौता गर्ने तयारी

युट्युब, टिकटक, स्पोटिफाईमा बज्ने नेपाली गीतले पनि अब रोयल्टी पाउने, सम्झौता गर्ने तयारी

युट्युब, टिकटक, स्पोटिफाईमा बज्ने नेपाली गीतले पनि अब रोयल्टी पाउने भएका छन् । त्यसका लागि संगीत रोयल्टी संकलन समाज नेपालले छिट्टै सम्झौता गर्ने भएको हो ।

नेपाली गीतहरू प्रयोग हुने सबै अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्मसँग कुराकानी गरिरहेको संगीत रोयल्टी संकलन समाज नेपाल महासचिव बी पाण्डेले बताए ।

‘सबै डिजिटल माध्यमसँग कुरा अगाडि बढिरहेको छ । सबैसँग कुरा अगाडि बढिरहेका बेला मेटासँग पहिलो सम्झौता भएको हो,’ पाण्डेले आइसिटी समाचारसँग भने, ‘अन्तर्राष्ट्रिय प्लेटफर्म जहाँ नेपाली गीत संगीतको प्रयोग हुन्छ । ती प्रयोग हुने सबै माध्यमसँग हामी छलफलमा छौं ।’

गएको बिहीबार संगीत रोयल्टी संकलन समाजले इन्स्टाग्राम र फेसबुक रिल्समा बज्ने नेपाली गीतले रोयल्टी पाउने गरी मेटासँग सम्झौता गरिसकेको छ । अब युट्युबसँग पनि समाजले चाँडै सम्झौता गर्दैछ । युट्युबसँग समाजले १-२ पटक अनलाइन मिटिङ समेत गरिसकेको पाण्डे बताउँछन् ।

पछिल्लो समय शर्ट भिडियोका लागि लोकप्रिय प्लेटफर्म टिकटकसँग पनि कुराकानी गरिरहेको उनले जानकारी दिए । उनका अनुसार अबको १-२ महिनाभित्र युट्युब, टिकटकसँग पनि रोयल्टी पाउने विषयमा सम्झौता हुनेछ ।

\"\" महासचिव पाण्डे


यी बाहेक संगीत रोयल्टी संकलन समाजले नेपाली म्युजिक प्रयोग हुने वा बज्ने डिजिटल सेवा प्रदायक (डीएसपी) एप जस्तै स्पोटिफाई, गाना लगायतसँग पनि सम्झौता गर्ने गरी कुराकानी अगाडि बढाएको छ ।

अहिले नेपाली गीत संगीतको गलत डेटा अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा पुगेको पाण्डे बताउँछन् । ‘कुनै एउटा राम्रो गीतको गीतकार, संगीतकार र गायकको नाममा कम्पनीको नाम लेखिएको छ,’ उनी भन्छन्, ‘वास्तविक सर्जक/श्रष्टाको नाम नलेखेर डेटाहरू गएको छ । त्यसकारण यो सबै डेटालाई छुट्याउनुपर्ने जरूरी छ ।’

गतल डेटालाई छुट्याएर त्यसलाई पारदर्शी बनाउने र वास्तविक डेटा उपलब्ध गराउनु पर्ने चुनौती संगीत रोयल्टी संकलन समाज नेपालसामु छ ।

यस्ता समस्यालाई समाधान गर्न समाजको प्राविधिक टिम लागि परेको छ । यी सबै समस्या छिट्टै हल भएर अन्य डिजिटल प्लेटफर्मसँग सम्झौता हुने कुरामा महासचिव पाण्डे विश्वस्त छन् ।