कीवर्डहरू -

घट्यो टेलिकमको प्रति प्रयोगकर्ता औसत आम्दानी, माग अनुसार सेवा विस्तार गर्न महालेखाको सुझाव

घट्यो टेलिकमको प्रति प्रयोगकर्ता औसत आम्दानी, माग अनुसार सेवा विस्तार गर्न महालेखाको सुझाव

नेपाल टेलिकमको प्रति प्रयोगकर्ता औसत आम्दानीमा गिरावट आएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले गत वर्षभन्दा आर्थिक वर्ष २०७७-७८ मा प्रति प्रयोगकर्ता औसत आम्दानीमा गिरावट आएको देखाएको छ ।

टेलिकमले फोरजी र एफटिटिएच विस्तारमा ढिलाइ भएको कारण ग्राहकको मागअनुसार इन्टरनेटसहितको सेवा प्रदान गर्न नसक्दा आम्दानी घट्दै गएको महालेखाको ठहर छ ।

‘कम्पनीले फोरजी/ एलटीई. र एफ.टी.टी.एच. सेवा विस्तारमा भएको ढिलाइका कारण ग्राहकको मागअनुसार इन्टरनेट सहितको सेवा प्रदान गर्न नसक्दा मुख्यतः जीएसएम, पीएसटीएन् र एडीएसएल् सेवाको आम्दानीमा प्रति ग्राहक आम्दानी घट्दै गएको देखिन्छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।

महालेखाका अनुसार देशव्यापी रूपमा फोरजी/एलटीई सेवाको विस्तार गर्दै लगेको अवस्थामा समेत कम्पनीले जीएसएम सेवाको आम्दानी तथा ग्राहक संख्यामा अपेक्षाकृत वृद्धि गर्न नसकेकाले टेलिकम सेवाबाट प्राप्त हुने औसत प्रति ग्राहक आम्दानी घट्दै गइरहेको छ ।

नेपाल टेलिकमले नयाँ प्रविधिको प्रयोग र समयमै व्यवसायिक योजना कार्यान्वयन गरेर ग्राहकको चाहना र माग अनुसारको सेवा विस्तार गरी आम्दानी गर्नुपर्ने महालेखाको सुझाव छ ।