कीवर्डहरू -

स्मार्ट क्यूआर र नेपालपे क्यूआरबीच अन्तरआवद्धता, अब एक अर्काका क्युआरबाट भुक्तानी गर्न सकिने

स्मार्ट क्यूआर र नेपालपे क्यूआरबीच अन्तरआवद्धता, अब एक अर्काका क्युआरबाट भुक्तानी गर्न सकिने

स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीच मार्फत क्यूआर अन्तरआबद्धता कायम गर्ने घोषणा भएको छ । शुक्रबार राजधानीमा एक समारोहका बीच दुई कम्पनीबीच अन्तर आबद्धताको सहमति भएको हो ।

एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुँजु र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

योसँगै अब स्मार्ट क्यूआर उपलब्ध मोबाइलबाट बैंकिङ वा वालेटका ग्राहकहरुले नेपाल पे क्यूआरका मर्चेन्टहरुलाई क्यूआर स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिने भएको छ ।

यसैगरी नेपाल पे क्यूआर उपलब्ध मोबाइल बैंकिङ वा वालेट वा कनेक्ट आईपीएसका प्रयोगकर्ताहरुले पनि स्मार्ट क्यूआरका मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् ।

अन्तरआवद्धताको सहमतिपत्रमा हस्ताक्षर गर्दै साझेदार कम्पनीहरुले यो समझदारीले क्यूआर अन्तरआवद्धताको क्षेत्रमा अर्को एक महत्वपूर्ण र लाभदायी कार्यको थालनी गरेको बताएको छ ।

हाल नेपालमा नेपालपे क्यूआरका ७० हजार भन्दा बढी र स्मार्ट क्यूआरका १ लाख ६० हजार भन्दा बढी मर्चेन्टहरू आवद्ध रहेका छन् ।

नेपाल क्लियरिङ हाउसले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तरआवद्धता कायम गर्नेगरी नेपाल पे क्यूआर सञ्चालनमा ल्याएको हो ।

क्यूआर स्कीमको रुपमा पनि उपलब्ध रहेको नेपाल पे क्यूआर ले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआवद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।

नेशनल पेमेन्ट स्वीचमा हालसम्म ५७ वाणिज्य बैंक, ५ वटा विकास बैंक १२ वटा फाइनान्स कम्पनी र १३ वटा भुक्तानी सेवा प्रदायकहरुको सम्झौता भइसकेको कनेक्ट आईपीएसले जनाएको छ ।