कीवर्डहरू -

एन्ड्रोइडभन्दा किन महंगो हुन्छ आईफोन ?

एन्ड्रोइडभन्दा किन महंगो हुन्छ आईफोन ?

राम्रो स्मार्टफोन किन्न खोज्दा पहिलो प्रश्न हुन्छ, आईफोन किन्ने की एन्ड्रोइड । दुवैका आ–आफ्नो ठाउँमा राम्रा फिचर छन् ।

तर पनि विदेशबाट पठाइदिन भनेर होस् वा आफै पैसा जम्मा गरेर होस् उपभोक्ताले आईफोन खरिद गर्न रूचाउँछन् । विश्वमा एन्ड्रोइड फोन चलाउने प्रयोगकर्ता धेरै छन् ।

एन्ड्रोइड चलाउने प्रयोगकर्ता धेरै हुँदा हुँदै पनि महंगो फोन आइफोन प्रति धेरैको रूची किन छ ? किन धेरैले आईफोन किन्न चाहन्छन् ? आज हामी यसका केही कारण बारे जानकारी दिदैछौं ।

राम्रो परफरमेन्स

तपाईको कुनै पनि फोन पूर्ण रुपमा प्रोसेसरमा भरपर्ने गर्छ । एन्ड्रोइड फ्ल्यागशिपको तुलनामा एप्पलको चिपले अझै बढी राम्ररी काम गर्दछ ।

एप्पलको चिप आईफोनका लागि कस्टोमाइज गरेर निर्मित हुने भएकाले यसले एकदमै राम्रो अनुभव प्रदान गर्ने गर्दछ ।

एप्पलले आईफोनमा महँगो पार्टपुर्जा प्रयोग गर्ने भएकाले यसले एकदमै प्रभावकारी र छिटो रुपमा काम गर्ने गर्दछ । एन्ड्रोइड पनि सुरुसुरुमा राम्ररी नै चल्ने गर्दछ तर केही समय भएपछि फोन ह्यांग हुन थाल्छ ।

एन्ड्रोइड फोनले धेरैजसो थर्ड पार्टी प्रोससर प्रयोग गर्ने गर्दछन्, जसकारण कस्टोमाइज अनुभव हुँदैन् र एन्ड्रोइड र आईफोन बिच सबैभन्दा ठूलो फरक नै यही हो । उदाहरणका लागि सामसंगले क्वालकमसँग स्नापड्रयागन चिप खरिद गरेर प्रयोग गर्ने गर्दछ ।

एप्पलको सफ्टवेयर र एप अप्टिमाइजेसनले गर्दा यसले पछि सम्म पनि राम्रै परफरमेन्स दिने गर्दछ । आइफोनमा सजिलै मल्टिटास्क गर्न सकिन्छ र एपहरु बिच पनि कुनै ल्याग वा ग्लिच नभई नै स्वीच गर्न सकिन्छ ।

तपाईले पुरानो आईफोनलाई एन्ड्रोइड डिभाइससँग तुलना गर्नभयो भने आइफोनले बढी राम्रो परफरमेन्स दिईरहेको पाउन सक्नुहुन्छ । त्यस कारण एन्ड्रोइड फोनले भन्दा एप्पलको आईफोनले राम्रो काम गर्ने गर्दछ ।

सुरक्षित

एन्ड्रोइड फोन धेरैले प्रयोग गर्ने भएपनि बेला बेला एन्ड्रोइड फोनको सुरक्षामाथि प्रश्न उठिरहेको हुन्छ । एन्ड्रोइड सफ्टवेयरमाथि स्मार्टफोनको कुनै नियन्त्रण नहुने भएकाले सुरक्षामा समस्या आउछ । त्यस्तै अपरेटिङ सिस्टम पनि पुरानो भयो भने सजिलै साइबर आक्रमण गर्न सकिन्छ ।

सरक्षाका लागि केही समयपछि एन्ड्रोइड डिभाइसलाई परिवर्तन गरिरहनुपर्ने हुन्छ । समयसमयमा सफ्टवेयर अपडेट गरिरहेमा मात्रै सुरक्षित रहिरहन सकिन्छ । यदी कसैसँग आईओएस १६ भएको आईफोन ८ छ भने उसले पनि आईफोन १४ मा जस्तै सबै सुरक्षा फिचरहरू पाउँछ ।

गूगल प्ले स्टोरमा मालवेयर वा भाइरस लाग्ने किसिमको एपहरु पनि सामयसमयमा उपलब्ध हुने गर्छन् । एपस्टोरको सुरक्षा मापदण्डहरु बढी कडा रुपमा जाँँच गरिएको हुन्छ । आईफोन पनि पूर्ण रुपले आक्रमणहरुबाट जोगिएको हुन्छ भन्ने हुँदैन् तर एन्ड्रोइडको तुलनामा धेरै सुरक्षित छ ।

गुणस्तरीय क्यामेरा र इमेज

प्रयोगकर्ताहरुले आईफोन रोज्नुको मुख्य कारणमा क्यामेरा पनि एक हो । आईफोन ५ एस आएदेखि एप्पलका उपभोक्ताहरु क्यामेराको वर्णन गर्दै आएका छन् ।

एन्ड्रोइड फोनको क्यामेरामा धेरै फिचर तथा फिल्टर भएता पनि प्रोफेसनल इमेज पाउनका लागि आईफोन नै सबै उपभोक्ताको प्रमुख छनोट हुने गर्दछ ।

एन्ड्रोइड फोनको धेरैजस्तो क्यामेरामा भिडियो हेर्दा अडियो ढिलो आउने जस्ता सम्स्या हुन्छ । आइफोनमा बढी राम्रो क्यामेरा क्वालिटी, फ्रेम रेट, अडियो कम्प्याटिबिलिटी र राम्रो इमेज हुने गर्दछ । धेरै कन्टेन्ट क्रियटरले पनि फोटो तथा भिडियो खिच्नका लागि आईफोन नै मन पराउछन् ।

राम्रो डिजाइन

एन्ड्रोइड फोन विभिन्न आकार र स्टाइलमा आउने भएकाले कुन ब्राण्डको फोन हो भनेर छुट्याउन गाह्रो पर्ने गर्दछ । आईफोनको आकर्षक डिजाइन हुने गर्दछ, जसले तुरुन्तै ध्यानाकर्षण गर्न सम्भव हुन्छ । हार्डवेयरमा धेरै परिवर्तन नहुने भएकाले आईफोनलाई पहिचान गर्न सकिन्छ ।

एप्पलले आफ्नो डिजाइनलाई पनि एकदमै गोपनीय ढंगले राख्ने गर्दछ, जसले गर्दा प्रयोगकर्तालाई कस्तो डिजाइन सार्वजनिक हुने हो भनेर उत्सुकता भइरहन्छ । आइफोन विभिन्न आकर्षक रंगमा आउने भएका कारण पनि प्रयोगकर्ताहरु यस प्रति आकर्षित हुने गर्दछन् ।

एप्पलको ब्राण्ड भ्यालु

विश्वको सबैभन्दा मूल्यवान कम्पनी हो, एप्पल । ब्राण्ड मूल्य राम्रो भएका कारण पनि प्रयोगकर्ताले आईफोन रुचाउने गर्दछन् । एप्पलको सुरु देखिनै आईफोनलाई फोनमा मात्रै सिमित नराखेर एक ब्राण्डकै रुपमा प्रख्यात बनाउने उद्देश्य थियो ।

एप्पलको अरु डिभाइस पनि प्रख्यात रहेको र ती आईफोनमा पनि चल्ने भएकाले समेत धेरैले आईफोन प्रयोग गर्न चाहन्छन् । एप्पलको लोगो देख्नै बित्तिकै कुनै पनि सामान बिक्री हुने गरी एप्पलले आफ्नो ब्राण्ड बनाएको छ ।