कीवर्डहरू -

२८ औं क्यान इन्फोटेक २०२३ को तयारी तिब्र, शीर्ष प्रायोजकमा इन्फोडेभलपर्स

२८ औं  क्यान इन्फोटेक २०२३ को तयारी तिब्र, शीर्ष प्रायोजकमा इन्फोडेभलपर्स

क्यान इन्फोटेक २०२३ को शीर्ष प्रायोजन नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स प्रालिले गरेको छ । इन्फोडेभलपर्सले शीर्ष प्रायोजन गरेसँगै अब कार्यक्रमको नाम ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३’ हुनेछ ।

माघ २४ गतेदेखि २९ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुने इन्फोटेकको इन एशोसिएसन पार्टनरमा एससीटी रहेको छ ।

बिहीबार अल्फा बेटमा एक पत्रकार सम्मेलन गर्दै क्यान इन्फोटेकको आयोजक संस्था कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले  मुलुककै ठूलो सूचना प्रविधि प्रदर्शनी क्यान इन्फोटेक २०२३ अन्तिम चरणमा पुगेको समेत जानकारी दिएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य दिदै क्यान महासंघका निवर्तमान अध्यक्ष नवराज कुँवरले विश्वमा भएका प्रविधि नेपाल भित्र्याउन इन्फोटेकले सहयोग गरेको बताए ।

यस्तै कार्यक्रममा बोल्दै क्यान महासंघका अध्यक्ष रञ्जित पोदारले सूचना प्रविधि सम्बन्धि सबै नेपालीलाई जानकारी दिन सन् १९९५ देखि क्यान इन्फोटेक आयोजना हुँदै आएको बताए ।

यस पटकको इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ २८ औं संस्करणको प्रदर्शनी हो । क्यान इन्फोटेक २०२३ का लागि अहिलेसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै इन्फोडेभलपर्सका अध्यक्ष सञ्जिवराज भण्डारीले क्यान इन्फोटेकमा शीर्ष प्रायोजकका रूपमा सहभागी हुन पाउँदा खुसी लागेको बताए ।

यस्तै इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले क्यान हार्डवेयरको मात्रै संस्था हो भन्ने भाष्यबाट मुक्त गराउन प्रायोजन गरेको बताए ।

‘क्यान महासंघ हार्डवेयरको मात्रै संस्था हो भन्ने भाष्य निर्माण भएको छ । त्यसले गर्दा संस्थाको अस्तित्वमै प्रश्न चिन्ह खडा भएको छ,’ उनले भने, ‘क्यानले हार्डवेयरको मात्र होइन् सबै आइटी क्षेत्रको प्रतिनिधित्व गर्छ भन्ने सन्देश दिन शीर्ष प्रायोजन गरेका हौं ।’

यस पटकको इन्फटेकमा प्लाटिनम स्पोन्सरमा डिशहोम फाइबरनेट, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी र ह्वावे रहेका छन् । त्यस्तै सिल्भर स्पोन्सरहरूमा एसपावर डिजिकम र अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी) रहेका छन्।

प्रदर्शनीको टिकेटिङ पार्टनरमा पे वेल, इन्स्यारेन्स पार्टनरमा आइएमई जेनेरल इन्स्योरेन्स नलेज पार्टनरमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ पार्टनरमा इन्टरनेसनल स्कुल फर स्किल्स, फुड एण्ड बेभरेज पार्टनरमा र्‍याकेट बार एन्ड इभेन्टस, पावर्ड बाई आइएमई पे र एसएमएस पार्टनरमा स्प्यारो एसएमएस रहेका छन् ।

प्रर्दशनीलाई सफल रूपमा आयोजना हुन देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसु लगायतका संस्थाले सहयोग गरेका छन् त्यस्तै अन्तर्राष्ट्रिय रूपमा असोसियो र विस्टाको पनि सहयोग रहेको छ ।

क्यान इन्फोटेकको टिकेटिङ पार्टनर पे वेलको मोबाइल एपबाट इन्फोटेकको टिकेट खरिद गर्न सकिने छ । यस अन्तर्गत सर्वसाधारणका लागि रु. १०० विद्यार्थीका लागि रु. ५० शुल्क तोकिएको छ । तर एपबाट टिकट काट्दा २५ रूपैयाँ छुट पाइने छ ।

पेवेलका एसिस्टेन्ट सीईओ प्रज्वल आचार्यले एपबाट टिकट काट्ने मध्ये प्रत्येक दिन ५ जनाले आकर्षक गिफ्ट पाउने जानकारी दिए । एपको एक्सप्लोर सेक्सनमा गएर टिकट काट्न सकिने छ ।

सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ।

प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ-नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।

यो प्रर्दशनी सुचना प्रविधिसम्बन्धि चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विषेश थलो पनि हुने विश्वास महासंघले लिएको छ ।

इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने महासंघको भनाइ छ ।

क्यान इन्फोटेकमा ब्राण्डिड, आईसीटी एक्ससरिज, प्रडक्ट लम्बिडसँगै आईटी करियर काउन्सिलिङ (स्टुडेन्ट पेभिलियन), कलेज पेभिलियन स्टार्टअप पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ। यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्द्धन गरिएको छ ।

साथै क्यान इन्फोटेकके दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ,क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेन्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुनेछ । यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिइएको छ।

राजधानीमा माघ २४ देखि ६ दिनसम्म देशकै ठूलो सूचना प्रविधि समापन भएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला हुनेछ ।

यसअन्तर्गत मधेश प्रदेशमा फागुन ५ देखि फागुन ९ गतेसम्म सुदूरपश्चिम प्रदेशमा फागुन १३ देखि फागुन १७ गतेसम्म, गण्डकी प्रदेशमा फागुन २६ देखि फागुन ३० गतेसम्म र बागमती प्रदेशमा चैत २ देखि चैत ६ गतेसम्म क्यान इन्फोटेक हुनेछ ।

प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै नै क्यान इन्फोटेकको आयोजना मिति घोषणा हुनेछ।