कीवर्डहरू -

सिमकार्ड नभए पनि मोबाइलमा विपतको सूचना पुग्ने, ‘सेल ब्रोडकास्टिङ’ ल्याउँदै सरकार

सिमकार्ड नभए पनि मोबाइलमा विपतको सूचना पुग्ने, ‘सेल ब्रोडकास्टिङ’ ल्याउँदै सरकार

काठमाडौं । प्राकृतिक विपत्का बेला धेरैभन्दा धेरै मानिससम्म तत्काल सूचना पुर्‍याउन सरकारले ‘सेल ब्रोडकास्टिङ’ प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेको छ । यो प्रविधि लागू भएपछि सिमकार्ड नभएको मोबाइल समेत नेटवर्कको पहुँचमा रहेसम्म विपत्सम्बन्धी पूर्वसूचना प्राप्त गर्न सक्नेछ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा प्रणाली सञ्चालनका लागि आवश्यक तयारी गरिरहेको छ । यसका लागि छुट्टै कार्यदल गठन गरेर कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुर्‍याइएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन् ।

उनका अनुसार विगतमा तयार भएका विभिन्न प्रतिवेदन र सुझावलाई समेत समेटेर कार्यविधि तयार भइरहेको छ । बजेटलगायत आवश्यक विषय टुङ्गिएपछि कार्यविधिका आधारमा प्रणाली कार्यान्वयनमा लैजाने तयारी छ । यसअघि प्रक्रिया अघि बढाइए पनि रसुवाको भोटेकोशीमा आएको बाढीपछि केही समय काम प्रभावित भएको थियो ।

यो प्रणालीको मुख्य विशेषता भनेको मोबाइलमा सिमकार्ड नभए पनि नेटवर्कको कभरेजभित्र रहेका मोबाइल उपकरणमा एकैपटक सूचना पठाउन सक्नु हो । मोबाइल टावरले आफ्नो क्षेत्रभित्र सक्रिय रहेका मोबाइल उपकरण पहिचान गर्ने भएकाले व्यक्तिगत नम्बरमा एसएमएस पठाएजस्तो गरी छुट्टाछुट्टै सूचना पठाउनुपर्ने हुँदैन ।

एसएमएसभन्दा फरक तरिकाले देखिनेछ अलर्ट
सेल ब्रोडकास्टिङबाट पठाइएको सूचना सामान्य एसएमएसजस्तो मोबाइलको इनबक्समा गएर हराउने छैन । मोबाइलको स्क्रिनमा आपत्कालीन ‘अलर्ट’का रूपमा देखिने भएकाले प्रयोगकर्ताको ध्यान तत्काल त्यसतर्फ जाने व्यवस्था हुनेछ ।

सूचना नहेरेसम्म वा अलर्ट बन्द नगरेसम्म आवाज बज्ने, भाइब्रसन हुने तथा पप-अप वा ‘बिप साउन्ड’ आउनेजस्ता सुविधा राख्ने तयारी छ । यसले विपत्सम्बन्धी सूचना प्रयोगकर्ताले बेवास्ता गर्ने सम्भावना कम गर्ने अपेक्षा गरिएको छ ।

अर्को महत्वपूर्ण पक्ष भनेको मोबाइल नेटवर्क अत्यधिक व्यस्त भएको अवस्थामा पनि यसको प्रयोग गर्न सकिनु हो । फोन कल वा सामान्य एसएमएसको चाप अत्यधिक हुँदा सेवा प्रभावित हुन सक्छ ।

तर सेल ब्रोडकास्टिङले त्यस्तो ट्राफिकको असर नपर्ने भएकाले आपत्कालीन अवस्थामा पनि सूचना प्रसारण गर्न सकिनेछ । यद्यपि सूचना प्राप्त गर्न मोबाइल ‘अन’ अवस्थामा र सम्बन्धित नेटवर्कको पहुँचभित्र हुनुपर्नेछ ।

विपत् सूचना दिने निकाय एउटै प्रणालीमा जोडिने
प्रस्तावित प्रणालीलाई केन्द्रीय संरचनामार्फत सञ्चालन गर्ने तयारी छ । त्यसका लागि आवश्यक हार्डवेयर र सर्भर स्थापना गरिनेछ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगै जल तथा मौसम विज्ञान विभाग, नेपाली सेना, नेपाल प्रहरीलगायत सरकारी तथा सुरक्षा निकायलाई पनि प्रणालीमा जोडेर आवश्यकताअनुसार सूचना पठाउन सकिने व्यवस्था गरिनेछ ।

भविष्यमा रेडियो र टेलिभिजनलाई समेत यही प्रणालीसँग जोड्ने योजना छ । आपत्कालीन अवस्था उत्पन्न हुँदा नियमित कार्यक्रम रोक्दै स्क्रिन वा प्रसारणमार्फत तत्काल सूचना दिन सकिने संरचना विकास गर्न सकिने प्राधिकरणको भनाइ छ ।

प्रणाली स्थापनाका लागि छुट्टै ‘डेडिकेटेड हार्डवेयर’ प्रयोग गर्ने वा क्लाउडमा आधारित संरचना बनाउने भन्ने निर्णयले यसको लागत निर्धारण गर्नेछ । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन (आईटीयू) को प्रारम्भिक अनुमानअनुसार यस्तो प्रणाली स्थापना गर्न कम्तीमा १० करोड रुपैयाँ खर्च हुन सक्नेछ ।

कानुनी व्यवस्थाका लागि छुट्टै कार्यविधि
विद्यमान दूरसञ्चार ऐन, २०५३ मा सेल ब्रोडकास्टिङ सञ्चालन र नियमनसम्बन्धी स्पष्ट व्यवस्था छैन । तर आपत्कालीन अवस्थासँग सम्बन्धित विद्यमान कानुनी प्रावधानलाई आधार बनाएर नेपाल दूरसञ्चार प्राधिकरणले प्रणाली सञ्चालनमा सहजीकरण गर्ने र आवश्यक नियमनको व्यवस्था मिलाउने तयारी गरेको छ ।

यो प्रविधि बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपत्मा मात्र सीमित रहने छैन । युद्ध वा अन्य मानवीय आपत्कालीन परिस्थितिमा पनि ठूलो संख्यामा मानिससम्म छोटो समयमा सूचना पुर्‍याउन यसको प्रयोग गर्न सकिनेछ ।

नेपालको भौगोलिक बनोटका कारण कतिपय दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा कमजोर छ वा सेवा प्रदायकको नेटवर्क नै पुगेको छैन । त्यस्ता क्षेत्रमा उपलब्ध नेटवर्कको पहुँचभित्र रहेका मोबाइल उपकरणमा एकैपटक सूचना पठाउन सकिने भएकाले सेल ब्रोडकास्टिङलाई आपत्कालीन सूचना प्रणालीका लागि उपयोगी प्रविधिका रूपमा हेरिएको छ ।

भोटेकोशी घटनापछि पूर्वसूचना प्रणालीमा जोड
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका क्रममा तटीय क्षेत्रका मानिसलाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो । त्यस्ता सूचनाका कारण जोखिममा रहेका धेरै मानिसलाई समयमै सचेत गराउन सहयोग पुगेको सरकारको निष्कर्ष छ ।

त्यसैले सामान्य एसएमएसभन्दा अझ व्यापक र तत्काल सूचना पुर्‍याउन सक्ने प्रणालीका रूपमा सेल ब्रोडकास्टिङलाई अघि बढाउन लागिएको हो ।

अमेरिका, जापान र भारतमा प्रयोग
आपत्कालीन सूचना प्रवाहका लागि सेल ब्रोडकास्टिङ प्रविधि विभिन्न देशमा यसअघि नै प्रयोगमा छ । अमेरिकामा फेडरल इमरजेन्सी म्यानेजमेन्ट एजेन्सी (फेमा) मार्फत ‘वायरलेस इमरजेन्सी अलर्ट’ प्रणाली सञ्चालनमा छ ।

युरोपेली सङ्घले पनि युरोपियन इलेक्ट्रोनिक कम्युनिकेसन्स कोडअन्तर्गत आपत्कालीन ‘ईयु अलर्ट’ प्रणाली कार्यान्वयनमा ल्याएको छ । भूकम्प र सुनामीको उच्च जोखिममा रहेको जापानमा ‘जे-अलर्ट’ र ‘एरिया मेल’मार्फत आपत्कालीन सूचना प्रवाह गरिन्छ ।

भारतले पनि गत मे २ देखि देशभर ‘इन्डिजेनस सेल ब्रोडकास्ट सिस्टम’ सञ्चालनमा ल्याएको छ । भारतको सेन्टर फर डेभलपमेन्ट अफ टेलिम्याटिक्सले विकास गरेको उक्त प्रणालीलाई आपत्कालीन अवस्थामा ठूलो संख्यामा मानिससम्म तत्काल सूचना पुर्‍याउने माध्यमका रूपमा प्रयोग गरिएको छ ।