कीवर्डहरू -

भोलि ह्याबिट्याट इन्नोभेसन कन्क्लेभ हुँदै

भोलि ह्याबिट्याट इन्नोभेसन कन्क्लेभ हुँदै

चैत ३ गते शुक्रबार ह्याबिट्याट इन्नोभेसन कन्क्लेभ २०२३ आयोजना हुने भएको छ । काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका विद्यार्थीले आयोजना गरेको उक्त कन्क्लेभ शुक्रबार बिहान ८ बजेदेखि होटल हायात प्लेसमा सुरू हुने भएको हो ।

कार्यक्रममा मुख्य वक्ताको रूपमा राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य प्रा. डा. संगीता सिंहले आफ्नो प्रस्तुती दिनेछिन् ।

क्लेक्लेभमा प्रडक्ट प्रदर्शनी, प्रडक्ट सिमुलेसन, प्रस्तुती तथा प्यानल सेसन हुने बताइएको छ ।  कन्क्लेभमा नवप्रवर्तन भवन सामग्री, भवन संहिता, नीति र मापदण्ड, नयाँ प्रविधिसहितको योजना, डिजाइन र रेट्रोफिटिङ, पानी र सरसफाई, भवनमा उर्जा कुशलता तथा इन्जिनियरिङ र प्रविधिमा महिला विषयमा छलफल हुनेछ ।

नयाँ नयाँ आईडियाबाट अहिले देखिएको अव्यवस्थित शहरीकरणको समस्यालाई हल गर्न कन्क्लेभ आयोजना गरिएको हो । यसपटक कन्क्लेभ भवनमा मात्रै केन्द्रित रहेको छ । आगामी वर्षमा यसलाई अझै परिस्कृत गर्दै जाने बताइएको छ ।

पछिल्लो समय अव्यवस्थित शहरीकरणले शहरहरू बस्न अयोग्य हुँदै गइरहेका छन् । गाउँ गाउँमा समेत त्यस्तो समस्या बढ्न थालेको छ । अव्यवस्थित शहरिकरणलाई व्यवस्थित गर्ने इन्नोभेटिभ आईडिया निकाल्न र शहरलाई बस्न योग्य बनाउन कार्यक्रम आयोजना गरेको ह्याबिट्याट इन्नोभेसन कन्क्लेभका सल्लाहकार तथा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह बताउँछन् ।

यस्तै काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक डा. भाला प्रसाद थापाले मानिस बस्ने बासस्थानलाई दिगो र वातावरणमैत्री बनाउने उद्देश्यले कार्यक्रम गर्न लागेको जानकारी दिए ।

छनौट गरिएका विषयमा विभिन्न वक्ताहरूले आफ्नो प्रस्तुती दिनेछन् । वक्तामा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका डेपुटी निर्देशक डा. रोशन राज श्रेष्ठ, वरिष्ठ उर्जा विज्ञ डा. नारायन चौलागाई, आभारीका अध्यक्ष निरपल अधिकारी, युएन ह्याबिट्याटकी प्रोग्राम म्यानेजर प्रज्ञा प्रधान र आमोद मनी दिक्षितले प्रस्तुती दिनेछन् ।

प्रस्तुतीबाट आएका विषयवस्तुहरूमाथी पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्द राज पोखरेल, नास्टका पूर्व उपकुलपति सुनिल बाबु श्रेष्ठ र त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानकी पूर्व डीन त्रिरत्न बज्राचार्यले विश्लेषण र संस्लेषण गर्नेछन् ।

कार्यक्रमलाई विश्वविद्यालय अनुदान आयोगले सहयोग गरेको छ । कार्यक्रममा उठेका विषयवस्तुलाई निचोडमा पुर्‍याउँदै एउटा प्रतिवेदन तयार पारिने छ । उक्त तयार भएको प्रतिवेदन विश्वविद्यालय अनुदान आयोगमार्फत नेपाल सरकारलाई प्रदान गरिने जनाइएको छ ।

कार्यक्रममा सहभागी हुन यहाँ क्लिक गरी दर्ता गर्न सकिने छ । सहभागी हुन शुल्क लाग्ने छ ।