कीवर्डहरू -

स्टार्टअपलाई २५ लाखसम्म कर्जा दिदै सरकार, कसरी दिने आवेदन ?

स्टार्टअपलाई २५ लाखसम्म कर्जा दिदै सरकार, कसरी दिने आवेदन ?

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव माग गरेको छ ।

एक सूचना जारी गर्दै विभागले सरकारले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ अनुसार मापदण्ड पुरा गरेका स्टार्टअपहरूले कर्जाका लागि परियोजना प्रस्ताव माग गरेको हो ।

नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएकाहरूले २१ दिन भित्रमा विभागमा कर्जाका लागि आवेदन दिन सकिने जनाइएको छ । चुक्ता पूँजी ५० लाख बढी नभएको स्टार्टअपले कर्जाका लागि आवेदन दिन सक्नेछन् ।

उक्त कार्यविधि अनुसार २५ लाख रुपैयाँसम्मको कर्जा पाइने छ, जसको ब्याजदर ३ प्रतिशत मात्र हुने छ । स्टार्टअपले अधिकतम ७ वर्षसम्मका लागि ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म विना धितो अर्थात आफ्नै व्यवसाय धितोमा राखेर कर्जा पाउने छन् । एक उद्यमीले एकभन्दा बढी प्रस्ताव गर्न पाइने छैन् ।

आवेदन दिँदा प्रस्तावको साथमा कम्पनी वा उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपी, स्थायी लेखा नम्बरको प्रतिलिपी, अघिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी र कम्पनी वा उद्योगको आधिकारिक प्रतिनिधिको नागरिकताको प्रतिलिपी पनि पठाउनु पर्नेछ ।

प्रस्ताव उद्योग विभागमा वा [email protected] इमेलमा पठाउन सकिने छ । प्रस्तावसहित संलग्न कागजातहरू स्क्यान गरी एउटै पीडीएफ फाइलमा पठाउनु पर्नेछ ।