कीवर्डहरू -

प्रयोग हुन थाल्यो गूगल प्लस कोड, हुलाकमा आए २ वटा चिठी

प्रयोग हुन थाल्यो गूगल प्लस कोड, हुलाकमा आए २ वटा चिठी

गूगल प्लस कोड प्रयोग भएर २ वटा चिठी आएका छन् । सरकारले गूगल प्लस कोड प्रयोगमा ल्याएको केही दिनमै गूगल प्लस कोड प्रयोग भई २ वटा चिठी आएका हुन् ।

गूगल प्लस कोड प्रयोग भएर एउटा स्वदेश बाट र अर्को विदेशबाट चिठी आएको गाेश्वारा हुलाक कार्यालय काठमाडौंका प्रमुख प्रद्युम्न उपाध्यायले बताए ।

‘एउटा चाहिँ बाहिर जिल्लाबाट आएको सहकारी कार्यालयको चिठी थियो । काठमाडौंको कलंकीमा डेलिभरी गर्नुपर्ने थियो । त्यो चिठी आउने बित्तिकै हामीले डेलिभरी गर्‍यौ’ उनले भने ।

‘अर्को चिठी अमेरिकाबाट आएको थियो । त्यो चिठ्ठी फेब्रुअरी १२ मा अमेरिकाबाट पठाइएको रहेछ,’ उपाध्यायले आइसिटी समाचारसँग भने, ‘त्यो चिठी यहाँ हिजो आइपुगेको थियो । त्यो एउटा युनिभरसिटीको लेटर थियो । हामीले गूगल प्लस कोड सर्च गर्दा त्यो टोखाको रहेछ । त्यो चिठी पनि डेलिभरी भइसक्यो ।’

गूगल प्लस कोड प्रयोग भएर चिठी आउन थालेको र विस्तारै अब गूगल प्लस कोड प्रयोग भएर अरु चिठी पनि आउने उनले बताए ।

उनी भन्छन, ‘गूगल प्लस कोड मार्फत एम्बुलेन्स, प्रहरी, दमकल जस्ता आपतकालिन सेवाहरु समेत सजिलै प्राप्त गर्न सकिन्छ भने सम्बन्धित व्यक्तिलाई कुनै पनि सामान डेलिभरी गर्न सहज हुन्छ । ’

गूगल प्लस कोड भनेको गूगल म्यापले बनाएको एउटा कोडिङ सिस्टम हो । जसलाई जिओ लोकेसनको आधारमा तय गरिन्छ ।

यस अन्तरगत विश्वलाई साना साना ग्रिडबक्समा बाडिन्छ र ती ग्रिडबक्सलाई फेरी साना साना गर्दै लगिन्छ ।ग्रिडहरुलाई केही अक्षरहरुको सहयोगले पृथ्वीका सबै ठाउँहरुको नामाकरण गरिन्छ । जसलाई प्लस कोड भनिन्छ ।

यसरी जुन घरको गूगल प्लस कोड हो, त्यसघरमा नै सजिलोसँग सामान डेलिभर गर्न सकिन्छ । केही दिन अघि मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गूगल प्लस कोड प्रयोग सम्बन्धि कार्यविधि पास गरेको थियो ।