कीवर्डहरू -

८७ प्रतिशतमा पुग्यो ब्रोडव्यान्ड इन्टरनेट, एक महिना मै जोडिए झन्डै १० लाख  

मोबाइल ब्रोडव्यान्डमा मात्रै ७ लाख ८८ हजार जोडिएका छन् ।  

८७ प्रतिशतमा पुग्यो ब्रोडव्यान्ड इन्टरनेट, एक महिना मै जोडिए झन्डै १० लाख  

मुलुकमा इन्टरनेटको पहुँच दितप्रतिदिन वृद्धि हुदै गएको छ । सहरबाट विस्तारै ग्रामिण क्षेत्रमा ब्रोडव्यान्ड इन्टरनेटको पहुँच विस्तार भइरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो विवरणले यही तथ्यलाई पुष्टि गर्छ । प्राधिकरणको फागुन महिनाको एमआईएस रिपोर्टअनुसार ब्रोडव्यान्ड इन्टरनेटमा जोडिने ग्राहकको संख्या २ करोड ६३ हजार ५६ हजार रहेको छ ।

जब कि माघ महिनासम्मको रिपोर्टमा यो संख्या २ करोड ५४ लाख १९ हजार ३ सय २५ रहेको थियो । यस हिसाबले हेर्दा एक महिना मै ९ लाख ३६ हजार ६ सय ८० जना व्यक्ति ब्रोडव्यान्ड इन्टरनेटमा जोडिएका छन् ।

एमआईएस रिपोर्टअनुसार नेपालमा ८७.१९ प्रतिशतमा ब्रोडव्यान्ड इन्टरनेट पुगेको छ । यो माघ महिनाको तथ्यांकभन्दा झन्डै ३ प्रतिशतले बढी हो । माघ महिनामा ब्रोडव्यान्ड इन्टरनेटमा पहुँच हुने जनसंख्या ८४.०९ प्रतिशत रहेको थियो ।

ब्रोडव्यान्ड इन्टरनेट पहुँच विस्तार तीव्र हुनुमा मोबाइल इन्टरेनटको भूमिका मुख्य छ ।

एक महिनामा मोबाइल ब्रोडव्यान्डमा २.६१ प्रतिशतले वृद्धि भएको छ । माघ महिनामा मोबाइल ब्रोडव्यान्डको पहुँच ६१.४७ प्रतिशतमा पुगेको थियो । अर्थात चैत महिनासम्म १ करोड ८५ लाख ८१ हजार ३ सय ५२ जनाले मोबाइल ब्रोडव्यान्ड प्रयोग गरिरहेका थिए ।

फागुनमा आइपुग्दा यो संख्या ६४.०८ प्रतिशतमा पुगेको छ । यस महिनामा मोबाइल ब्रोडव्यान्डमा प्रयोग गर्नेको संख्या १ करोड ९३ लाख ७० हजार १ सय ४३ पुगेको छ ।

यस हिसाबले हेदा मोबाइल ब्रोडव्यान्डमा मात्रै ७ लाख ८८ हजार ७ सय ९१ जना जोडिएका छन् ।

फागुनमा फोरजी चलाउनेको संख्या ७६ लाख ६८ हजार १ सय ८१ पुगेको छ ।

माघमा यो संख्या ७० लाख ९२ हजार ८ सय पाँच थियो । फोरजी चलाउनेको संख्यामा पनि ५ लाख ७५ हजारले वृद्धि भएको छ ।

त्यस्तै, थ्रिजी चलाउनको संख्या १ करोड १५ लाख ६५ हजार ३ सय ८९ पुगेको छ । यो त्यसअघिको महिनाको भन्दा २ लाख १३ हजार ४ सय १५ ले बढी हो ।

माघमा थ्रिजी चलाउनेको संख्या १ करोड १३ लाख ५१ हजार ९ सय ७४ थियो ।