कीवर्डहरू -

नेपालमा कोरोनासँग लड्न अमेरिकाबाट सहयोग जुटाउँदै गायक ढकाल, आविष्कार केन्द्रलाई दिए १८ लाख 

नेपालमा कोरोनासँग लड्न अमेरिकाबाट सहयोग जुटाउँदै गायक ढकाल, आविष्कार केन्द्रलाई दिए १८ लाख 

गायक रामकृष्ण ढकालले अमेरिकामा विभिन्न व्यक्तिबाट संकलन गरेको १५ हजार २८८ अमेरिकी डलर अर्थात करिब १८ लाख रूपैयाँ महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेका छन् ।

कोरोना महामारीसँग लड्न पहिलो चरणमा आफु र विभिन्न व्यक्तिबाट संकलन भएको करिब १८ लाख रूपैयाँ ढकालले राष्ट्रिय आविष्कार केन्द्रको नाममा रहेको हिमालयन बैंकको खातामा वायर मार्फत जम्मा गरेका हुन् ।

‘मैले केही दिनअघि अमेरिकामा रहेका मेरा आदरणीय स्रोता-दर्शकमाझ सहयोगको आह्वान गरेको थिएँ,’ ढकालले भने, ‘मेरो विनम्र अनुरोधमा अमेरिकामा रहेका मनकारी नेपाली तथा भुटानी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले खुला हृदयले सहयोग गर्नुभएको छ ।’

सांगीतिक कार्यक्रमका लागि अमेरिका गएका ढकाल अहिले उतै रोकिएका छन् । ढकालका अनुसार अन्य केही व्यक्तिले पनि सहयोगको इच्छा देखाएका छन् ।

आविष्कार केन्द्रले कोरोना महामारीसँघ लड्न आफै पीपीई बनाएर बाड्ने, बिग्रिएका भेन्टिलेटर, अक्सिजन कन्सेनट्रेटर तथा अन्य मेडिकल सामानहरु मर्मत लगायतका अन्य कामहरु गर्दै आएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रले विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्य, कृषि लगायतका अन्य क्षेत्रमा अनुसन्धान तथा विकासको काम गर्दैं आएको छ ।