वीरगञ्ज । वीरगञ्जमा कृत्रिम बुद्धिमत्ता (एआई) र शिक्षाको बदलिँदो सम्बन्धबारे छलफल तथा ज्ञान आदानप्रदान गर्ने उद्देश्यले ‘डाइनामिक एआई एन्ड एजुकेसन समिट २०२६’ आयोजना गरिएको छ ।
डाइनामिक टेक्नोसफ्टको आयोजनामा भएको कार्यक्रममा शिक्षा क्षेत्रमा एआई प्रविधिको बढ्दो प्रयोग, डिजिटल शिक्षाको सम्भावना तथा प्रविधिमैत्री शिक्षण सिकाइका विषयमा छलफल गरिएको जनाइएको छ ।

कार्यक्रममा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्ति, प्रविधि क्षेत्रका प्रतिनिधि, शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो । पछिल्लो समय एआई प्रविधिको तीव्र विकाससँगै शिक्षण सिकाइको परम्परागत शैलीमा समेत परिवर्तन आउन थालेको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको हो ।

एआईले शिक्षण सामाग्री निर्माण, सिकाइलाई व्यक्तिगत बनाउने, शैक्षिक अनुसन्धान तथा प्रशासनिक कामलाई सहज बनाउनेदेखि विद्यार्थीको सिकाइ अनुभव सुधार गर्नसम्म महत्वपूर्ण भूमिका खेल्न सक्ने विषयमा कार्यक्रममा जोड दिइएको बताइएको छ ।

त्यस्तै, एआईको प्रयोगसँगै त्यसको जिम्मेवार र प्रभावकारी उपयोग, डिजिटल साक्षरता तथा शिक्षामा प्रविधिको उचित प्रयोगका विषयमा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ ।
नेपालमा पनि एआई प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेका बेला वीरगञ्जमा आयोजना गरिएको समिटले शिक्षा र प्रविधिबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

समिटमार्फत शिक्षक, विद्यार्थी तथा शैक्षिक संस्थालाई एआईका सम्भावना र यसको व्यावहारिक प्रयोगबारे जानकारी गराउने तथा प्रविधिमैत्री शिक्षाको विकासका लागि आवश्यक संवाद अघि बढाउने प्रयास गरिएको आयोजकले जनाएको छ ।

आईसीटी समाचार