कीवर्डहरू -

लुम्बिनीको नीति तथा कार्यक्रमः यस्ता छन् डिजिटल प्रदेश बनाउने योजना

लुम्बिनीको नीति तथा कार्यक्रमः यस्ता छन् डिजिटल प्रदेश बनाउने योजना

लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभामा आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा प्रदेशलाई डिजिटल प्रदेश बनाउने अभियानलाई अगाडि बढाउन प्रदेश सरकारका कामकारवाहीलाई सूचना प्रविधिसँग जोडी सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाइने उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा प्रदेश प्रविधि पार्क निर्माणदेखि प्रदेश विज्ञान प्रविधि प्रतिष्ठान स्थापना गर्नेसम्मका योजना अटेका छन् ।

प्रदेश प्रविधि पार्क

नीति तथा कार्यक्रममा प्रदेश प्रविधि पार्क निर्माण कार्यलाई अगाडि बढाइने बताइएको छ । साथै सूचना प्रविधि सम्वन्धी क्षेत्रमा स्वदेशी एवं विदेशी लगानी आकर्षित गरी रोजगारीमा वृद्धि गरिने उल्लेख गरिएको छ ।

प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना

लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गर्ने जानकारी दिएको छ ।

‘विज्ञान प्रविधि, अनुसन्धान तथा विकास, सीप विकास, सीप तथा सीपमूलक तालिमको नियमन, बहुप्राविधिक शिक्षालयको व्यवस्थापनका लागि प्रदेश सरकारको स्वामित्वमा प्रदेश विज्ञान प्रविधि प्रतिष्ठान स्थापना गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

अनलाइनबाटै तालिम

प्रदेशको आफ्नै भौगोलिक सूचना प्रणालीको स्थापना गरी एकीकृत रूपमा सूचना व्यवस्थापन गरिने र प्रदेशस्तरीय तालिमहरू विद्युतीय माध्यमबाट सञ्चालन गर्नको लागि डिजिटल लर्निङ म्यानेजमेन्ट सिस्टम स्थापना गरी लागु गरिने जनाइएको छ ।

प्रदेश सरकारको आधिकारिक पोर्टल र इ-बजार

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारको आधिकारिक पोर्टल सञ्चालनमा ल्याइने बताइएको छ ।

ब्लकचेन र स्मार्ट कन्ट्रयाक्टको माध्यमद्वारा साना, मझौला तथा स्थानीय कृषक व्यवसायीलाई आवश्यक इ-बजारको व्यवस्था मिलाइनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

राजस्व संकलनमा प्रविधि

प्रदेशमा राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण सम्बन्धी प्रादेशिक नीति तथा कानूनको तर्जुमा गरी कार्यान्वयनमा सूचना प्रविधिको प्रयोग मार्फत राजस्व संकलनलाई थप पारदर्शी तथा प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पर्यटकीय सूचना अनलाइनमा

पर्यटकीय सूचनालाई विद्युतीय सूचनामा आवद्ध गरी पर्यटन प्रवर्द्धन गर्ने प्रदेशको योजना रहेको छ । प्रदेशमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूलाई आन्तरिक पर्यटनसँग जोड्नका लागि बिदा पर्यटन कार्यक्रम सञ्चालन गरिने पनि उक्त नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रविधिमैत्री प्रहरी

उक्त नीति तथा कार्यक्रममा प्रविधिमैत्री प्रशासनको विकास गरिने बताइएको छ । अपराध अनुसन्धानमा वैज्ञानिक उपकरणको प्रयोग गरी प्रविधियुक्त अनुसन्धान प्रणालीको माध्यमद्वारा अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानलाई थप प्रभावकारी बनाइने समेत जनाइएको छ ।

सबै जिल्लामा स्टिम एजुकेशन

प्रदेशका सबै जिल्लामा विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग र गणित (स्टिम) सम्बन्धी परियोजना सञ्चालन गरी आधारभूत तहदेखि उच्च शिक्षासम्म  संस्थागत गर्दै सार्वजनिक शिक्षालाई प्रदेशको विकासको लागि आवश्यक मानव पूँजी निर्माण गर्ने संयन्त्रको रुपमा रुपान्तरण गरिनेछ आगामी वर्षको नीति कार्यक्रममा उल्लेख छ ।