काठमाडौं । वर्तमान सरकारले कार्यभार सम्हालेको सय दिन पूरा गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले अघि सारिएका अधिकांश कार्यक्रम कार्यान्वयनको चरणमा पुगेको दाबी गरेको छ ।
डिजिटल स्वास्थ्य प्रणालीदेखि अस्पताल सेवा सुधार, नि:शुल्क उपचार, जलन उपचार सेवा र आपत्कालीन हेलिकोप्टर उद्धारसम्मका योजनालाई मन्त्रालयले आफ्नो सय दिने उपलब्धिका रूपमा प्रस्तुत गरेको छ ।
मन्त्रालयका अनुसार यस अवधिमा नीतिगत निर्णय मात्र नभई केही सेवा प्रत्यक्ष रूपमा सञ्चालनमा समेत आइसकेका छन् । सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सय दिने कार्ययोजनाअन्तर्गत तय गरिएका अधिकांश प्रतिबद्धता कार्यान्वयनमा प्रवेश गरिसकेका छन् भने केही सेवा परीक्षण चरणमा रहेका छन् ।
नि:शुल्क उपचार डिजिटल प्रणालीसँग जोडियो
आर्थिक रूपमा विपन्न, असहाय तथा बेवारिसे बिरामीले सरकारी र निजी अस्पतालमा पाउने नि:शुल्क उपचारलाई व्यवस्थित बनाउन मन्त्रालयले ‘फ्रि हेल्थ पोर्टल’ सञ्चालनमा ल्याएको छ ।
यही पोर्टलमार्फत देशभरका अस्पतालमा छुट्याइएका नि:शुल्क शय्याको प्रयोग र लाभग्राहीको विवरण रियल–टाइममा निगरानी गर्न सकिने व्यवस्था गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म करिब तीन हजार ३९ वटा नि:शुल्क शय्यामध्ये २६५ जना बिरामीले पोर्टलमार्फत सेवा लिइसकेका छन् । यही प्रणालीमा रक्तसञ्चारसम्बन्धी विवरण पनि समावेश गरिएको छ, जसबाट कुन स्थानमा कति रगत उपलब्ध छ भन्ने जानकारी नागरिकले सहजै प्राप्त गर्न सक्नेछन् ।
अस्पतालको अभिलेख अब डिजिटल
स्वास्थ्य सेवाको डिजिटल रूपान्तरणलाई प्राथमिकता दिँदै मन्त्रालयले राष्ट्रिय स्वास्थ्य सूचना प्रणालीसम्बन्धी मापदण्ड लागू गरेको छ । यसअन्तर्गत बिरामी दर्ता, उपचार, शल्यक्रिया, रेफरल र फलोअपजस्ता सम्पूर्ण विवरण डिजिटल रूपमा व्यवस्थापन गर्ने प्रणाली विकास गरिएको छ ।
यो प्रणाली हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताललगायत पाँच अस्पतालमा परीक्षणका रूपमा सञ्चालनमा छ । सफल भएपछि अन्य सरकारी अस्पतालमा पनि विस्तार गरिने मन्त्रालयको योजना छ ।
अस्पताललाई थप नागरिकमैत्री बनाउने प्रयास
अस्पताल सेवा सुधार कार्यविधिअन्तर्गत मन्त्रालयले स्वास्थ्यकर्मीको नियमित उपस्थितिको अनुगमन, सरसफाइ, सेवाको गुणस्तर तथा सेवाग्राहीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ ।
मन्त्रालयका अनुसार अस्पतालहरूमा नियमित निरीक्षण भइरहेको छ र आधारभूत सेवा मापदण्डको कार्यान्वयनलाई निरन्तरता दिइएको छ ।
स्वास्थ्य बीमा सुधारको प्रक्रिया जारी
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सेवा प्याकेज पुनरावलोकन, कानुनी संशोधन तथा व्यवस्थापन सुधारका काम अघि बढाइएको मन्त्रालयको भनाइ छ । यसका लागि आवश्यक प्रशासनिक र कानुनी प्रक्रिया जारी रहेको जनाइएको छ ।
आईसीटी समाचार