कीवर्डहरू -

‘सेल्फी विथ डटर’ अभियान सम्पन्न, उत्कृष्ट सेल्फीलाई पुरस्कार वितरण 

‘सेल्फी विथ डटर’ अभियान सम्पन्न, उत्कृष्ट सेल्फीलाई पुरस्कार वितरण 

विगत एक महिनादेखि नेपालमा संचालनमा रहेको ‘सेल्फी विथ डटर’ अभियान बुधबार एक बिशेष भर्चुअल कार्यक्रम आयोजना गर्दै सम्पन्न भएको छ । ‘सेल्फी विथ डटर’ दिवस नेपाल र भारतमा संयुक्त सहकार्यमा आयोजना गरिएको थियो ।

विगत केहि वर्षदेखि नेपालको सामाजिक, प्राविधिक र अनुसन्धानको क्षेत्रमा काम गर्दै आइरहेको संस्था नेपाल इन्टरनेट फाउण्डेशनले भारतिय अभियन्ता सुनिल जागलनसँगको सहकार्यमा महिला शसत्तिकरण तथा लैङ्गिक समानताको मूल मर्म सहित सेल्फी विथ डटरको कार्यक्रम नेपालमा पनि सञ्चालन गरेको थियो ।

नेपालमा संचालित एक महिनाको अभियानमा हजारौं संख्यामा छोरीसँग सेल्फी  पठाएका थिए । यस अभियानमा प्रतिभा घिसिंग र उनकी छोरी प्रतिस्ठा लामाको सेल्फीले प्रथम पुरस्कार प्राप्त गरेको छ ।

यसैगरी दक्ष्य बहादुर राइ र मोति सारासँग नातिनी निशुदिका राईको सेल्फीले दोस्रो स्थान प्राप्त गरेको छ भने यमुना प्रसाई र श्रेया पौडेलको सेल्फीले तेस्रो स्थान प्राप्त गरेको छ । विजेतालाई ट्रफी र प्रमाणपत्रका साथ क्रमशः २१ हजार, ११ हजार र ५ हजार १ सय को पुरस्कार प्रदान गरिएको छ ।

बुधबार आयोजित कार्यक्रममा भारतका युनियन मिनिस्टर अफ स्टेट रावो इन्द्रजित सिंह मुख्य अतिथिको रुपमा उपस्थिति रहेको थियो ।

कार्यक्रमलाइ सम्भोधन गर्दै सिंहले भारतमा सामाजिक चेतना बढाउँन सेल्फी विथ डटर अभियानले सकारात्मक प्रभाव पारेको बताए । उनले नेपाल र भारत देशमा अझै पनि छोरीलाइ हेला गर्ने र छोराभन्दा फरक व्यवहार गर्ने गरेको हुदा यसलाई निर्मुल गर्न प्रविधिमार्फत सामाजिक चेतना विकास गर्न यस्ता अभियानहरु चलाउनुपर्ने बताए ।

सेल्फी विद डटर अभियानले छोरी र महिलालाई मात्र सामाजिक रुपले मजबुत बनाएको छैन की छोरीहरूको समाजमा सम्मान दिने अभियानले जनआन्दोलनको रूप लिएको छ ।

यसैगरी कार्यक्रममा नेपाल सरकारका पुर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि जुली कुमारी महतोले बिशेष सम्बोधन गरेकी थिइन् ।

कार्यक्रममै सम्बोधन गर्दै महतोले नेपाल जस्तो कम विकसित मुलुकमा अझैपनि छोराछोरीमा भेदभाब रहेको, दाइजो लगायतका सामाजिक कुरीतिले समस्या ल्याएको र सेल्फी विथ डटर अभियान नेपालमा यत्तिको प्रचलित र यत्ति चाडै भाइरल भएको कुनै पनि अभियान नभएको बताइन् ।

छिमेकी देश भारतबाट शुरु भएको छोरीहरुप्रति सम्मानको सामाजिक क्रान्ति नेपालमा पनि द्रुत गतिमा अघि बढिरहेको छ भन्दै सेल्फी विथ डटर जस्तो अभियानले सामाजिक चेतना विकास गर्न सघाउ पुर्याउने महतोले बताइन् ।

कार्यक्रममा भारत सरकार इलेक्ट्रोनिक्स तथा आइटी मन्त्रालय अन्तर्गत राष्ट्रिय इ-गभर्नेन्स महाशाखा प्रमुख अभिशेख सिंहको समेत उपस्थिति रहेको थियो ।

उनले सम्बोधन गर्दै भारतमा प्रविधि र प्रविधि सम्वन्धि यस्ता अभियानले सामाजिक जीवनशैली सुधार्न र भेदभाब हटाउन सहयोग गरेको बताए ।

‘प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचारित सेल्फी विथ डटर अभियान आज एक विश्वव्यापी आन्दोलनको रूप लिदैछन्,’ सिंहले भने, ‘यो सम्पूर्ण भारत र नेपालका लागि गौरवको कुरा हो।’

यसैगरी दुरदर्शन भारतका सिनियर कन्सल्टिंग सम्पादक अशोक श्रीवास्तवले भारतिय मिडियाहरुले ‘सेल्फी विथ डटर’ कार्यक्रमलाइ दिएको प्राथमिकता र प्रधानमन्त्री नरेन्द्र मोदीले सेल्फी विद डटर जस्ता अभियानमा आफूलाई संलग्न गराएर प्रधानमन्त्रीको काम सरकार चलाउने मात्र नभई समाजमा व्याप्त खराबी विरुद्ध लड्नको लागी सामाजिक क्रान्ति शुरू गर्नु पनि रहेको बताए ।

भारतका सुनिल जागलनको नेतृत्वमा सुरु भएको यो अभियान भारत र नेपालमा लोकप्रिय भएको छ । नेपालमा पनि यस किसिमको आभियानले छोरीलाई लैङ्गिक समानताको हिसावले हेर्न र सोहि किसिमले व्यवहार गर्न प्रोत्साहित गरेको नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष बिक्रम श्रेष्ठले बताए ।

१ महिना अघि मे ९ तारिखदेखि नेपालमा सुरु भएको ‘सेल्फी विथ डटर’ अभियान एक महिनाभित्रै लाखौं मानिसहरु यस अभियानमा सामेल हुनुका साथै एकदमै लोकप्रिय भइरहेको र  यसले समाजमा सकरात्मक प्रभाव छोडिरेहको श्रेष्ठले बताए ।

नेपालको कार्यक्रम संयोजक कल्पना श्रेष्ठले यो कार्यक्रममा सहभागीले बनाएका सामाजिक भिडियो संदेशले छोरीलाइ हेला गर्ने समाजमा केहि हदसम्म रुपान्तरण गरिरहेको पाएका बताइन् ।

सेल्फी विद डटर कार्यक्रमले अहिलेको समयमा नेपाली छोरीहरुको मुहारमा स्थाइ मुस्कान ल्याउने काम गरिरहेको छ र यस कार्यक्रममा उपस्थित सबै पाहुनाहरूलाई सेल्फी विथ डटर टीमका तर्फबाट धन्यवाद ज्ञापन गरे।

सेल्फी विथ डटर अभियान र फाउन्डेशनका संस्थापक सुनील जगलानको अनुसार यो अभियान हरियाणाबाट शुरु गरिएको हो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको मन की बात कार्यक्रम लगायत धेरै कार्यक्रममा प्रशंसा गरेका छन् ।

यस अभियानलाई नेपालका जनताले धेरै मन पराएको र यो अभियानले महिला सशक्तिकरणका लागि नयाँ आयाम स्थापित गर्ने हाम्रो बिश्वास रहेको सेल्फी विथ डटरका सस्थापक जगलानले बताए ।