कीवर्डहरू -

हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि

हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) ले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको जनाएको छ । कम्पनीले यस अवधिमा ३९ करोड ८७ लाख २० हजार खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको २१ करोड ६१ लाख ७० हजारको तुलनामा ८४.४५ प्रतिशतले बढी रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक वर्षभर कम्पनीको कर्जा लगानी पनि उल्लेखनीयरुपमा विस्तार भएको छ । कम्पनीको कुल कर्जा पोर्टफोलियो ५२.२५ प्रतिशतले वृद्धि भई १२ अर्ब २२ करोड पुगेको बताइएको छ, जसमा विशेष गरी सवारी साधन वित्तीयकरण (अटोमोबाइल फाइनान्सिङ) को महत्वपूर्ण योगदान रहेको कम्पनीले जनाएको छ ।

निष्क्रिय कर्जा (एनपिएल) अनुपात ३.४० प्रतिशतबाट घटेर १.८७ प्रतिशतमा झरेको छ, जसले कम्पनीको प्रभावकारी जोखिम व्यवस्थापन तथा कर्जा असुली प्रणालीलाई प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ ।

‘कम्पनीको समग्र वित्तीय अवस्था पनि थप सुदृढ बनेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘कुल सम्पत्ति ८ अर्ब ४३ करोडबाट बढेर १२ अर्ब ६४ करोड पुगेको छ । कुल स्वपुँजी (इक्विटी) १ अर्ब ४९ करोडबाट बढेर १ अर्ब ८९ करोड पुगेको छ । यस अवधिमा शुद्ध व्याज आम्दानी २२ करोड १० लाखबाट बढेर ४८ करोड ४६ लाख ५० हजार पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी हो । सञ्चालन नाफा पनि ३३ करोड ५२ लाख ८० हजारबाट बढेर ६१ करोड ४६ लाख ८० हजार पुगेको छ ।’

कम्पनीले आगामी दिनमा दिगोरुपमा कर्जा पोर्टफोलियो विस्तार गर्दै सम्पत्तिको गुणस्तर थप सुदृढ बनाउने, कर्जा असुली प्रणालीलाई अझ प्रभावकारी बनाउने तथा लगानी पोर्टफोलियोलाई विविधीकरण गर्ने रणनीतिलाई निरन्तरता दिने जनाएको छ । साथै, दीर्घकालीनरुपमा आफ्ना सबै सरोकारवालाको हित र मूल्य अभिवृद्धिलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ ।