कीवर्डहरू -

सामाजिक सञ्जालमा बदनाम गर्ने छुट छैन, प्रतिष्ठामा आँच पुर्‍याए कानुनी कारबाही

सामाजिक सञ्जालमा बदनाम गर्ने छुट छैन, प्रतिष्ठामा आँच पुर्‍याए कानुनी कारबाही

काठमाडौं । सामाजिक सञ्जाल वा अन्य जुनसुकै माध्यमबाट कसैको प्रतिष्ठामा आँच पुर्‍याउने कार्य गरेमा कानूनी सजाय हुनेबारे सरकारले प्रस्ट पारेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘आफ्नो कानुनबारे जान्नुहोस्’ अभियानअन्तर्गत मानहानि तथा गाली बेइज्जती सम्बन्धी कानूनी प्रावधानबारे मङ्गलबार सर्वसाधारणका लागि सचेतना सन्देश जारी गरेको छ ।

मन्त्रालयका अनुसार कसैलाई होच्याउने नियतले बोली वा वचनबाट अपमानजनक शब्द प्रयोग गर्नुलाई ‘गाली’ मानिनेछ । त्यसैगरी कसैको इज्जत, चरित्र, आचरण वा ख्यातिमा आँच पुग्ने गरी आरोप लगाउनु वा त्यस्ता कुराको प्रचारप्रसार गर्नुलाई ‘बेइज्जती’ को श्रेणीमा राखिएको छ ।

जीवित व्यक्तिमात्र नभई कुनै मृतकका सम्बन्धमा पनि परिवार वा नातेदारको भावनामा चोट पुग्ने गरी आरोप लगाउनुलाई बेइज्जती मानिनेछ । यस्तो गैरकानूनी कार्य गर्ने जोकोही व्यक्ति पनि कानूनको दायरामा आउने मन्त्रालयले जनाएको छ ।

सामाजिक सञ्जालमा आधारहीन आरोप लगाउने क्रम बढिरहेकाले मन्त्रालयले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । सामाजिक सञ्जाल, सार्वजनिक स्थान वा अन्य जुनसुकै माध्यमबाट कसैलाई अपमान गर्ने वा प्रतिष्ठामा हानि पुर्‍याउने सामाग्री फैलाउनु कानूनी कसूर हुने मन्त्रालयको सन्देशमा उल्लेख छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा ३०५ देखि ३०८ सम्म गाली र बेइज्जती सम्बन्धी कानूनी प्रावधान राखिएको मन्त्रालयले स्पष्ट पारेको छ । कसूरको प्रकृति हेरेर सजाय र जरिबानाको व्यवस्था तय गरिएको जनाइएको छ ।

नागरिकलाई आफ्ना विचार र अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा अरूको सम्मान, प्रतिष्ठा र मर्यादामा आँच नपुग्ने गरी मर्यादित रूपमा प्रस्तुत हुन मन्त्रालयले अपिल गरेको छ । कसैको व्यक्तिगत आचरण वा मर्यादामा प्रहार हुने गरी भ्रम फैलाउने कार्य रोक्न मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।